Comments Add Comment

‘झुर’ फिल्मले झुक्याए दर्शक, करोडौं लगानी तर व्यापार शून्य

केही दिन अगाडि निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकमा एक स्टाटस लेखे–‘दर्शक हराएको सूचना’। गत शुक्रबार रिलिज भएका तीन चलचित्र ‘गोपी, रणवीर र सय कडा दश’को व्यापार न्यून भएपछि दीपकले यस्तो स्टाटस लेखेका थिए ।

उनले स्टाटस हालेको केही समय वित्न नपाउँदै वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थले आफू हलमा झिँगा धपाएर बस्नु परेको गुनासो फेसबुकको भित्तामा पोस्टाए । यी दुईको फेसबुक स्टाटसबाट प्रष्ट हुन्थ्यो अहिले हलमा दर्शक छैनन् ।

त्यस्तै, यसै साताको शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘समर लभ’का निर्देशक मुस्कान ढकालमा अहिले डर बढेको छ । हलमा दर्शक नै आउन छाडेपछि उनी कतै आफ्नो चलचित्रमाथि पनि यस्तै खालको हरिविजोग हुने हो कि भन्ने डरले तर्सिएका छन् । उनी अहिले हल हलमा पुगेर दर्शकको उपस्थिति हेरिरहेका छन् । त्यसले गर्दा पनि उनको मनमा ठुलो डर पैदा भएको छ । अनलाइनखबरसँगको एक अनौपचारिक भेटमा उनले, चलचित्र राम्रो बनाएर पनि दर्शक हलमा आएनन् भने चलचित्र बनाउनुको अर्थ नहुने बताए ।

मुस्कानको डर पनि सान्दर्भिक थियो । आखिर चलचित्र राम्रो भएपनि दर्शक आएनन भने ? चलचित्र राम्रो होस् वा नराम्रो, रिलिज भएको शुक्रबार र शनिबार राम्रो व्यापार गर्न सकेमात्र चलचित्रले लगानी बचाउन सक्छ । यदि यी दुई दिन हलमा दर्शक आएनन् भने निर्माताले पुरपुरोमा हात राख्नुबाहेक अरु केही पनि उपाय छैन ।

रिलिज भएका चलचित्रका निर्माता लामो सुस्केरा हालेर बसेका छन् भने रिलिज हुन लागेको चलचित्रका निर्माताको मनमा चिसो पस्न थालेको छ । साच्चै, दर्शक किन हराए ?कुनै समय निर्माण भएका धेरैजसो चलचित्रले ५१ र सय दिन मनाएको सेलिव्रेशन हेर्न र सुन्न पाइन्थ्यो । तर, अहिले हलमा ५१ जना दर्शक हेर्दा पनि निर्माता मुस्कुराउनु पर्ने अवस्था छ । चलचित्रको लागि प्रचार गर्ने माध्यम बढे, कलाकारको पारिश्रमिक बढेका छन्, तर हलसम्म पुग्ने दर्शकको संख्या घट्न थालेको छ । आखिर, यस्तो बिडम्बना किन ? कुनै समय चलचित्र धेरै समय हलमा चल्यो भने निर्माता उतार्नका लागि पुलिस लिएर पुग्थे । एउटै हलबाट निर्माताले लगानी उठाएको उदाहरण प्रशस्त छन् । तर, अहिले सय बढी हलमा चलचित्र रिलिज हुँदा पनि हल खाली छ ।

बर्षमा सय बढी चलचित्र बन्न थालेका छन् । यसमा आधा दर्जन निर्माताले पैसा कमाएका छन्, अरु त ठूला कुरा मात्र गर्ने हुन् । भित्र मन कती दुखेको छ, उनीहरुलाई मात्र थाहा छ । निर्माता तथा कलाकार दीपकराज गिरीले हलमा पुग्दा दर्शकको उपस्थिती हरिविजोग देखेपछि आफूले उक्त स्टाटस लेखेको बताए । उनी भन्छन्–‘चलचित्रहरु जुध्न छाडेका छैनन् । वितरक र निर्माताहरु डुबिरहेका छन् । उनीहरुको ध्यान तान्न पनि स्टाटस लेखेको हुँ ।’ हलसम्म दर्शक नआउनुको पछाडि प्रचार कमजोर हुनु पनि रहेको दीपकको तर्क छ । अर्कोतिर, विना तयारी चलचित्र रिलिज गर्दा निर्माता डुबेको उनले बताए । ‘प्रचार कमजोर हुनु एक कुरा हो । मुख्यकुरा त अहिले चलचित्रको कथावस्तु नै निकै कमजोर भैरहेको छ । उनी भन्छन्–‘दुई वटा झुर चलचित्र हेरेपछि तेस्रो चलचित्र जति नै राम्रो भएपनि दर्शक हलमा पुग्दैनन ।’

यो अवस्था चलचित्र निर्माणको क्रम बढेकाले पनि आएको दीपकले बताए । ‘एक वर्षमा धेरै चलचित्र निर्माण हुन्छन् । तर, निर्माण भएका चलचित्रमा ८० प्रतिशत त कमजोर छन् । दर्शक त्यस्तै कमजोर चलचित्र हेर्न हलमा पुग्छन् । अनि नेपाली चलचित्रलाई गाली गर्न थाल्छन्, दीपकले भने ।

करिब ५ सय रुपैयाँ खर्च गरेर हलमा पुग्ने दर्शकले टाउको दुखाउन नचाहने उनको भनाई छ । ‘चलचित्रको लेखन र कथामा पनि चलचित्रसँग सम्बन्धित निकायले वर्कसप तथा तालिमहरु दिनुपर्छ जस्तो लाग्छ ।’ दीपकले सुनाए ।

अहिले हलसम्म दर्शक नपुग्नुको मुख्य कारण चलचित्र निर्माणको बढ्दो क्रम नै भएको वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थले बताए । उनले भने, ‘वर्षभरी यति धेरै चलचित्र निर्माण हुन्छ कि, दर्शक कुन चलचित्र हेर्ने कुन नहेर्ने भन्ने कुरामा नै दोधारमा परेका छन् । त्यसमाथि चलचित्रको प्रचार पनि कमजोर छ ।’ चलचित्र जुध्नुले पनि चलचित्रको व्यापारमा असर गरेको कायस्थ बताउँछन् ।

अहिले झिँगा धपाउनु पर्ने अवस्था किन आयो होला ? कायस्थले भने, ‘यो हप्ता पनि तीन चलचित्र रिलिज भए । राम्रो चलचित्रमा चिनिएको कलाकार भएन, नराम्रो चलचित्रलाई दर्शकले रुचाएनन् । शनिबारको दिन पनि दर्शक नपाएर शो बन्द गर्नु त बिडम्बनाको कुरा भयो ।’

अहिले नेपालमा स्तरिय चलचित्र भन्दा पनि ‘सी ग्रेड’को चलचित्रको निर्माण बढि भएकाले नेपाली चलचित्रका दर्शक भड्किएको कायस्थको बुझाई छ । ‘चलचित्रको नाम हेर्दा एउटा जनरा होला भनेर दर्शक हलमा पुग्छन्, तर चलचित्र अर्कै भइदिन्छ’, कायस्थले भने, ‘दर्शले स्तरिय चलचित्र हेर्न नपाएपछि फर्केर पुनः हलसम्म पुगेको छैनन् ।’ ट्रेलर र टिजर राम्रो बनाएर दर्शक झुक्काउने खेल भइरहेकाले भने दर्शकले विश्वास गर्न छाडेको कायस्थको भनाई छ ।

यसको समाधानको लागि चलचित्रको निर्माण कम हुनुपर्ने र रिलिजको तालिका मिलाउनुपर्ने उनको भनाई छ । ‘हामीले चलचित्र नजुधाउनको लागि एउटा समिती बनाएर छलफल गरिरहेका छौँ । यदि चलचित्रहरु नजुधाउने हो भने व्यापारिक रुपमा राहत मिल्ने अपेक्षा लिन सकिन्छ, कायस्थले भे । पुराना निर्माता छविराज ओझा पनि अहिले नेपाली चलचित्रमा मात्र नभएर बलिउड चलचित्रमा पनि दर्शक नआएको बताउँछन् । उनी भन्छन्, ‘खै, यो समय नै यस्तै हो कि के हो, कुनै पनि चलचित्रमा दर्शक आएका छैनन् । म आफैँ छक्क परिरहेको छु ।’

अहिले नेपाली चलचित्रमा दर्शक नहुनुको कारण प्रचार नपुगेको छविको बुझाई छ । ‘चलचित्र निर्माणमा १ देखि ५ करोडसम्म लगानी गर्छन् तर, प्रचारको समयमा उनीहरुसँग पैसा नै बाँकी रहँदैन । छवि भन्छन्, ‘प्रचार नभएपछि कसरी चलचित्रमा दर्शक आउँछन र ?

अहिले धेरै चलचित्र निर्माण भएकाले पनि निर्माता डुबिरहेको छविले बताए । उनले भने, ‘पुराना तथा अनुभवी निर्माताले बनाएको चलचित्र चलिरहेका छन् । उनीहरुको व्यापार पनि राम्रो छ । तर, चलचित्रलाई नबुझी यस क्षेत्रमा लगानी गर्न आएका निर्माताहरु भने खाली हात फर्किनुपरेको उनको भनाई छ ।

अहिले चलचित्र निर्माणमा निकै गाह्रो भएको छविराज बताउँछन् । ‘पहिला सिमित चलचित्र बन्थे । चलचित्रले व्यापार गर्नेमा ढुक्क हुने अवस्था थियो’, उनले भने ‘अहिले त चलचित्र निर्माण गर्न पनि डर लाग्ने अवस्था आइसकेको छ ।’
नेपाली चलचित्रले बारम्बार दर्शक झुक्याएका मात्र छैनन्, झुर चलचित्रको निर्माणमा पनि बाढी आएको छ । निशुल्क चलचित्र हेर्ने चलचित्रकर्मी र पत्रकारले त हलमा आफूलाई साढे २ घन्टा टिकाउन नसकेको अवस्था छ भने पैसा तिरेरै चलचित्र हेर्ने दर्शक कसरी हलमा टिकिरहन सक्छन् ।

चलचित्र निर्माण भन्दा पनि रिलिज गर्न हतारो गर्ने, विना तयारी चलचित्र बनाउने जस्ता कमजोरीका कारण नेपाली चलचित्रले दर्शक पाउन छाडेका छन् । अर्कोतिर, आफ्नै क्षेत्रमा मात्र प्रचार सिमित हुँदा दर्शकसम्म चलचित्रको जानकारी नै पुगेको छैन ।

चलचित्र राम्रो बनाएको खण्डमा पक्कै पनि दर्शक आउनेछन् । होइन भने, दर्शकलाई झुक्काएर केही चलचित्रमा त भिड लगाउन सकिन्छ, बाँकी चलचित्रमा त उही वितरकले भने जस्तै झिंगा नै भन्काएर बस्नुपर्ने अवस्था आउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment