Comments Add Comment

सम्झनामा रविन्द्रः गाडी भाडा आन्दोलनदेखि दरबारमाथि धावासम्म

देशले अल्पायुमै गुमायो आशलाग्दो नेता

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन असामयिक र अकल्पनीयमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो । तर, सत्य के पनि हो भने मृत्यु जतिसुकै भयावह भए पनि स्वीकार गर्नैपर्छ ।

देशले आशा र भरोसा गरेको एउटा नेताको अवसानमा उनको जीवनका आरोह-अवरोह शब्दमा उतार्नुको कुनै अर्थ नहुन सक्छ । एउटा देशभक्त विकासप्रेमी युवा नेताको अकल्पनीय निधन राष्ट्रको जीवनमा अपूरणीय क्षति हो भन्ने कुरामा न कसैको दुविधा छ, न कसैकोमा संशय । धेरैको मनले भनिरहेको छ, यस्तो कहिल्यै लेख्नु नपरोस्, जसका सपना अधूरा छन् ।

आज रविन्द्र अधिकारीको राजनीतिक जीवनका आरोह-अवरोह पल्टाउँदै गर्दा भारतले नाकाबन्दी लगाएका बेला केरुङ नाका खुलाउन उनको नेतृत्वमा सीमानामा पुगेका क्षणहरु उनका सहपाठीका आँखामा आइरहेका छन् ।कोराला नाका र किमाथांका नाकाका स्मरणहरु उछालिँदैछन् । सुस्ता र कालापानीका यादहरु छचल्किँदैछन् । एउटा देशभक्त विकासप्रेमी नेताको रुपमा उनका सयौं सत्कर्महरु एकपछि अर्को उरालिँदैछन् ।

विद्यार्थी आन्दोलनका रोलमोडल

०५६ सालतिर सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चर्कियो । विद्यार्थीलाई सार्वजनिक क्षेत्रमा ५० प्रतिशत छुट हुनुपर्ने माग गर्दै भएको आन्दोलनले गाउँ-गाउँसम्मका तरंग ल्यायो । ठूलो संख्यामा विद्यार्थी समाहित आन्दोलनको मुख्य अगुवा थिए, रविन्द्र अधिकारी ।

आन्दोलनले चर्को रुप लिँदै गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विद्यार्थीसँग सहमति गर्‍यो । ५० प्रतिशत होइन, सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिने तत्कालीन सरकारले निर्णय गर्‍यो ।

आन्दोलनसँगै रविन्द्र चर्चामा मात्र आएनन्, समग्र विद्यार्थी आन्दोलनको रोलमोडल बने । ‘विद्यार्थीका निम्ति त्यो आन्दोलन ऐतिहासिक र ठूलो उपलब्धीपूर्ण थियो,’ त्यसबेला नेपाल विद्यार्थी संघको नेता रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सम्झन्छन्, ‘विद्यार्थी नेता भनेको रविन्द्र अधिकारीजस्तो हुनुपर्छ भन्ने थियो । हामी उहाँलाई विद्यार्थीको रोलमोडल मान्थ्यौं ।’

अहिले सार्वजनिक यातायातमा कार्ड देखाएर छुट पाउँदा रविन्द्रकै अनुहार सम्झन्छन् विद्यार्थी प्रकाश अधिकारी । ‘क्याम्पस जाँदा-आउँदा कार्ड देखाएर छुट पाउँदा खुसी मिल्छ र अनुहारमा झल्किने त्यो हाँसोमा तपाईं हुनुहुन्छ रविन्द्र दाइ,’ अधिकारी भन्छन्, ‘त्यो आन्दोलन नभएको भए थोरै छुटले पनि विद्यार्थीको जीवनमा कति ठूलो अर्थ राख्छ भन्ने कहिल्यै थाहा पाउने थिएनौं ।’

विद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउन अगुवाइ गर्दा रविन्द्रले धेरै पटक जेलनेल भोगे । रविन्द्रले स्कुलदेखि क्याम्पस र विश्वविद्यालयसम्म विद्यार्थी आन्दोलनलाई रचनात्मक बनाएको प्रदेशसभा सांसद राजीव पहारी सम्झन्छन् । ०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुको नेतृत्वमा हुँदा भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, पुस्तकालय, शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको पोशाकका विषयमा अमूल परिवर्तन आएको उनले बताए ।

स्कुले जीवनबाटै राजनीतिमा लागेका उनी ०४६ को जनआन्दोलनमा क्रियाशील भए । त्यो आन्दोलनको केन्द्र मध्ये एक पोखरामा संयुक्त आन्दोलन परिचालन कमिटीको अगुवाई गर्ने मध्ये एक रविन्द्र अधिकारी पनि थिए ।

पृथ्वीनारायण क्याम्पस हुँदै ०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए । ०५६ मा अनेरास्ववियुका केन्ऽीय अध्यक्ष र ०५३ मा स्ववियु काउन्सिल नेपालका निर्वाचित संयोजक बनेका अधिकारी विद्यार्थीमाझ चर्चाको चुचुरोमा पुगे । विद्यार्थी राजनीतिमा क्रियाशील नेतृ सरिता पुरी रविन्द्रको कार्यकर्ता हुनुको गर्व गर्टिन् । भन्छिन्, ‘हजुरको कार्यकर्ता हुनुको गर्व सँधै रहनेछ रवीन्ऽ दाइ । हरेक प्रेरणा, प्रोत्साहन, मार्गनिर्देशन र अभिभावकत्वको ऋण चुक्ता गर्नेछ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि रविन्द्र अधिकारीसँगै मिलेर गरेको विद्यार्थी राजनीति सम्झन्छन् । ‘प्रिय मित्र रविन्द्र, तपाईं अखिल अध्यक्ष, म नेवि संघ सभापति सँगै थियौं । दरबार हत्याकाण्डपछि अखिलका अर्का अध्यक्ष राजेन्द्र राईलगायत एक भएर लोकतन्त्रका लागि विद्यार्थी आन्दोलन एक बनाएको स्मृति गर्दैछु,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।
रविन्द्र अधिकारी अनेरास्ववियुको अध्यक्ष हुँदाका उपाध्यक्ष शिव गुरुङ टेलिफोनमा भक्कानिँदै थिए- कस्तो संयोग, मेरा ती जोदाहा नेतालाई मेरै जिल्लामा पुगेर मृत्युवरण गर्न लेखेको रहेछ ।
दरबारका चुनौती
विद्यार्थीलाई छुट दिलाएसँगै रविन्द्रले अर्को एक आन्दोलनले अझ ख्याति प्राप्त गरे । त्यो थियो, गायक प्रवीण गुरुङ हत्याकाण्डमा दरबारलाई धाबा बोल्नू । उनले तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलन मात्रै गरेनन्, हस्ताक्षर अभियानै चलाए । ‘हत्यारालाई दरबार होइन जेल’ हुनुपर्ने भन्दै देशभरबाट उनले ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने काम गरे ।

शक्तिशाली दरबारका अघि पनि नझकेको निडर नेतृत्वले रविन्द्र विद्यार्थीको माझ लोकपि्रय नेता भएको विद्यार्थी नेता लेखनाथ न्यौपाने बताउँछन् । ‘उहाँ विद्यार्थी आन्दोलनको अगुवा र आशालाग्दो नेता हुनुहुन्थ्यो,’ लेखनाथले सम्झे ।

सीमानामा भारतीय थिचोमिचोविरुद्ध सीमा सुरक्षा अभियानमा लाखौं युवा विद्यार्थीलाई आफ्नो नेतृत्वमा गोलवद्ध गरेका अधिकारीले कालापानीमा चन्द्रसूर्य फहराउने अभियानमा पनि अग्रमोर्चा सम्हाले । यी तीन कामले रविन्द्रलाई नेपालको विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा स्थापित गरिसकेको थियो । राष्ट्रिय राजनीतिमा रविन्द्रले आफ्नो क्षमता देखाउँदै गर्दा पर्यटन क्षेत्रमा आमूल परिवर्तनको परिणाम नआउँदै उनी बिदा भएका छन् ।

नेपाली राजनीतिमा नयाँ पुस्ताबाट आशा गर्न सकिने र गरिएका सिमित नेताहरुको पंक्तिमा रविन्द्र अधिकारी उदाइसकेका थिए । उनी तत्कालीन एमाले र हालको नेपाल कम्युनिस्ट पार्टीभित्र मात्रै नभएर विपक्षी तथा आम जनतामा स्वीकार्य नेता बनेका थिए । अधिकारीको निधन नेकपाका लागि मात्र नभएर सिंगो मुलुकका लागि अपूरणीय क्षति हो । मुलुकको सम्वृद्धिका लागि योजना बनाएर काम गरिरहेका बेला उनी कहिल्यै नफर्किने गरी बिदा भएका छन् ।

जो कहिल्यै हारेनन्

रविन्द्र अधिकारी कहिल्यै हारेनन् । यस अर्थमा हारेनन् कि,कुनै पनि प्रतिस्पर्धामा उनको भेट पराजयसँग भएन । आफ्नो राजनीतिक यात्राबारे सुनाउँदा उनी भन्थे-५ कक्षामा पढ्दै राजनीतिमा लागियो । म अहिले त यति होचो मान्छे, त्यो बेला भाषण गर्दा कुर्सीमा चढ्नुपथ्र्यो । तर, अहिलेसम्म कहिल्यै पछाडि फर्केर हेरिएन,सधैं अगाडिकै बाटो हेरिन्छ ।

मुलुकका लागि अगाडिको बाटो हेर्दाहेर्दै उनी कहिल्यै नफर्किने बाटो लागेका छन् । देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराबाट विद्यार्थी राजनीतिमा उदाएका रविन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै ०४९ सालमा सभापति निर्वाचित भएका थिए । उनी त्यही बेला शंकर पोखरेल नेतृत्वको अनेरास्ववियु केन्द्रीय कमिटीमा पुगे ।

योगेश भट्टराई नेतृत्वको अनेरास्ववियुमा रविन्द्र कोषाध्यक्ष निर्वाचित भए । त्यसबेला भानुभक्त ढकाल महासचिव र हिक्मत कार्की सचिव थिए । २०५३ सालमा अनेरास्ववियुभित्रको विवादका कारण योगेश, भानुभक्त, हिक्मत र रविन्द्रलाई पार्टीले अखिलबाट बिदा गर्‍यो । तर, रविन्द्र सोही वर्षको स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभापति निर्वाचित भए ।
स्वतन्त्र विद्यार्थी युनियन काउन्सिलको संयोजक र विश्वविद्यालयको सिनेट सदस्य बनेपछि रविन्द्र पुनः विद्यार्थी राजनीतिमा फर्किए । ०५४ सालमा भएको एमाले बिभाजनपछि रविन्द्र तत्कालिन मालेतर्फ लागे र ०५६ सालमा अनेरास्ववियुको अध्यक्ष भए ।

अनेरास्ववियुको अध्यक्ष हुँदा रविन्द्रले गरेका जनपक्षीय र विद्यार्थी पक्षीय अभियान युग युगसम्म नबिर्सने घटनाक्रम हुन् ।
एमाले एकीकरणपछि रविन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा पूर्णकालिन भए । तत्कालिन एमालेको दुई कार्यकाल कास्की जिल्ला प्रमुख भएका अधिकारी २०६४ सालमा देशभर एमाले पराजित भइरहँदा पार्टीको शाख राख्न सफल भएका थिए । संविधानसभामा उनको प्रस्तुतिले रविन्द्रलाई विद्यार्थी नेताबाट एकाएक आशालाग्दो युवा नेताका रुपमा स्थापित गरेको थियो ।

सबै भूमिकामा सफल

जसरी विद्यार्थी राजनीतिमा उनी सधैं जितिरहे, राष्ट्रिय राजनीतिमा पनि उनी जनमतबाट पटक पटक बिजयी भए । ०६४, ०७० र ०७४ का तीनवटै निर्वाचनमा कास्कीका जनताले रविन्द्रलाई ठूलो भरोसाका साथ बिजयी गराए । संसदको विकास समितिको सभापति हुँदा उनले मुलुक सम्बृद्धिको खाका सहित पुस्तकनै प्रकाशित गरे ।

संसदीय भूमिकामा एक नम्बर बनेका अधिकारी पार्टीको राजनीतिमा ५ वर्ष पछि परे । ०६५ सालको एमालेको आठौं महाधिवेशनमा उनी केन्द्रीय सदस्य उम्मेदवार बनेन् । उनी आफ्नो राजनीतिक जीवनमा त्यो महाधिवेशनमा केन्द्रीय सदस्य नबन्नु एक स्टेप ब्याक भन्ने गर्थे । ०७१ सालको नवौं महाधिवेशनमा सबैभन्दा लोकपि्रय मतका साथ उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

संसदीय भूमिकामा अब्बल बनेका अधिकारीलाई तेस्रो पटक जनताबाट निर्वाचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भरोसा गरेर पर्यटनमन्त्री बनाए । उनलाई थाहा थियो जीवन जस्तै मन्त्री पदको पनि कुनै निश्चित समयसिमा हुँदैन । मन्त्री बने लगत्तै व्यवस्थित कार्ययोजना र आक्रमक कारवाहीसहित उनी कर्मक्षेत्रमा खटिएका थिए ।

उनको यो सपना

असम्भव बनिसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उनकै कारणमात्र आश्चर्यजनक रुपमा अघि बढेर आगामी भदौमा सन्चालनमै आउने अवस्थामा पुगेको यथार्थ कसैले भुल्न सक्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सन्चालनदेखि सुधारका काममा उनी आफैं खटिए । धेरै नयाँ विमानस्थल खोज्ने क्रममा तेह्रथुम पुगेका अधिकारी त्यसपछि नफर्किने गरी विदा भए ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाँडो निर्माण गरेर अन्तररष्ट्रिय ट्रान्जिट हब बनाउने, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सम्पन्न गरेर पर्यटक आगमनको ढोका खोल्ने उनको सपना अवश्य अधूरो रहने छैन । एउटा विद्यार्थी नेता, कम्युनिस्ट पार्टीको नेता, सांसद र संसदीय समितिको सभापति र मन्त्रीको रुपमा उनी सबै भूमिकामा जितिरहे तर मृत्यु जित्न सकेनन् ।

प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणदेखि पार्टी बैठकहरुमा समेत रविन्द्रको खुलेरै प्रशंसा गर्थे । उनको सरकारका उपलब्धी सुनाउनुपर्दा पर्यटन मन्त्रालय अन्तर्गत भएका काम र भ्रमण वर्ष ०२० को सफलताका छुटाउँदैन थिए । हुन पनि रविन्द्रले पर्यटन प्रवर्द्धन र विमानस्थल सुधार तथा विस्तारका काममा आफूलाई सम्पूर्ण रुपमा समाहित गरेका थिए ।

रविन्द्रको ट्वीटर हृयाण्डलमा अन्तिम पोष्ट २ दिनअघि अनलाइनखबरमा प्रकाशित समाचार थियो । चैत १८ देखि त्रिभुवन विमानस्थलको धावनमार्गको स्तरोन्नति थालिँदै भन्ने समाचार उनले शेयर गरेका थिए । देशको समृद्धिका लागि पर्यटन विकास र पर्यटन विकासका लागि विमानस्थल सुधार तथा विस्तार भन्ने गरेका विकासप्रेमी नेताको अकल्पनीय निधनमा व्यक्त गर्ने कुनै शब्द छैनन् ।

आज रविन्द्र अधिकारीका हजारौं सहयोद्धा र लाखौं शुभचिन्तकले उनको निधनमा व्यक्त गर्ने कुनै शब्द पाएका छैनन् । रविन्द्रका अनन्य सहयोद्धा योगेश भट्टराईले लेखेको एक पंक्तिले सबैको प्रतिनिधित्व गर्छ- पि्रय साथी म निशब्द छु । म स्वीकार गर्दिनँ । तिम्रै आवाजले एकपटक बताइदेउ न यार ।

शोकको यो अथाह सागरमा डुबेका माता पिता, राजनीतिक सहयात्रालाई जीवनको सहयात्रामा बदलेर रविन्द्रलाई सधै सत्मार्गका हिँड्न सघाउने विद्या भट्टराई र दुई छोराप्रति हार्दिक समवेदना ।

अन्त्यमा, साहित्यमा शीतबिन्दूले चिनिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका शब्द सापटी लिँदै भन्नुपरेको छ- श्रद्धान्जलीका यी शब्दहरु लेख्नुपर्दा हात काँपिरहेका छन् । कसले सोचेको थियो र उनको यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ?

अलविदा रविन्द्र ! सम्झनामा सधैं बाँचिरहनेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment