Comments Add Comment

सौन्दर्य प्रतियोगिताको दुरुपयोग भइरहेको छ

'मिस नेपाल छान्न आयोजकको हात हुँदैन'

काठमाडौं । नेपालको प्रमुख सौन्दर्य प्रतियोगिताको रुपमा चिनिएको ‘मिस नेपाल’ यसपाली रजत वर्षमा प्रवेश गरेको छ । यो २५ वर्षको अवधिमा उत्पादित सुन्दरीहरुले अन्तर्राष्ट्रिय स्तरमा भने ठूलो सफलता पाउन सकेका छैनन् ।

त्यसो त सुरुवाती दिनहरुमा नेपालभित्र यो प्रतियोगिता विवादित थियो । खासगरी वामपन्थी तप्काका संगठनहरुले प्रतियोगिताको विरोधमा नाराजुलुसै गर्थे । तर, अहिले अवस्था फेरिएको छ । कम्युनिस्ट नेताहरुले समेत मिस नेपाललाई सकारात्मक रुपमा लिन थालेका छन् । यसपालि श्रृंखला खतिवडाले मिस वर्ल्डमा भाग लिँदा त सिंगो देश उनका पक्षमा उभियो ।

पछिल्लो समयमा सौन्दर्य प्रतियोगितालाई फरक रुपमा परिभाषित गर्न थालिएको छ । यसमा शारीरिक मात्र नभएर बौद्धिक क्षमताको पनि खोजी हुन थालेको छ । बौद्धिकता मात्रले पनि पुग्दैन । अब त्यसलाई व्यवहारिक रुपमा प्रयोग गर्ने गुणको खोजी हुन थालेको छ ।

मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपति भने अझै पनि मिस नेपालका लागि सरकारबाट राम्रो सहयोग प्राप्त नभएको गुनासो गर्छन् । तथापि, समाजले हेर्ने दृष्टिकोण भने फेरिएको उनको अनुभव छ । कक्षपतिसँग गरिएको कुराकानीः

मिस नेपाल प्रतियोगिता सुरु भएको यसपाली २५ वर्ष पुग्दैछ, समयको हिसाबले यो आफैंमा एक उपलब्धी हो । यो प्रतियोगिताको जन्म कसरी भएको थियो ?

सन् १९९३ मा काठमाडौं जेसिसले रजत वर्ष पूरा गर्दै थियो । रजत जयन्ती मनाउनका लागि मलाई काठमाडौं जेसिसले समारोहको अध्यक्ष बनाइदियो । त्यसै दौरानमा एउटा संस्थाको २५ वर्षे अवधी पूरा गरेको अवसरमा के गर्ने, कसो गर्ने, नयाँ कार्यक्रम के राख्न सकिन्छ भनेर मलाई एकदम खुल्दुली भएको थियो ।

त्यसअघि सन् १९८६ मा काठमाडौं जेसिसको अध्यक्ष थिएँ । जेसिस भनेको युवाहरुको नेतृत्व प्रदान गर्ने संस्था हो । हामीले युवाहरुलाई विभिन्न किसिमको प्रशिक्षण दिने गर्थ्यौं, जस्तो नेतृत्व क्षमता, व्यक्तित्व विकास, वाक कला यस्तै यस्तै । तर, यस्तो प्रशिक्षणमा महिलाको सहभागीता लगभग शून्य हुने । महिलालाई बोलाइयो भने यो त राजनीतिक तालिम हो कि भनेर त्यति इच्छा नदेखाउने ।

महिलाहरु किन यस्ता कार्यमा अग्रसर हुँदैनन् भन्ने कुरा मनमा खड्किरहेको थियो । यसै मेसोमा जेसिसको रजत जयन्ती मनाइरहँदा मेरो दिमागमा एउटा नयाँ कुरा फुर्‍यो । मैले सोचें, ग्ल्यामर प्लेटफर्ममा महिला आकर्षित हुन्छन् । त्यही ग्ल्यामर प्लेटफर्ममा महिलाहरुलाई नेतृत्व विकास तालिम दिइयो भने त्यो उपलब्धीमूलक हुन सक्छ भन्ने लाग्यो ।

अन्ततः म व्युटी पेजेन्टको अवधारणा बनाउन थालें । यो कुरा सुनेर सुरुमा त साथीहरु सबै झस्किए । किनभने सौन्दर्य प्रतियोगिता नेपालमा कहिल्यै भएकै थिएन । मानसिक रुपले यसमा तयार गराउन समय लाग्यो । मैले निरन्तर प्रयास गरिरहेँ । हामी ‘मिस नेपाल’ नाममा सौन्दर्य प्रतियोगिता गर्ने निर्णयमा पुग्यौं ।

त्यसपछि मुम्बईमा फेमिना म्यागजिनले ‘मिस इन्डिया’ प्रतियोगिता कसरी गर्छ भनेर म र एउटा साथी सोधीखोजीमा लाग्यौं । फेमिनाको सम्पादकलाई सम्पर्क गरियो । सहकार्यको सम्भावनाबारे छलफल भयो ।
त्यसपछि उनलाई भेटेरै हामीले आफ्नो अवधारणा सुनायौं, मिस नेपाल प्रतियोगिता गर्नेबारे । उनले सहयोग गर्ने तत्परता देखाइन् । आफ्नै मातहतका मान्छेहरु पठाउनेसम्म कुरा गरिन् ।

सोही समयमा हामीले मिस इन्डिया प्रतियोगिता प्रत्यक्ष हेर्‍यौं । कसरी आयोजना गरिन्छ भन्ने कुरा मिहिन रुपमा बुझ्ने प्रयास गर्‍यौं ।

त्यहाँबाट फर्केर आइसकेपछि मिस नेपालको तयारीमा जुट्यौं । तर, एकदिन विहान मेरो दिमागमा के आयो भने, यो कार्यक्रमका लागि हामी आफै पनि आवश्यक जनशक्ति तयार किन नगर्ने ?

मैले यो कुरा साथीहरुलाई भनें । उनीहरु थप रनभुल्लमा परे । मलाई भने यस्तो प्रतियोगिता अरुलाई गुहार नमागी आफैं गरौं भन्ने लागिरह्यो । त्यसपछि मैले विभिन्न अन्तर्राष्ट्रिय व्यूटी पेजेन्टको २५-३० वटा क्यासेट जम्मा गरें । साथीहरुलाई घरमै बोलाएर भिडियो देखाएँ । त्यसपछि निकै कन्पिmडेन्ट बढ्यो ।

कार्यक्रम आफैं गर्न तम्सियौं । तर, त्यसका लागि फेसन डिजाइनर, कोरियोग्राफर, मेकअप आर्टिस्ट सबै चाहियो । ती केही पनि उपलब्ध थिएनन् । अब म यस्तै जनशक्तिको खोजी गर्न थालें । यस्तैमा मैले रचना गुरुङलाई कोरियोग्राफरको रुपमा अगाडि ल्याउने निर्क्यौल गरें । खासमा रचना हङकङबाट भर्खर नेपाल आएकी थिइन् । म रेष्टुरेन्ट चलाउने । उनलाई मोडलिङको लागि झिकाइएको थियो । रचनाले कोरियोग्राफी गर्न सक्छिन् भन्ने मलाई लाग्यो ।

त्यस्तै ड्रेस डिजाइनका लागि मेरो रेष्टुरेन्ट अगाडि इमेज बुटिक थियो । त्यसका सिर्जना राना र प्रमिला आचार्यलाई भनें । यसरी जनशक्ति जुटाउँदै गएँ । अनि हामीले मिस प्यासिफिकलाई चिठी लेख्यौं । उहाँहरुले सकारात्मक जवाफ दिनुभयो । पहिलो सम्बन्धन हामीले मिस प्यासिफिकबाटै प्राप्त गर्‍यौं ।

सबै कुराको बन्दोबस्ती मिलाइयो । अब कार्यक्रम हुन बाँकी छ । तर, मुख्य समस्या भनेको स्पोन्सर नै छैन । तैपनि हामी हच्किएनौं । के सोच्यौं भने ठीक छ, स्पोन्सर पाइएन भने आफ्नै खल्तीबाट भए पनि खर्च गर्नेछु । यस किसिमको मनोबल थियो ।

तर, भाग्यवश सानमिगेल बियर स्पोन्सर गर्न तयार भयो । त्यसरी हामीले पहिलो मिस नेपाल प्रतियोगिता सुरु गर्‍यौं ।

कार्यक्रम सुरु गर्दादेखि नै हामीले राजनीतिक हस्तक्षेप एवं बिरोध चाहिँ झेलिरहनुपर्‍यो । खासगरी महिला अधिकारकर्मीहरु हामीमाथि खनिए । ‘डे वान’ देखि बाबुराम भट्टराई, हिसिला यमीलगायत आजका ठूला-ठूला नेताहरु प्रतियोगिता हल बाहिर बसेर नाराबजी गरिरहनुभएको थियो ।

जुन बेला नेपालमा मिस नेपाल प्रतियोगिताको सुरुवात गरियो, त्यसबेला सौन्दर्य प्रतियोगितालाई लिएर समाजले हेर्ने र बुझ्ने दृष्टिकोण कस्तो थियो ?

त्यसबेला एकदम रिस्क थियो । राजनीतिक हस्तक्षेप मात्र होइन, समाजमा पनि सौन्दर्य प्रतियोगितालाई लिएर गलत सोचाई थियो । खासगरी आफ्ना छोरीचेलीलाई त्यस्ता प्रतियोगितामा भाग लिनै नदिने । र, कोही कोही सकारात्मक ढंगबाट बुझ्नेहरु पनि थिए । खुसीको कुरा चाहिँ के भने धेरैजसो मिडिया हामीप्रति सकारात्मक थिए ।

राजनीतिक र सामाजिक क्षेत्रबाट अन्य केकस्ता अवरोध झेल्नुपर्‍यो ?

राजनीतिक अवरोध त एकदम धेरै झेल्नुपर्‍यो । सन् २००८ मा चाहिँ मैले आफैं तमाम विरोधीलाई छलफलको लागि आह्वान गरेँ । हरेक वर्ष यो दोहोरी नखेलौं भनेँ ।

यसरी आह्वान गरेपछि ३४ वटा महिला अधिकारसम्बन्धी संस्थाहरु आए । दुई दिनसम्म छलफल भयो । उनीहरुले ३५-३६ वटा बुँदा लिएर आएका थिए । हरेक बुँदामा एक-एक गरी छलफल गर्दै गयौं । दुई दिनपछि हामी तीन-चार वटा बुँदामा अल्झियौं । ति बुँदाहरुमा सम्झौता गर्ने ठाउँ थिएन । जस्तो त्यसबेला उहाँहरुले ‘मिस नेपाल भन्ने नाम परिवर्तन गर’ भन्नु भएको थियो । यो सम्भव हुने कुरै थिएन ।

त्यसबेला हामीलाई डाबरले सहयोग गरिरहेको थियो । उनीहरुले ‘यसरी अन्तर्राष्ट्रिय कम्पनीलाई सहभागी नगराउन’ पनि भने । यो पनि सम्भव थिएन । साथै ‘कार्यक्रम भव्य ढंगले नगर्नू, सिम्पल गर्नू’ भनेे । अब यस्तो कार्यक्रम तामझामबिना, भव्यता बिना कसरी गर्न सम्भव हुन्छ त ? हामीले भन्यौं, यी बुँदाहरु कार्यान्वयन गर्न सकिँदैन । किनभने कार्यक्रमको प्रकृति नै यस्तै हो ।

र, उहाँहरुको अन्तिम बुँदा के थियो भने, ‘अहिले हामी माओवादी सरकारमा आएको हुनाले यसपाली कार्यक्रम नगर्नू’ । अब हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा त हाम्रो सहभागी पठाउनै पर्छ । त्यसैले कार्यक्रम रोक्न मिल्दैन भन्यौं ।

अब भोलि कार्यक्रम छ । यहाँ अफिसमा सीडीओ कार्यालयबाट सुरक्षाको कारणले गर्दा भोलिको कार्यक्रम नगर्नू भनेर चिठी आयो । अन्ततः सन् २००८ को मिस नेपाल प्रतियोगिता रोकियो । यससहित तीन वटा वर्ष हामी प्रतियोगिता गर्न असमर्थ भयौं ।

सन् २००१ मा दरबार हत्याकाण्डको प्रभाव पर्‍यो । मुलुक नै शोकमा डुबेको बेला तामझाम गर्ने कुरै भएन । सन् २००६ मा मुलुकमा लोकतन्त्र आएको कारण, राजनीतिक उथलपुथल थियो । त्यसले गर्दा प्रतियोगिता हुन सकेन ।

सौन्दर्यको विश्वव्यापी मानक छैन सायद । भूगोल, समुदायअनुसार सौन्दर्यको आ-आफ्नै मापदण्ड र परिभाषा होलान् । हामीले तयार गरेको सौन्दर्यको मानक के हो ? कस्तालाई सुन्दरी भन्ने ?

सौन्दर्यको मानक छ । मलाई याद छ, कोरियामा एउटा दस्तावेज नै छ, हजार पेजको । त्यसमा सुन्दरीलाई परिभाषित गरिएको छ । अनुहारको यो भाग यस्तो हुनुपर्छ भनेर मानक नै तयार गरिएको छ ।
हाम्रो पूर्वीय शास्त्रमा पनि यस्तो मानक तय गरिएको छ । जस्तो परीहरुको वर्णन पनि त आउँछ । तर, हाम्रो बुझाई के छ भने, जसलाई देखेर आकर्षक लाग्छ, त्यही सुन्दर हो । मैले देख्ने, तपाईंले देख्ने, उहाँले देख्ने आँखामा फरक हुन्छ नि ।

यो प्रतियोगितामा हामीले ११ जना निर्णायक राख्ने गर्छौं । ती ११ जनाले आ-आफ्नो कोणबाट कसैको सौन्दर्य देख्छन् र त्यसमध्ये सबैभन्दा बढी कसलाई रुचाइन्छ, उही विजेता हुन्छ ।

सौन्दर्य प्रतियोगिताको इतिहास हेर्न हो भने करिब-करिब सय वर्षअघि अमेरिकामा सुरु भएको देखिन्छ । त्यो बेला जसरी सुन्दरताको नापजाँच गरिन्थ्यो, आज धेरै फरक भइसकेको छ । किनभने सुरुमा बिकिनी प्रमोसन गर्नका लागि आयोजना गरिएको सानो कार्यक्रम थियो यो । समय क्रमसँगै माझिदै आयो । पछि गएर ‘ब्युटी विथ ब्रेन’ भन्न थालियो । अहिले अझ अगाडि बढेर ‘ब्युटी विथ प्रपोज’ भन्न थालिएको छ ।

भन्नुको अर्थ सौन्दर्यलाई पनि फरक रुपमा परिभाषित गरियो । एउटा आवरणको रुपमा, अर्को चाहिँ वौद्धिकताको रुपमा । यस हिसाबले सौन्दर्य भनेको अहिलेको सन्दर्भमा शारीरिक आकर्षण र बौद्धिक क्षमता दुवैको मिश्रण हो ।

अब यतिले मात्र पनि पुग्नेवाला छैन । बौद्धिक भनेर मात्र भएन, त्यसलाई प्रयोगमा पनि ल्याउनुपर्‍यो । व्युटी विथ प्रपोज भनेको व्युटी, ब्रेन र वर्कको मिश्रण हो । सौन्दर्य प्रतियोगिताको ताज जितिसकेपछि वा यसमा सहभागी भइसकेपछि उनीहरु समाजको गहना बन्नुपर्छ । उनीहरुले कुनै न कुनै रुपमा समाजलाई योगदान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अहिलेसम्मको इतिहास केलाउँदा हेर्दा मिस नेपालको उपाधिमा नेवार समुदायको बाहुल्य देखिन्छ । यो संयोग मात्रै हो कि नेवार केटीहरु अरुभन्दा सुन्दर हुन्छन् ?

यो संयोग हो । एक समय लगातार नेवार समुदायबाट भयो । त्यसैले विभिन्न आरोप लागे । तर, २०-२४ जना मिस नेपालमा ६-७ जना मात्र त नेवार छन् नि ।

अर्को बुझ्नुपर्ने कुरा के भने, अन्तिम निर्णयमा आयोजकको हात नै हुँँदैन । निर्णायकको छुट्टै प्यानल हुन्छ । उनीहरु समाजका प्रतिष्ठित व्यक्तित्वहरु हुन्छन् । अर्को कुरा, यस वर्षका निर्णायकलाई हामी दोस्रो पटक समावेश गर्दैनौ । यस हिसाबले हामी एकदम पारदर्शी छौं । यस कुरामा म एकदम ढुक्क छु ।

अहिले अनगिन्ती सौन्दर्य प्रतियोगिता भइरहेका छन् । यी प्रतियोगिताको विश्वसनियता, गुणस्तर र पारदर्शितामाथि सँधै औंला उठाइन्छ । आयोजकको रुचि अनुसार उपाधि बेच्ने गरिएकोसम्म आरोप लाग्ने गर्छ । यसले मिस नेपाललाई कति अप्ठेरो बनाएको छ ?

हेर्नुहोस्, यो २५ वर्षे मिस नेपाल प्रतियोगिताको इतिहासमा चार/पाँच सयभन्दा बढी व्युटी पेजेन्ट हुन थालेका छन् । यति धेरै ब्युटी पेजेन्ट पारदर्शी, विश्वसनीय र गुणस्तरीय हुन्छ भन्ने कुरामा म पनि ढुक्क छैन । यसमा कतिले मिसयुज पनि गरिरहेकै होलान् ।

यति धेरै व्युटी पेजेन्ट आवश्यक छ र ?

किन नहुने ? रोक्नुपर्ने कारण के छ ? यसबाट हाम्रै छोरीचेलीले प्लेटफर्म पाउने हुन् । तर, गलत नियतले वा खराब ढंगले, अपारदर्शी, अविश्वसनीय, कुनियतले भने यस्ता कार्यक्रम गर्नै हुन्न । यस्तो गर्नु भनेको दण्डनीय कार्य हो ।

मिस नेपालमा सहभागी भइरहँदा प्रतियोगीहरुले के कस्ता कुराहरु सिक्ने, जान्ने अवसर पाउँछन् ?

हामीले दिने तालिम उनीहरुको लागि निकै जीवनोपयोगी हुन्छ । उनीहरुले जीवनलाई बुझ्ने र आफ्नो भविष्य पहिल्याउने बाटो पाउँछन् । विगत दुई-तीन वर्षदेखि हामीलाई अनुरोध आउँछ कि, मलाई जित्नु छैन, तर भाग लिन पाइयोस् ।

जस्तो यसपाली ३५ जना सहभागी थिए । श्रृंखलाले जितिन् । तर हामीले जुन किसिमको तालिमहरु दिन्छौं, त्यो श्रृंखलालाई मात्र दिएको होइन । सबैले पाउँछन् ।

मिस वर्ल्ड लगायत विश्वका सौन्दर्य प्रतियोगितामा नेपाली युवतीहरुको सहभागिताले के अर्थ राख्छ ?

सन् १९९७ मा हामी मिस वर्ल्ड सँग जोडिएका हौं । यो आफैंमा एक ठूलो प्लेटफर्म हो । मिस वर्ल्ड, मिस युनिभर्स भनेको विश्वले हेर्ने प्लेटफर्म हो । त्यो प्लेटफर्ममा उभिएर ‘म नेपालको प्रतिनिधि’ भन्दा त्यसले कस्तो महत्व राख्छ आफैं सोच्नुस् ।

मिस नेपालको उपाधी विजेतालाई अक्सर बजारसँग जोड्ने गरिन्छ । विभिन्न उत्पादनको ब्रान्ड एम्बासडर बनाउने, विभिन्न कम्पनीको प्रमोशन गराउने जस्ता काममा लगाइन्छ । खासमा त उनलाई समाजको रोल मोडल बनाइनुपर्ने होइन र ?

हामीले २५ वर्षको अवधीमा मिस नेपाललाई समाजको आइकन बनाउने अभ्यास गर्‍यौं । किनभने जो मिस नेपाल हुन्छन्, उनलाई आम युवायुवतीले पछ्याउँछन् । त्यस हिसाबले मिस नेपालले आफूलाई एक त्यस्तो व्यक्तित्वको रुपमा विकास गर्नुपर्छ, जो पछ्याउन लायक होस् । भाग्यवस अहिलेसम्म सबै मिस नेपालले यस्तो गरेका छन् ।

अब कुरा बजारको । कुनै पनि कार्यक्रम गर्दा हामीलाई आर्थिक स्रोत त चाहिन्छ । त्यसैले विज्ञापनलाई पन्छाएर हामी अगाडि बढ्नै सक्दैनौं ।

बजारको कुरा गर्दा मलाई के भन्न मन लाग्छ भने विज्ञापनका लागि हिजोको दिनमा बाहिरका मोडलहरु राखिन्थ्यो । अहिले हाम्रा मोडलहरु तयार छन् । हाम्रा उत्पादनमा उनीहरु नै मोडलिङ गरिरहेका छन् ।

सरकारबाट अहिलेसम्म कुनै सहयोग पाउनुभएको छ ?

बिडम्बनाको कुरा, अहिलेसम्म सरकारसँग हाम्रो सहकार्य हुन सकेन । हामीले धेरै प्रयास गरे पनि त्यो सम्भव भइरहेको छैन । हामी सरकारका सबै निकायसँग जोडिन खोजेको पनि होइन । मिस नेपाल बनेर कुनै नेपाली युवती विश्व सौन्दर्य प्रतियोगिताको प्लेटफर्ममा पुग्छ भने उसले आफ्नो देशको झन्डा बोकेको हुन्छ । देशको परिचय बोकेको हुन्छ । भाषा र कला बोकेको हुन्छ । संस्कृति बोकेको हुन्छ । गरिमा बोकेको हुन्छ ।

हामीले पर्यटन मन्त्रालयसँग मात्र पनि सहकार्य गर्न चाहेका र प्रयास गरेका थियौं । तर, उहाँहरुले कुनै चासो देखाउनुभएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment