Comments Add Comment

‘नारी दिवस हैन, श्रमिक महिला दिवस भनौं’

'८ मार्च सम्भ्रान्त महिलाको तीज होइन'

जतिबेला म कमलरीका रुपमा कसैको घरमा बँधुवा श्रमिकका रुपमा काम गर्थें, त्योबेला नारी दिवस मेरो जानकारीसम्म आइपुगेको थिएन । जब म अधिकारका लागि संगठित हुँदै बाहिरी समाजको सम्पर्कमा पुगेँ त्यसपछिमात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे जानकारी भयो ।

पछिल्लो समय ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने कि अन्तर्राष्ट्रिय नारी दिवस भन्ने दुविधामा छु । त्यसैले आज गौरवशाली इतिहास बोकेको ८ मार्चलाई स्मरण गर्न मन लाग्यो मलाई । हुन त भन्नेहरुले नाममा के छ र, मुख्य कुरा नारा हो भन्छन् । तर, नामले पहिचान बोकेको हुन्छ ।

हरेक विषयसँग जोडिएको इतिहास हामीले बिर्सनुहुँदैन । श्रमिक महिलाहरुबाट सुरु भएको आन्दोलन ८ मार्चको मर्मलाई समाजवादी अग्रज महिलाले आत्मसात मात्रै गरेनन्, नेतृत्व नै गरेर अगाडि बढे । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर नामाकरण गरेर मनाउन थालिएको इतिहास कसरी बांगिन सक्छ ? हाम्रो मानसपटलमा तेर्सिएको प्रश्नले उत्तर खोजिरहेको छ ।

नेपालको सन्दर्भमा चर्चा गर्दा विशेष गरी वामपन्थी महिलाहरुले ८ मार्चलाई स्थापित गर्न नेतृत्वदायी भूमिका खेले । साधना प्रधान, सहाना प्रधान, मोतिदेवी श्रेष्ठ जस्ता कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका महिला नेताले ८ मार्चालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा स्थापित गरे ।

बुर्जुवा राजनीतिक विचारधारबाट निर्देशित महिलाहरूले यसलाई नारी दिवसको अर्थमा मात्र बुझे केवल सम्भ्रान्त बर्गका महिलाहरुको मात्रै चाडका रुपमा लिँदै आए । ‘अन्तर्राष्ट्रिय श्रमिक’ भन्ने वाक्यांशलाई जबर्जस्ती हटाएर आज पनि महिला दिवस या नारी दिवस मात्रै भन्न खोजिएको छ । यो श्रमिक महिलाहरुका लागि बहसको विषय हो ।

वास्तवमा हरेक क्षेत्रमा वर्गीय शोषण छ । समग्रमा महिलाहरु दोस्रो दर्जका नागरिकका रुपमा बाँचिरहेका छन् । यद्यपि सम्भ्रान्त वर्गहरुका महिलाहरु पनि पितृसत्तात्मक चिन्तनको शिकार त छँदैछन्, त्यहाँ पनि महिला र पुरुषका बीचमा सहअस्तित्व छैन नै, तर पनि आर्थिकरुपमा जीवन चलाउन भने सहज छ ।

गरिखाने मजदुर महिलाहरु आज पनि पुरुष मजदुरका तुलनामा अझ बढी पीडित छन् । श्रमको उचित मूल्य पाउन सकेका छैनन् । चाहे खोला, नदीका किनारमा बसेर बालुवा चाल्ने या गिटी फोर्ने महिलाहरु हुन्, या सरकारी र निजी विभिन्न कारखानामा काम गर्ने महिला मजदुर नै किन नहुन्, उनीहरुले पेटभरि खाना पाउने गरी ज्याला पाउन सकेका छैनन् ।

समान कामको समान ज्यालाको नाराले सार्थकता पाउन आज पनि सकिरहेको छैन । त्यसैले ८ मार्चको इतिहासले तिनै श्रमिक महिलाहरुको न्यायको आवाज बोलेको हो । यस दिनको गरिमा र मुख्य उद्देश्यलाई हामीले भुल्नहुँदैन । यस दिनलाई पसिना पोखेर, नंग्रा खियाएर पनि बाँच्न कठिन हुने महिलाको आवाज बोलेर मनाउन पर्दछ ।

महिला र पुरुष श्रमिकका बीचमा हुने विभेदविरुद्ध नारा लगाएर मनाउनुपर्छ र वास्तविक श्रमिक महिलाहरुले आˆनो पर्व हो भन्ने ठानेर आˆना मागहरु बुलन्द गर्न पाउनुपर्छ ।

महिला दिवस कुनै चाडपर्व वा सम्भ्रान्त महिलाहरुको जमघट हुने अवसर होइन । यो तीजजस्तो महिलाहरुको सांस्कृतिक पर्व पनि होइन । बरु यो त संसारभरका मेहनतकश श्रमजीवी महिलाहरुले समानताको आवाज उठाउने दिन हो । जसले श्रमको क्षेत्रमा बाँकी रहेका विभेदहरु पनि अन्त गर्नुपर्छ ।

श्रमिक महिला दिवस हो भन्ने बुझौं

म भन्न चाहन्छु- ८ मार्च नारी दिवस होइन, महिला दिवस मात्रै पनि होइन, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो भन्ने बुझौं । अनिमात्र इतिहासको भावनालाई सम्मान गरेको ठहर्छ ।

निश्चितरूपमा रुपमा ८ मार्च वर्गीय आन्दोलनसँग जोडिएको पर्व हो । शोषण र उत्पीडनका विरुद्ध संघर्षको जेहाद छेडिएको दिन हो ८ मार्च । शोषकका घेरा तोडेर श्रमिक महिलाहरुका बर्जित एवं दमित आवाजहरु बुलन्द रुपमा घन्किएको दिन हो । त्यसैले हामी इतिहाससँग गर्व गरेर यस दिनलाई ज्यादै महत्वपूर्ण पर्व ठान्दछौं ।

संसारभरिका धेरै देशहरुमा महिलाहरु १८ घण्टासम्म पुरुष बराबर श्रम गर्थे , पसिना बगाउँथे, काम समान हुन्थ्यो । तर, ज्याला असमान हुने गर्दथ्यो । त्यसैले कारखानामा श्रम गर्ने श्रमिक महिलाहरूले ८ घण्टा काम , ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम जस्ता विषयका माग राखेर आन्दोलित बनेको दिन हो यो । यस दिनमा नै महिला हक र अधिकारका सन्धर्भमा ऐतिहासिक उपल्ब्धीहरु पनि प्राप्त भएको थियो ।

सुन्दर हरफमा कोरिएका सुनौलो इतिहास हामीले पढेका छौं । सन १९०७ मार्च ८ मा जर्मनीको स्टुडगार्ड्मा समाजवादी महिलाहरुले पहिलो अन्तराष्ट्रिय सम्मेलन गरेका थिए । उक्त सम्मेलनबाट क्लरा जेटि्कनको नेतृत्वमा ‘श्रमिक महिला संगठन’ नामक संघ गठन भएको थियो ।
सन् १९०८ मा महिलाहरु माथिको दमन, १८ घण्टा काम गर्नु पर्ने बाध्यात्मक अवस्था र असमानता जस्ता विषयलाई लिएर अमेरिकाको शिकागो शहरमा कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरूले जेट्किनको नेतृत्वमा १५ हजारको संख्यामा जुलुस निकालेका थिए ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । क्लारा जेटकिन र रोजा लग्जेम्बर्गको अगुवाइमा भएको उक्त सम्मेलनमा १७ देशका १०० जनाभन्दा बढी महिलाहरु प्रतिनिधिका रुपमा सहभागी थिए । सोही सम्मेलनले श्रमिक महिलामाथि भएको विभेदको अन्त्य, महिलाहरुको मताधिकार र महिलामाथि गरिने सम्पूर्ण खालको हिंसाको अन्त्य जस्ता मुद्दाहरु अगाडि सारेको थियो ।

उक्त सम्मेलनमा नै क्लरा जेटि्कनले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रस्ताव गरेकी थिइन्, जुन प्रस्ताव पारित पनि भयो र सन् १९११ देखि विश्वभरिका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउन थालेका हुन् ।

(पूर्वकमलरी चौधरी नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलकी सचेतक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment