
२९ फागुन, काठमाडौं । काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक (डीएसपी) काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।
‘अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको सूचना आएको छ’, उनले अनलाइनखबरसँग भने, ‘हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेका छौं ।’
हाल नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ भने डिस्पोज गर्ने प्रक्रिया सुरु भइसकेको छ । थप विवरण दिइएको छैन ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार छेऊ शंकास्पद वस्तु भेटिएकाले पनि सुरक्षा अधिकारीहरुले विस्तृत विवरण बताएका छैनन् ।
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको छ ।
समूहले कपिलवस्तुमा विप्लवको गाउँमा प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा खुट्टामा गोली हानेर कार्यकर्ता पक्राउ गरिएको विरुद्धमा बन्द आह्वान गरेको दाबी गरेको छ । प्रहरीको गोलीबाट घाइते दुर्गाबहादुर रोकाको घरबाट प्रहरीले दुईवटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउण्ड गोली बरामद गरेको थियो ।
समूहमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।
समूहले १० फागुनमा ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा एकजनाको मृत्यु र दुई जना घाइते हुने गरी शक्तिशाली विष्फोट गराएपछि प्रहरीलाई विप्लव समूहप्रति आक्रामक बन्न निर्देशन दिइएको थियो । २४ फागुनमा काठमाडौंको वसुन्धारामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा चार जना घाइते हुने गरी विष्फोट गराएको थियो ।
प्रतिक्रिया 4