Comments Add Comment

बसुन्धारा विष्फोट प्रकरणः विप्लव समूहलाई चन्दा नदिँदा विष्फोट !

Photo Credit : चन्द्र आले/अनलाइनखबर फाइल फोटो

२५ फागुन, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको शक्तिशाली विष्फोटको जिम्मा नेकपा विप्लव समूहले लिएको छ ।

शुक्रबार साँझ गुरुङको घरको ग्यारेजमा राखिएको गाडीमा शक्तिशाली विस्फोट भएको थियो । विष्फोटमा परेर ४ जना घाइते भएका छन् भने घरमा पार्किङ गरेर राखिएको बा १० च ६७८९ नम्बरको ल्याण्ड क्रुजर गाडी क्षतविक्षत भएको छ ।

स्थानीयबासीका अनुसार सुरुमा ठूलो विस्फोटको आवाज आएको थियो, त्यसपछि आगलागी भयो । त्यसक्रममा थप दुई विस्फोटको आवाज आएको थियो ।

तर, हालसम्म विष्फोट कसरी भयो भन्ने निक्र्यौल भइसकेको प्रहरीले बताएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘विष्फोट भएको हो । तर, कुन प्रकृतिको हो भन्ने केही सबुत भेटिएको छैन ।’

विप्लव समूहले मागेको थियो चन्दा

मागेअनुसार चन्दा नदिएको भन्दै विप्लव समूहले १० माघमा नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको थियो । विप्लव समूहका कार्यकर्ताले कार्यालयभित्र छाडेको बम सुरक्षागार्डले बाहिर ल्याउँदा विस्फोट भएको थियो, जसमा बाटो हिँडिरहेका एक जनाको मृत्यु भयो भने दुई जना घाइते भएका थिए ।

शुक्रबार साँझ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा शक्तिशाली विस्फोट भयो ।

स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ता गुरुङ कहाँ पनि चन्दा माग्न पुगेका थिए । करिब तीन महिना अघि युवा संगठनको नाममा वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा पत्राचार गरेर चन्दा माग गरिएको थियो ।

‘त्यसपछि पटकपटक गुरुङ र विप्लवका कार्यकर्ताबीच भेटघाट भएको देखिन्छ’, स्रोतले भन्यो, ‘गुरुङले आफूहरु आर्थिक संकटमा रहेको भन्दै चन्दा दिएका थिएनन् ।’

यो पनि पढ्नुहोस नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

गुरुङले मलेसियाको रोजगारी बन्द भएको र सरकारले मेनपवारको धरौटी रकम ६ करोड बनाउने प्रस्ताव गरेकाले आर्थिक संकटमा रहेको जवाफ दिएका थिए । मागअनुसार रकम मदिएपछि विप्लव समूहका कार्यकर्ता पत्र फिर्ता मागेको थियो ।

चन्दा मागिएको पत्र फिर्ता लिएको केही दिनमै घरमा विस्फोट भएकाले विप्लव समूहकै संलग्नता देखिएको छ । यसबारे प्रहरी अनुसन्धान जारी छ ।

शनिबार साँझ नै विप्लव समूहसम्बद्ध युवा संगठन नेपालका मध्य केन्द्रीय कमाण्डका सचिव शिशिरले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment