१० चैत, हेटौंडा । विभागीय टोली एपीएफलाई पराजित गर्दै क्यामरुनी क्लब डफिन्स हेटौंडामा जारी दोस्रो शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस अघि चार ठाउँका प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ लाई पाखा लगाएको डफिन्सले हेटौंडामा जारी प्रतियोगितामा पनि १–० गोलअन्तरले पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
डफिन्सका लागि ७९ औं मिनेटमा यानिक ओवानाले निर्णायक गोल गरे । ओवानाले खेलको म्यान अफ दी म्याच घोषित भई १० हजार रुपैयाँ पाए ।
सेमिफाइनलमा स्थान बनाएको डफिन्सले थ्रीस्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत सोमबार नेपाल पुलिस क्लब र फ्रेण्डस क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले नगद चार लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया 4