१२ चैत्र, हेटौंडा । हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा अन्तिम चारको टुङगो लागेको छ ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा सरस्वती क्लबलाई पराजित गर्दै थ्रिस्टार क्लबले अन्तिम चारमा स्थान बनाएसँगै अन्तिम चारको टुङ्गो लागेको हो ।
प्रतियोगिताको अन्तिम चारमा आयोजक मकवानपुर ११, क्यामरुनी क्लब डफिन्स र नेपाल पुलिस क्लब प्रवेश गरिसकेका छन् ।
मंगलबार भएको खेलमा थ्रिस्टारले सरस्वती क्लबमाथि २-० गोलको जित हात पारेको हो । प्रतिष्पर्धात्मक खेलको २५ औं मिनेटमा गोल गर्दै थ्रिस्टारले अग्रता लिएको थियो ।
सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीलाई बिट गरेर फर्किएको बललाई थ्रिस्टारका विदेशी खेलाडी मोन्साले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलमा सरस्वतीले पाएका मौका सदुपयोग गर्न नसक्दा पहिलो हाफमा थ्रिस्टारले १ गोलले अग्रता लिएको थियो ।
दोश्रो हाफमा केही र्फममा देखिएको सरस्वतीले खेल बराबरीमा ल्याउने प्रयत्न गर्दै गर्दा थ्रिस्टारले गोल अन्तर २ पुर्याएको थियो ।
कर्नर बललाई हेटमार्फत उत्कृष्ठ गोल गरेका बिदेशी खेलाडी पिटर सेगुनले गोल अन्तर बढाएका थिए । उनले खेलको ६० औं मिनेटमा गोल गरेका हुन् ।
खेलको म्यान अफ दी म्याच थ्रिस्टारका बिदेशी खेलाडी पिटर सेगुन घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार आयोजक मकवानपुर ११ र नेपाल पुलिस बीच हुने छ । जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद आठलाख रुपैयाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दशवटा टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल चैत १६ गते शनिबार हुनेछ ।
प्रतिक्रिया 4