Comments Add Comment

तरकारी ढुवानीमा कृषकलाई अनुदान

Photo Credit : फाइल तस्वीर

२३ चैत, काठमाडौं । कृषकलाई व्यवसायमा हौसला बढाउन पाल्पाको बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान रकम प्रदान गर्न थालेको छ ।

स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य यहाँका कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको छ । पाँच सय किलोभन्दा बढी अन्यत्र बजारमा लगेर तरकारी बिक्री गर्ने कृषकलाई प्रतिकिलो रु दुई ढुवानी खर्च प्रदान गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले बताए ।

‘कृषकको घरदेखि बजारसम्मको दूरी हेरेर बढीमा एक किलोको रु दुई ढुवानी अनुदान रकम उपलब्ध गराएका छौँ, कृषकले स्थानीय बजारमा खपत नभएका तरकारी अन्य जिल्लामा बिक्री गर्न थालेपछि तरकारी बेच्ने समस्या हटेको छ’, जिसीले भने ।

उनका अनुसार, गत वर्ष मात्रै ४० हजार किलो तरकारी अन्यत्र बजारमा ढुवानी गरेबापत कृषकलाई रु ५९ हजार २०० रकम ढुवानी अनुदान प्रदान गरिएको थियो । यस वर्ष पनि ढुवानीमा अनुदान दिने क्रम जारी छ ।

ढुवानी अनुदानका लागि कृषि शाखामा पहिले नै आफ्नो तरकारी बाली, कहाँ ढुवानी गर्ने, कति ढुवानी गर्ने सबै अभिलेख पेश गरेर मात्र कृषकलाई ढुवानी अनुदान उपलब्ध गराइएको छ । गत वर्ष व्यावसायिक १२ र दुई कृषक समूहमा आबद्ध ३० सहित ४२ कृषकलाई ढुवानी अनुदान रकम प्रदान गरिएको थियो ।

तरकारी ढुवानी अनुदानका लागि गाउँपालिकाले गत वर्ष र यस वर्ष रु एक/एक लाख रकम विनियोजन गरेको छ ।

बगनासकाली–२ पोखराथोक बस्ने कृषक कृष्ण न्यौपानेले ८० क्विन्टल काउली, २५ क्विन्टल बन्दासहित विभिन्न जातका तरकारी गरी १० टन तरकारी स्याङ्जाको गल्याङ बजारमा लगेर बिक्री गरे । सो तरकारी बिक्री गरेबापत रु २१ हजार ढुवानी अनुदान रकम बुझेको उनले बताए । ‘बाहिरी बजारमा तरकारी बिक्री गर्न लैजाँदा ढुवानीको मूल्य नै नउठ्ने हुँदा बजार अभावमा तरकारी खेतबारीमै फाल्नुपर्ने अवस्था थियो, अहिले गाउँपालिकाले ढुवानी अनुदान दिन थालेपछि कृषलाई ठूलो राहत मिलेको छ’, न्यौपानेले भने ।

न्यौपानेले सात रोपनी क्षेत्रफलमा विगत दश वर्षदेखि निरन्तर रुपमा तरकारी खेती गर्दै आएका छन् । वर्षमा तरकारी खेतीबाट रु छ लाखदेखि सात लाखसम्म आम्दानी हुने उनले बताए । यहाँका कृषकले वर्षेनी ठूलो परिमाणमा तरकारी उत्पादन गर्दै आएका छन् । स्थानीय बजारले तरकारी थेग्न नसकेपछि कृषकको लगानी त्यसै खेर गइरहेको थियो । अहिले बजारमा पु¥याउन ढुवानी अनुदान पाएपछि कृषि व्यवसायमा कृषकलाई हौसला मिलेको छ ।

गत वर्ष मात्रै गाउँपालिकामा रु एक करोड ५० लाख बराबरको तरकारीको कारोवार भएको थियो भने यस वर्ष रु दुई करोड ५० लाखसम्म कारोवार हुने कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाको वडा नं १ को चिर्तुङधारा, २ को पोखराथोक, ३ को नायर, ६ को यम्घालगायतका क्षेत्र तरकारी उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । गाउँपालिकामा ८० व्यावसायिक कृषक, १० वटा कृषि फार्म, ७० वटा कृषक समूह, ३० वटा फलफूल बगैँचा धनी रहेका छन् ।

यस क्षेत्र जिल्लामै तरकारी, मकैको मूल बीउ उत्पादन, कुरिलो खेतीका रुपमा प्रख्यात छ । यहाँबाट वर्षेनी पाँच लाखको कुरिलो बाहिरी बजारमा निर्यात हुँदै आएको छ । वार्षिक तीन हजार किलो मह, ३५ टन मकैको मूल बीउ उत्पादन हुने गरेको कृषि प्राविधिक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment