Comments Add Comment

भौतिक पूर्वाधारको बजेट बढ्ने, हुलाकी सडक र मध्यपहाडी लोकमार्गलाई दोब्बर !

Photo Credit : फाइल तस्वीर

३ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब ३७ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले दिएको यो सिलिङ चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३५ प्रतिशत बढी हो ।

नयाँ सिलिङअनुसार कार्यक्रम बनाउन मन्त्रालय जुटेको छ । तर, करिब ९५ अर्ब क्रमागत आयोजनाहरुमै खर्च हुने निश्चित छ । बाँकी रकम भने नयाँ कार्यक्रम सुरु गर्न र पुरानै आयोजनामा थप खर्च गर्ने गरी बजेट निर्माणको तयारी गरिएको छ ।

आगामी वर्ष पनि सडक आयोजनाहरुमै बढी बजेट खर्च गरिनेछ । भौतिक पूर्वाधारतर्फ हाल बिभिन्न सडक आयोजना राष्ट्रिय गौरबका आयोजनाका रुपमा निर्माणाधीन छन् ।

आगामी वर्ष हुलाकी सडक आयोजना र पुष्पलाल मध्यपहाडी लोकमार्गलाई यो वर्षको भन्दा झण्डै दोब्बर बजेट दिने गरी गृहकार्य भएको छ । यो वर्ष दुबै आयोजनाले साढे ५ अर्ब बजेट पाएका थिए । तर, काम अपेक्षाभन्दा राम्रो भएकाले रकमान्तर गरेर थप बजेट दिने तयारी गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।

२०७९÷८९ सम्म दुबै सडक निर्माणको काम टुंग्याउने गरी आगामी वर्ष १० अर्बसम्म बजेट दिने गरी छलफल भएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले बतायो ।

अरु सडक आयोजनाका लागि भने यस वर्षकै बजेटमा थोरै बढाएर बजेट दिने तयारी छ । उत्तरदक्षिण ब्यापारिक मार्गलाई सरकारले प्राथमिकतामा राखेको छ ।

त्यसैगरी रेल्वे आयोजनाहरुमा पनि निर्माणका काम तीव्र पार्ने गरी बजेट विनियोजन हुनेछ । पूर्व–पश्चिम रेलमार्गलाई अघि बढाउन यो वर्षको मूल बजेट खर्च हुनेछ । सरकारले पूर्व–पश्चिम रेलमार्गको सम्भाब्यता अध्ययन यसै आवमा सकाउँदैछ । त्यसैले अब निर्माणमा ध्यान केन्द्रित गर्ने तयारी छ । भारतसँगको लिंक रेल सञ्चालनका लागि पनि बजेट व्यवस्थापन हुनेछ ।

यसतै यसै वर्षबाट जलमार्गको सम्भाब्यता अध्ययनका लागि लागि पनि बजेट छुट्याइनेछ ।

पानीजहाज कार्यालयका पनि विकास बजेट दिइनेछ । हालै मात्र पानी जहाज कार्यालय खोलिएको छ ।

यो वर्ष नयाँ सुरुङमार्गका लागि बजेट विनियोजन हुनेछ । सडक विभागले बनाउने गरी केही स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु गर्ने तयारीमा विभाग छ ।

मन्त्रालय स्रोतका अनुसार जाइकाको सहयोगमा नागढुंगामा सुरुङमार्ग निर्माण थाल्न अन्तिम तयारी भइरहेको छ । यसबाहेक अन्य स्थानमा पनि सुरुङमार्गहरुको निर्माण थाल्न आगामी वर्षको बजेटमा रकम नै विनियोजन हुनेछ ।

सरकारले गत वर्ष नै नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्ने उद्घोष गरेको थियो ।

तर, त्यसअनुरुपको कार्यक्रम ल्याएको थिएन । यस्तै बजेटअघि नै झण्डै १५ हजार किलोमिटर सडक संघ अन्तरगत रहने गरी मन्त्रिपरिषदबाट निर्णय हुँदैछ । तीनै १५ हजार किलोमिटर सडकको स्तरोन्नतिका लागि पनि बजेट खर्च हुनेछ ।

यस्तै सरकारले झण्डै १० वटा आधुनिक किसिमका पुलहरु पनि बनाउने गरी बजेटको विनियोजनको तयारी गरेको छ । आगामी बर्ष भौतिक योजना तथा पूर्वाधारतर्फ कुनै महत्वकांक्षी योजना घोषणा हुने सम्भावना कम छ । सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्गका लागि २० अर्ब बजेट दिन प्रस्ताव गरिएको छ ।

द्रुतमार्गमा सेनाले बजेट पाए पनि बजेट भने भौतिक पूर्वाधारमार्फत विनियोजन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment