Comments Add Comment

हात्ती पाल्दा मासिक १ लाख आम्दानी !

यस्तो छ सौराहाका हात्तीको रोचक कथा

५ वैशाख, चितवन । तपाई हामीले गाई, बाख्रा वा भैंसी पालेर आम्दानी गर्ने गरिएको त सुनेकै हौं । तर, हात्ती पालेर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ भन्ने सुन्दाखेरि धेरैलाई अनौठो लाग्न सक्छ ।

हात्ती पालेर मासिकरुपमा आम्दानी गर्न सकिन्छ भनेर मान्ने हो भने अर्को प्रश्न उब्जन्छः एउटा हात्ती खरिद गर्दा कति रुपैयाँ पर्ला ?

आउनुहोस् हात्तीका लागि चर्चित मानिने चितवनको सौराहाको हात्ती–पर्यटनको रोचक कहानी सुनौं ।

सबै पर्यटकीय गन्तव्यका आफ्नै विशेषता हुन्छन् । सौराहाको पनि आफ्नै पहिचान र अस्तित्व छ । यसको पहिचान हात्तीसँग जोडिएको छ । सौराहा नेपालको एक मात्रै त्यस्तो गन्तब्य हो, जहाँ अजंगका शरीर भएका हात्तीको जुलुस देख्न पाइन्छ । शहरमा रहनेलाई मात्र हैन, गाउँमै हुर्के बढेका धेरैलाई हात्ती देख्न पाउनु नै नौलो हुन्छ ।

सौराहा पुगेका पर्यटकलाई हात्तीसँगै खेल्न र रमाउन अवसर मिल्छ । यस्तो सुविधा नेपालका धेरै ठाउँमा पाइँदैन । अन्य केही राष्ट्रिय निकुञ्जमा हात्ती देख्न पाइए पनि हात्तीसँगको मान्छेले आफैं उठबस गर्न सौराहा नै आउनुपर्छ ।

बिहान पर्यटकलाई जंगल घुमाउने लैजाने र घुमाएर फर्काउने काममा सौराहाका हात्तीको प्रयोग धेरै मात्रामा हुन्छ । यहाँ हरेक बर्ष हात्तीको नामबाट महोत्सव नै गर्ने गरिन्छ । हात्तीका छावाहरुलाई फुटबल दिएर खेलाइन्छ, पिकनिक खुवाइन्छ । हात्तीहरु एकदमै अनुसाशित रुपमा भेला भएर पिकनिकमा रमाउँछन् । यो देखेर स्वदेशी र विदेशी पर्यटकहरु समेत खुसी नहुने कुरै भएन ।

यो पर्यटकीय नगरीभित्रका सडकमा हात्तीहरु हिँडेको दृश्य स्थानीयका लागि नौलो होइन, तर, पर्यटकका लागि विशेष नै हुन्छ ।

हात्तीको मूल्य : ८० लाखदेखि १ करोडसम्म

सौराहामा निजी हात्ती मात्रै ५७ वटा छन् । एउटा हात्तीमा काम गर्ने २ जना माहुते हुन्छन् । हात्तीसँग जोडिएर सौराहामा प्रत्यक्ष रुपमा ११४ जनाले रोजगारी समेत पाएका छन् ।

एउटा हात्तीको मूल्य ८० लाख रूपैयाँभन्दा माथि पर्छ । १० बर्षदेखि १५ बर्षको उमेरको हात्तीको झण्डै १ करोड पनि ।

सरदर सय वर्ष बाँच्ने हात्ती भारतको आसाम लगायतका क्षेत्रबाट नेपाल भित्र्याइन्छ । तराईका मूलका मानिसहरुसँग सौराहाका व्यवसायीहरुले हात्ती किन्ने गर्दछन् ।

हात्तीको ब्यापारलाई वैध मानिँदैन । जंगली हात्तीसँगको क्रस गराएर ५ वटा छावासमेत नीजि हात्तीले सौराहामा पाएका छन् । एउटा हात्ती पाल्दा मासिक ६० हजार रूपैयाँसम्म खर्च लाग्छ ।

कति कमाउँछन् हात्ती पाल्नेले ?

हात्तीबाट कमाइ मासिक ८० हजारदेखि १ लाख आम्दानी हुन्छ । नेपालीसँग एकजनाको एक घण्टाको हात्ती सफारीको १२ सय ५० रुपैयाँ लिने गरिन्छ । भारतीय पर्यटकलाई १६५० रुपैयाँ र विदेशी पर्यटकहरुलाई २२ सय ५० रुपैयाँ लिने गरेका छन् ।

संस्थाले नै हात्तीको पैसा उठाउने गर्छ । आएको पैसा सबै जसो हात्तीका लागि भनेर दामासाहीले बाँडने गरिएको छ ।

पहिला दैनिक ६/७ पटक जंगली सफारीका लागि हात्ती लैजाने गरिएको भए पनि अहिले विहान दुई पटक र दिउँसो दुई पटक लौजाने गरिएको छ ।

बिहान ६ देखि १० बजेसम्म दुई ट्रिप र दिउँसो १ बजेदेखि ३ बजेसम्म दुईपटक जंगल सफारीका लागि लैजाने गरिएको छ ।

निजी हात्तीपालक व्यवसायीहरूको संस्था युनाइडेट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्तीलाई बढी दुःख नहोस् भन्नका लागि ‘ट्रिप’ घटाएको बताए । तिवारीले सौराहाको पर्यटन व्यवसायलाई ध्वस्त बनाउनेहरुले हात्ती सफारीका बारेमा नानाथरी टिप्पणी गर्ने गरेकोमा आक्रोश व्यक्त गरे ।

पर्यटन व्यवसायको पिल्लर

सौराहा र हात्तीबीचको सम्बन्ध ४ दशकभन्दा लामो छ । यो बीचमा सौराहाले हात्तीकै माध्यमबाट आफूलाई थप सशक्त पर्यटकीय गन्तब्यका रुपमा उभ्याएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे राप्ती नदीको किनारको मनोरम तटमा रहेको सौराहाको मुख्य आकर्षण नै हात्तीलाई मान्छन् । उनको भनाइमा यो क्षेत्रको पर्यटन व्यवसायको पिल्लर नै हात्ती हो ।

सौराहाको हात्ती सफारी निकै चर्चित छ । हात्ती चढेर जंगलमा वन र वन्यजन्तु हेर्न पुग्नु सबैका लागि नौलो मात्रै हैन रोमाञ्चक पनि हुन्छ । धेरै पर्यटकहरुमा हात्ती सफारी गर्दै मध्यवर्ती क्षेत्रमा दुर्लभ एकसिगें गैंडा हेर्ने इच्छा हुन्छ ।

जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गोही, बाँदर, सर्प लगायतका पशुपन्छीहरू नजिकैबाट हेर्न हात्तीमा जतिको सजिलो र भरपर्र्दो सफारी विकल्प अरु छैनन् ।

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर तथा पन्छीहरू हेर्ने चाहानाले पुग्ने पर्यटकमा आश्रित छ । यहाँ हात्ती चढ्ने मात्रै हैन, हेर्न पुग्नेको संख्या पनि सानो छैन ।

सौराहा नजिकै रहेको हात्ती प्रजनन केन्द्रमा हात्तीका गतिविधि हेर्न आउने पर्यटकहरु उल्लेख्य पुग्छन् । हात्तीका साना–साना छावाहरु खेल्दै रमाएको हेर्न पाउनु नयाँ र मज्जाको अनुभव हुन्छ ।

छावाहरुको क्रियाकलाप नियाल्दा जो कोही पनि पर्यटक आनन्दित भएर फर्किएको देख्न सकिन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष घिमिरे हात्तीविनाको सौराहाको परिकल्पना गर्न नसकिने बताउँछन् ।

‘हात्तीकै कारणले सौराहा चिनिएको छ भविश्यमा के होला त्यो भविश्यले बताउँला, तर अहिले हात्तीविनाको सौराहा सोच्न पनि सकिँदैन,’ उनी भन्छन् ।

हात्ती महोत्सव

यहाँको पर्यटन व्यवसाय हात्तीमाथि निर्भर छ भनेर देखाउन र यहाँको मुख्य विशेषता प्रचार होस् भनेरै हरेक वर्ष सौराहाका पर्यटन व्यवसायीहरुले हात्ति महोत्सव आयोजना गर्ने गरेको अध्यक्ष घिमिरेले बताए ।

हात्तीलाई श्रृंगार गरेर गरिने महोत्सवले पनि पर्यटक बढाउन सहयोग गरेको छ । यस्ता कार्यक्रमले हात्ती र मानवबीचको सम्बन्धलाई अझै नजिक ल्याएको घिमिरे बताउँछन् ।

क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष गिरीधारी चौधरीको पनि अनुभव घिरिेको भन्दा फरक छैन । सौराहा भन्ने वित्तिकै हात्ती जोडिने भएकाले सौराहा र हात्तीलाई अलग–अलग गर्न नसकिने बताउँछन् ।

‘हामीले हात्ती बचाएका छौं, हात्तीले हामीलाई बचाएको छ’ चौधरी भन्छन् ।

हात्तीसँग सम्बन्धित धेरै मानिसहरुले रूचाएको अन्र्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितालाई यहाँ पर्यटन व्यवसायीहरुले सौराहाको पहिचानका रुपमा स्थापित गर्न खोजिरहेका छन् ।

पश्चिम चितवनको मेघौलीमा हुने अन्र्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता ०६७ सालबाट बन्द भएपछि यो खेल चितवनबाट हराउने चिन्ता थियो ।

डब्लु. इ.पी. (वल्र्ड इलिफेन्ट पोलो) ले प्रतियोगिता बन्द गरेपनि नेपालको सौराहामा हात्तीपोलो खेल बन्द नभएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष घिमिरेको भनाई छ । उनी भन्छन् ‘हात्तीपोलो चितवन र देशकै चिनारी हो किन बन्द गर्ने ? हामी चलाउन सक्छौ ।’

हात्ती सफारी नै विशेष

हात्ती सफारीका लागि नै पर्यटकहरु चितवन आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जभित्र घरपालुवा हात्तीलाई लैजान नदिए पनि वरपरका सामुदायिक वन क्षेत्रमा सफारी गराउने गरिएको छ ।

निकुञ्जसँग जोडिएका यी क्षेत्रमा रमाउन पर्यटकहरु आउने गर्दछन् । हात्तीलाई नजिकबाट छुने, सुम्सुम्याउने, त्यसलाई बसालेर हात्ती माथि चढ्न, हात्तीसँगै राप्तीमा गएर नुहाउन पर्यटक लोभिन्छन् ।

तथ्यांक अनुसार चितवन आउने पर्यटकहरुको ८० प्रतिशत सौराहा जाने गरेका छन् । सन् २०१८ मो चितवन राष्ट्रिय निकुञ्जमा १लाख ३६ हजार ७ सय ८४ पर्यटक घुम्न आए । त्यसमा आन्तरिक पर्यटकको हिस्सा पनि छ । यी पर्यटकहरु अधिकांशले हात्ती र जीप जंगल सफारी गरेका छन् ।

सौराहामा ११० वटा होटल छन् । ५६ वटा रेस्टुरेन्ट छन् । सौराहामा एक रातमा ५ हजार ५ पर्यटकहरुले रात विताउन सक्छन् ।

हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु समुदायको मौलिक संस्कृतिको अवलोकन गर्नु सौराहाका विशेषता हुन् । सौराहामा थारु समुदायको सांस्कृतिक नृत्य नहेरी फर्किँदा भ्रमण नै अपूरो लाग्छ ।

तर, स्थानीय विजयलाल चौधरीको भाषामा अरु जे–जे नगरे पनि यहाँ आएर हात्ती नचढी फर्किएका पर्यटकले घर फर्किएर ‘म पनि सौराहा गएको छु’ नभन्दा हुन्छ । किनभने, सौराहा आएर हात्ती नढ्नेको सौराहा यात्रा पूरा हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment