Comments Add Comment

उपमेयरको अनुभव : आफैं अन्यायमा छौं, तैपनि न्याय दिँदैछौं

स्थानीयतहको विकासमा उपप्रमुखलाई ‘बाइपास’ गरिएको गुनासो

१० वैशाख, मोरङ । बेलबारी नगरपालिकाको उपमेयर बन्नुपूर्व साहित्यकारको परिचय बनाएकी तारा पराजुली उर्फ ढाकाकुमारी पराजुली अनलाइनखबरकर्मीसँग गफिन पाउँदा खुशी देखिइन् । उनी खुशी हुनुको रहस्य रहेछ– देशैभरिका पत्रकारहरु प्रायः मेयरलाई भेट्छन्, तर, उपमेयरहरुसँग कमै ठोकिन्छन् ।

‘पत्रकार साथीहरुबाट उपप्रमुखको कामको न्युज आउँदैन,’ पराजुलीले भनिन्, ‘न्यायिक समितिको काम भनेर सामान्य आउँछ, तर, अरु न्युजहरु आउँदैन ।’

अनलाइनखबरसँग कुराकानीका क्रममा उपमेयर पराजुलीले अर्को पनि गुनासो पोखिन् । देशैभरिका उपप्रमुखहरु आफूजस्तै अन्यायमा परेको उनको निश्कर्ष छ । स्थानीय तहको विकास निर्माणमा उपमेयरहरुलाई ‘बाईपास’ गरिएको पराजुलीले निश्कर्ष सुनाइन् । उनले भनिन्, ‘हामीले आफू अन्यायमा परेर भए पनि अरुलाई न्याय दिइरहेका छौं ।’

बेलबारी नगरपालिकाको न्यायिक समितिको नेतृत्वमा रहेकी पराजुलीले अर्को पनि अनुभूति सुनाइन्– ‘हामी महिलाहरु धेरै पीडित छौं भन्छौं । धेरै ठाउँमा त्यो पीडा छ पनि । तर, सबै ठाउँमा महिलामात्रै पीडित छन् भन्ने होइन, पुरुषहरुले पनि ठुल्ठुला पीडाहरु भोगिराखेका छन् । तर, कतिपय ठाउँमा महिलाहरुले जसरी सजिलै यसलाई बाहिर ल्याउन पुरुषहरुले सक्दैनरहेछन् ।’

सुनौं उपमेयर पराजुलीको तीतोमीठो अनुभव–

यहाँ हामीसँग कुरा गरिरहँदा अर्को कोठामा बैठक चलिरहेको रहेछ, कस्तो बैठक हो त्यो ?

कार्यपालिकाको बैठक हो । कार्यपालिकाको नियमित बैठक महिनाको १ गते र १५ गते दुईचोटि बस्छ । यसपालि चाहिँ बैशाख गते नयाँ वर्ष परेकाले मिति सरेको हो । यो बैठकबाट ‘गरीबसँग नगरपालिका’ कार्यक्रमको कार्यविधि बन्दैछ । बेलबारीभित्र न्यूनतम गरीवी रेखामुनि रहेका नगरवासीलाई उत्पादनसँग जोडेर गरीवी निवारणको कार्यविधि पास गर्ने कार्ययोजना छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मै सबैभन्दा धेरै मुद्दा आउने बेलबारी नगरपालिका नै हो शायद । तपाई आज दिनभरि यहाँ बस्नुभयो भने एक दिनमा सात/आठवटा मुद्दाहरु हाम्रोमा अनिवार्य आउँछन् ।

तपाई त कवि मान्छे, साहित्यकार हुँदा रहमाइलो कि उपमेयर हुँदा ?

मिश्रित नै छ अनुभूति । हिजो लेखिन्थ्यो । लेख्ने पनि मनोरञ्जनका लागि भन्दा पनि समाज परिवर्तनकै लागि लेखिन्थ्यो । अहिले कार्यान्वयन गर्ने ठाउँमा छु । रमाइलोको कुरा गर्दाखेरि त्यतातिरको रमाइलो छुट्टै थियो, यता बेग्लैखालको अनुभूति भइरहेको छ ।

हिजो अभाव वा विसंगतिका कुराहरु आज सकिएन है, भोलि लेखौं भन्दा पनि हुन्थ्यो, अहिलेचाहिँ यो कामलाई भोलि गरौंला भन्ने छुट छैन । तैपनि रमाइलै मानेर काम गरिरहेकी छु । रमाइलै छ, ठीकै छ । सानैदेखि संघर्ष गरेर आएको मान्छे भएकाले यहाँभित्र व्यस्तता र ठुल्ठुला चुनौतीहरु हुँदा पनि स्वभाविकै रुपमा लिइरहेकी छु ।

कस्ता चुनौती ?

यो उपप्रमुखको पदचाहिँ अत्यन्तै चुनौतिपूर्ण हुँदोरहेछ । पहिले त यस्तो होलाजस्तो लागेको थिएन । तर, यहाँभित्र आइसकेपछि अत्यन्तै ठूलो चुनौती र व्यस्तता महसुस भयो । यसले गर्दा व्यक्तिगत पाटोपट्टि फर्कनै नपाउने ।

उपमेयरका चुनौतीबारे कुरा गर्नुभन्दा पहिले तपाईको व्यक्तिगत विषयमा सोधौंं, तपाई बेलबारी नगरपालिकामै जन्मनुभएको हो ?

हैन । म भोजपुरको साविक साङपाङ गाविसमा जन्मेकी । अहिले षडानन्द नगरपालिका । मैले भोजपुरमा प्लस टुसम्म अध्ययन गरें । त्यसपछि ब्याच्लर पढ्न सुकुना ( बिराटचोक) झरें । डिग्री पनि यतै पढियो । त्यसपछि परिवार पनि यतै आउने भन्ने सल्लाह भयो र अहिले सबैजना बेलाबारी–११ लक्ष्मीमार्गमा बस्दै आएका छौं ।

नेकपाको राजनीतिमा कहिलेदेखि लाग्नुभएको कि ?

म त ७/८ कक्षामा पढ्दादेखि नै अखिलमा लागेकी हुँ । अहिले स्कुलहरुमा त्यस्तो देखिँदैन, मलाई अचम्म लाग्छ । हामी त अत्यन्तै सानैदेखि लागेका हौं । त्योबेलामा म खासगरी राम्रो गीत गाउँथें । गीत गाउने, नाच्ने सांस्कृतिक फाँट थियो हाम्रो जिम्मामा । त्योबेला हामी भोजपुर जिल्लाका धेरैवटा स्कुलहरुमा गएर संगठन विस्तार गथ्र्यौं । अहिले सम्झँदा आफैंलाई अचम्म लाग्छ, त्यो उमेरमा कसरी गरियो होला ! भाषण पनि गर्ने, गीत पनि गाउने, कविता पनि भन्ने, सबै गर्ने ।

मोरङको सुकुना कलेजमा पढ्दा स्ववियु चुनावमा पनि भाग लिनुभयो ? कि यो उपमेयरको चुनाव नै पहिलो अनुभव हो ?

चुनाव मेरो यो पहिलो नै हो । सुकुना क्याम्पसमा आइसकेपछि पनि अनेरास्ववियुलाई सहयोग गरियो । तर, त्योबेला मलाई अलि छुट्टैखालको अनुभूति भयो । यहाँ त्यति सक्रियरुपमा विद्यार्थीहरुले काम गरेको देखिनँ, जति हामी आठ/दश कक्षा पढ्दा भोजपुरमा गथ्र्यौं ।

मैले यता अनेरास्ववियु छ कि भनेर खोजें, तर साथीहरु चुनावका बेलामा मात्रै अलिअलि चहल–पहल हुने, अरुबेला पूरै सुस्त हुने । त्यही भएर मैले साथीहरुले खोज्छन् होला भनेर कुनै पद प्रतिष्ठाको पछि लागिनँ । आवश्यक परेका बेला सहयोग गरियो, अनि साहित्यतिर पनि सक्रिय भइयो ।

साहित्यतर्फ तपाईंका प्रकाशित सामाग्रीहरु केके हुन् ?

भर्खरै मञ्जरी पब्लिकेसनले ‘अर्को राजमार्ग’ कविता संग्रह प्रकाशित गरेको छ । त्यसअघि मेरा ४ वटा बालकथा प्रकाशित छन् ।

तपाईले नेपाली साहित्यमा डिग्री गर्नुभएको रहेछ, तर उपमेयर भएपछि न्यायाधीशजस्तो काम गर्नुपरिरहेको छ । कानून पढेको भए हुनेरहेछ जस्तो लाग्दैन ? न्यायिक समितिमा काम गर्दा कत्तिको सहज भएको छ ?

कानूनहरु नबनेका कारण राज्यमै एक प्रकारको जटिलता थियो । अझै पनि यो सबै समस्या हल भइसकेको छैन । तर, मलाई चाहिँ यो क्षेत्रमा अप्ठ्यारो महसुस पटक्कै भएको छैन । किनभने, अहिलेसम्म प्रदेश नम्बर १ मै सबैभन्दा धेरै मुद्दा आउने बेलबारी नगरपालिका नै हो शायद । तपाई आज दिनभरि यहाँ बस्नुभयो भने एक दिनमा सात/आठवटा मुद्दाहरु हाम्रोमा अनिवार्य आउँछन् । अरुतिर पनि यस्तै हुन्छ कि ? मलाई अचम्म लाग्छ ।

तर, मलाई यो क्षेत्रमा अहिले त बानी भइसक्यो । म सानैदेखि अध्ययन गर्न रुचाउने मान्छे । मैले ठूलो धनराशी किताबमा खर्च गरेकी छु । घरमै एउटा पुस्तकालय बनाएकी छु । त्यहाँ साहित्यदेखि लिएर राजनीति, कानून सबै विषयका किताबहरु छन् । पहिले पनि कानूनका किताबहरु अध्ययन गर्थें । अहिले त बाध्यता भयो, कानूनका किताबहरु पढें, त्यसपछि खासै जटिलताजस्तो लागेको छैन । सहजै छ काम गर्न ।

सूचना पाटीमा हेर्दाखेरि बेलबारीमा पति पत्नीवीचको झगडा धेरै आएजस्तो देखियो, समाजमा बढीजसो कस्ता प्रकृतिका झगडाहरु देखिन्छन् ?

पति पत्नीको झगडा भन्नेवित्तिकै यस्सो ठाक्कठुक्क होला, जाँड खाएर आउने श्रीमानसँगको झगडा होला, विदेश जानेहरुको समस्या होला वा सम्बन्ध विच्छेद होला भन्ने लाग्छ हामीलाई । तर, योभित्र ठूलो कथा रहेछ क्या ! योभित्रको अन्तरवस्तु चाहिँ ठूलो रहेछ । झगडा हुने कारणहरु अनेक रहेछन् । यो चाहिँ मैले यहाँ आएर थप बुझें ।

जस्तै ?

तपाईलाई म एउटा उदाहरण दिन्छु– नाम नभनौं । एउटा केटाको परिवारले मलाई फोन गर्‍यो । उनले भने– मेरी श्रीमतीले एउटा केटासँग फोटो खिचेर मलाई फोटो पठाई, मैले यो केटासँग बिहे गरिसकें, तँ आफ्नो खुशी गर् भनेर फोटो पठाई, अब के गर्नु ?

मैले भोलि नगरपालिकामा आउनू भनें । भोलिपल्ट उहाँहरु आउनुभयो र फोटोहरु देखाउनुभयो । झट्ट हेर्दा समाजलाई पाच्य नहुनेखालको फोटो थियो ।

त्यसको केहीपछि ती महिलाले नगरपालिकामा आएर निवेदन हालिन् । ममाथि अन्याय भयो, मैले जिस्कँदै एउटा साथीसँगको फोटो हालेकी थिएँ भनिन् ।

यो घटनाको अन्तरवस्तु बुझ्दै जाँदा के रहेछ भने केटाचाहिँ नेपाली सेनामा काम गर्ने । उनी पेन्सन पकाएर घरमा आइसकेका । उनले आफ्नो जागिर अवधिभरको पैसा श्रीमतीलाई दिएका रहेछन् । अलिकति जग्गा किनेको पनि केटीकै आफन्तका नाममा बकस गरिएको रहेछ । आफ्नो दाजुभाइसँग बाँड्नु नपरोस् भनेर त्यसो गराइएको रहेछ । अर्कोपटक जग्गा किन्दा सासूका नाममा पास गरिदिएको रहेछ । बैंक ब्यालेन्स पनि सबै केटीकै नाममा गरिएको रहेछ ।

अहिले उनीहरुको डिभोर्स हुने अवस्था आयो । अब तपाई आफैं कल्पना गर्नु न, योबेलामा केटाले के पाउँछ ? जिन्दगीभरि संघर्ष गरेको उसका हातमा के आयो ? कानूनीरुपमा जाने हो भने त केही आउँदैन ।

मैले यो प्रशंग किन जोडेको हो भने यो ठाउँमा बसिसकेपछि कतिपय घटनामा कानूनी कुरालाई मात्रै हेरेर नहुने रहेछ, व्यवहारिक कुराहरु पनि हेर्नुपर्ने रहेछ । न्यायिक मनको प्रयोग गर्नुपर्ने रहेछ । हामीले उनीहरु जेसुकै गरुन् भनेर छाडिदिने हो भने त एउटा मानिस त एकदमै ठूलो अन्यायमा पर्नेरहेछ ।

भनाइको मतलव, न्यायिक समितिमा बसिसकेपछि म महिला हुँ, महिलाको पक्षमा मात्रै लविङ गर्छु भनेर नहुँदोरहेछ भन्न खोज्नुभएको हो ?

विल्कुलै । हामी महिलाहरु धेरै पीडित छौं भन्छौं । धेरै ठाउँमा त्यो पीडा छ पनि । तर, सबै ठाउँमा महिलामात्रै पीडित छन् भन्ने पनि होइन । पुरुषहरुले पनि ठुल्ठुला पीडाहरु भोगिराखेका छन् । तर, कतिपय ठाउँमा महिलाहरुले जति सजिलै यसलाई बाहिर ल्याउन सक्छन्, पुरुषहरुले सक्दैनरहेछन् । उनीहरुको इज्जत, इमान, प्रेस्टिज, विभिन्न कुराले पनि त्यो अप्ठ्यारो हुन्छ क्यारे । तर, उनीहरुका समस्या सुनिसक्दा पत्याउनै मुस्किल हुन्छ ।

तपाईको बेलबारी नगरपालिकामै एकजना नेकपा कार्यकर्ताले प्रेमिकालाई हत्या गरेर सप्तकोशीमा फालेको समाचार देशैभरि फैलिएको छ । तपाईलाई कस्तो लाग्छ, अहिले परिवार र समाजमा विश्रृंखलता बढेको हो ?

व्यक्तिले आफ्नो भूमिकालाई बिर्सियो । परिवारमै पनि हरेक व्यक्तिले आफ्नो भूमिका के हो भनेर एउटा रेखा भन्दा बाहिर गएन भने यस्ताखालका घटनाहरु हुँदैनन् ।

जहाँसम्म बेलबारीमा हालै भएको जघन्य हत्याको घटना छ, यो अपराधिक कार्यको जति निन्दा गरे पनि थोरै हुन्छ । यस्ता अपराधीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्छ, ताकि फेरि अन्य घटना समाजमा हुन नपाउन् ।यो हत्यासम्बन्धी घटनाको अनुसन्धान र तहकिकात प्रहरी एवं अदालतले गर्ने भएकाले बेलाबारीमा भएको यस घटनाको कारवाही प्रक्रिया सम्बन्धित ठाउँबाट अघि बढिरहेको छ र हामीले यसमा निगरानी गरिराखेका छौं ।

हुन त कानूनले समाजमा हुने अपराधका घटनालाई कारवाहीको दायरामा ल्याउँछ । तर, नगरपालिकाका जनप्रतिनिधिहरु त कानूनी मात्रै नभएर राजनीतिक व्यक्तित्व पनि हुन् । त्यसैले समाजमा अपराधका घटना नै हुन नदिनका लागि भूमिका खेल्नुपर्छजस्तो लाग्दैन ?

समाज र परिवारमा विवादहरु किन आए, त्यसको जड वा मुहानसम्म पुग्नुपर्‍यो भन्ने संकेत हो तपाईको । विल्कुल हामी त्यतातिर पनि लागेका छौं । समस्याको कारक के हो, त्यतातिर पनि जानुपर्छ । जति मुद्दाहरु आउँछन्, यहाँबाट छिनिरहने, फैसलाहरु गरिरहने, त्यसरी मात्रै हुँदैन ।

यहाँका युवापिँढीलाई नैतिक चरित्रवान बनाउनका निम्ति, सभ्य नागरिक बनाउनका निम्ति सचेतनामूलक कार्याक्रमहरु लैजानुपर्छ भन्ने पछिल्लो घटनाहरुले पाठ सिकाएको छ । जस्तो– किशोरी शिक्षाको आयोजना गर्ने । किशोर –किशोरीहरुलाई बेग्लैखालको शिक्षाका कार्यक्रमहरु ल्याउनुपर्छ भन्ने मलाई पनि महसुस भइरहेको छ ।

समाजलाई सही गतिमा ल्याउनका लागि कार्यक्रमहरु पनि ल्याउनुपर्छ भनेर हामीले सचेतनासम्बन्धी कार्यक्रमहरु पनि ल्याएका छौं । व्यक्तिलाई नैतिवान्, चरित्रवान बनाउनेखालका कार्यक्रमहरु पनि ल्याएका छौं । अहिलेसम्म हामीले ९ सयभन्दा बढी महिलालाई तालिम दिएका छौं ।

उत्पादनसँग नजोडिएर धेरै महिलाहरु परनिर्भर भएकाले पनि हिंसा धेरै भएको छ । त्यसैले महिलालाई आत्मर्निभर बनाउनुपर्छ । महिलाहरुलाई आफूमाथि भएको हिंसाको प्रतिरोध गर्नुपर्छ भन्ने चेतना जगाउनका लागि हामीले कार्यक्रमहरु ल्याएका छौं ।

तर, यस्ता तालिमहरु भत्ता पचाउनेखालका मात्रै हुन्छन्, उपलब्धि कम हुन्छ भन्ने आरोप लाग्ने गरेको छ नि ? समाजमा यस्ता तालिमहरुले के बदलाव ल्याएको छ र ?

सीपमूलक तालिमहरुमा चाहिँ कतिपय अववस्थामा त्यस्तो पनि देखिएको छ । कम से कम हामीले दिएको तालिम उहाँहरुले कार्यान्वयन गर्न सक्नुपर्ने हो । हामीले सिकाएको सीपले तपाईको जीवनमा परिवर्तन आउनुपर्छ भनेर हामी तालिम दिन्छौं । तर, धेरै ठाउँमा त्यो कार्यान्वयन हुन सकेको छैन ।

तर, सचेतनामूलक कार्यक्रमहरु चाहिँ धेरै ठाउँमा व्यवहारमा लागू भएको पाइएको छ । हामीले तालिम दिइसकेपछि निगरानी पनि गर्न थालेका छौं । जस्तो–हामी श्रीमान–श्रीमतीका मुद्दाहरु मिलाउँछौं र त्यत्तिकै चुप लागेर बस्दैनौं । मेरा कर्मचारीले त्यहाँ गएर सम्बन्ध सुधार भएको छ कि छैन भनेर बुझ्ने गर्नुभएको छ । कतिपय त तपाईले हामीलाई जादु नै गरिदिनु भयो भनेर आफैं आउनुहुन्छ ।

पति–पत्नीवीचको झगडा कसरी मिलाइदिनुहुन्छ ?

हाम्रो फाइलमा ७० प्रतिशत मुद्दाहरु छन् । अरु रेकर्डमा छैनन् । यहाँ अदालतसम्म जाने पहुँच नभएकाहरु आउँछन् । सुरुमा निवेदन दिनुपर्छ, निवेदन दिने पैसा हुँदैन । एकसय रुपैयाँ लाग्छ । थोरै राजस्व पनि काट्ने गरेको छ, कर्मचारी पठाउनुपर्ने हुन्छ । त्यो अवस्थामा निवेदन दर्ता नगरी व्यवहारिकरुपमै हेर्छौं । वालवालिका, ज्येष्ठ नागरिकका समस्या व्यवहारिकरुपमै मिलाउँछौं । त्यसैले ७० प्रतिशतमात्रै रेकर्डमा देखिन्छ । अस्तिमात्रै एकै दिनमा ४ वटा मुद्दाहरु रेकर्डविनै मिलाइदियौं ।

हामी दुबै पक्षलाई यहाँ बोलाउँछौं, कतिलाई फोनमै पनि समाधान गरेका छौं । कतिपय चाहिँ आफूले गरेका गल्ती लुकाउन र ढाकछोप गर्नका लागि पीडकहरु नै उजुरी लिएर आउने गरेका छन् । कतिपयमा धेरै नै ठूलो दरार छ भने त्योभित्र मिलाइदियो भने अर्को दुर्घटना बढ्न सक्छ, त्यस्तो अवस्थामा हामी जबर्जस्ती मिलाउँदैनौं ।

हामीले चुनावमा ठाउँ–ठाउँमा भाषण गर्दाखेरि म न्यायिक समितिमा बसेर मुद्दामात्रै हेर्छु भनेर चुनाव जितेको होइन । मेयरले छुट्याएको बजेटमा अनुगमन गर्नुमात्रै भनेर त हामी आएका हैनौं नि !

बेलबारी नगरपालिकामा पक्कै पनि स्रोत साधनको अभाव छ होला । नयाँ बजेट बनाउने बेला हुन लागेको छ । बाटोघाटो लगायत विकासका मागहरु प्रशस्तै होलान् । यस नगरपालिकाको अवस्था कस्तो छ ?

यो प्रशंगसँग जोडेर तपाईलाई एउटा कुरा भनिहाल्न मन लाग्यो, स्थानीय तहमा उपप्रमुखका कामहरु ८/१० वटा छन् भनेर तपाईहरुले अध्ययन गर्नु नै भएको छ । न्यायिक समिति, अनुगमन समिति, गैरसरकारी संस्थाहरुको रेखदेखदेखि लिएर विभिन्न कामहरु उपमेयरको काँधमा छ । मलाई कुनै–कुनै बेलाचाहिँ के लाग्छ भने म आफैं अन्यायमा छु, कसरी अरुलाई न्याय दिनु ? र, पनि अरुलाई न्याय दिइरहेको छु जस्तो पनि लाग्छ ।

किन तपाईलाई आफैं अन्यायमा परेकी छु जस्तो लागेको ?

किनभने नि, यत्ति धेरै मुद्दाहरुको चाप छ । कामको चाप छ । आज ६/७ वटा योजनाहरुको अनुगमन गर्न जानु छ । आज तीनवटा मुद्दा पनि हेर्नु छ । यस्तो अवस्थामा उपमेयर आफ्नै काममा, आफ्नै गतिमा छ भनेर उतातिर विकास निर्माणको काममा चाहिँ हामीलाई बाइपास गरेजस्तो महसुस हुन्छ । योचाहिँ मेरो मात्र समस्या हैन, देशभरिका उपप्रमुखहरुको समस्या हो ।

हामीले कतिबेला मुद्दा हेर्ने, कतिबेला अनुगमनमा जाने भन्ने समय छुट्याएका हुन्छौं । तर, पुरानै मानसिकता छ , उपप्रमुखको कामचाहिँ बजेट, विकास र पूर्वाधार निर्माणको काममा सामेल नै नगराए पनि हुन्छ भन्ने सोचाइ अहिलेका नेतृत्वकर्ताहरुमा पनि छ । यसमा देशभरका उपप्रमुखहरुलाई बाइपास गरिएको छ । यसमा हामीलाई दुःख लाग्छ  । घरिघरि हामी अत्यन्तै ठूलो अन्यायमा छौं भन्ने लाग्छ । तर, आफूहरू यत्रो अन्यायमा परे पनि हामीले सारालाई न्याय दिइरहेका छौं । मैले कोही व्यक्तिलाई लक्षित गरेर भन्न खोजेको होइन, यो देशभरिकै स्थानीय तहको समस्या हो ।

निर्वाचनताका उम्मदेवार भएर ठाउँ–ठाउँमा भाषण गर्दाखेरि हामीले खानेपानी, बाटोघाटो, बिजुली, विद्यालयको सुधार,पार्टी पौवा निर्माण इत्यादि गर्छौं भनेका थियाैं । अनुगमन गर्न मात्रै भनेर हामी आएका हैनौं । तर, अहिले  कतिपय अवस्थामा उपमेयर/उपाध्यक्षहरूलाई महत्वपूर्ण सूचना पनि प्राप्त हुँदैनन्, जसले गर्दा अन्य काममा समेत अवरोध भइरहेकाे हुन्छ । अर्को बजेटकाे कुरा गराैं, ताेकादेश जस्ता कुराहरूमा देशभरका उपप्रमुखहरूलाई बञ्चित गरिएकाे छ भन्ने गुनासो उपप्रमुख/उपाध्यक्ष साथीहरूबाटै  आइरहेकाे छ । यसलाई हामीले विभेदका रूपमा बुझेका छाैं ।

तपाई त कवि मान्छे, कविता गोष्ठीहरुमा कत्तिको अल्मलिनुहुन्छ ?

यतै नजिकै भइहाल्यो भने कहिलेकाहीँ जान्छु, नभए टोटल्ली जान बन्द गरेकी छु । तर, नेपाली लेखक साहित्यकारहरुमा ठूलो चिन्ता के छ एउटा राम्रो सम्भावना बोकेको साहित्यकार चाहिँ हरायो । हाम्रो समूहबाट लोप हुन्छ कि भन्ने चिन्ता चाहिँ ठूलो छ हाम्रा लेखक साहित्यकारहरुमा । मलाई पटक–पटक फोन गरेर, सामाजिक सञ्जालहरुमा साथीहरुले गुनासो गरिरहनुहुन्छ । लेख्नचाहिँ नछोड्नुहोला भनेर साथीहरुले सुझाव सल्लाह दिइरहनुहुन्छ ।

उपमेयर भएपछि पनि साहित्य लेख्दै हुनुहुन्छ कि ?

जब म अन्यायमा छु, भन्ने लाग्छ, त्यसबेला लेख्छु । ४/५ वटा कविता लेखेकी छु । एउटा कथा आधा लेखेकी छु । तर, योबेला जे भोगेकी छु, त्यहीमात्रै लेख्न मन लाग्दोरहेछ । खास लेखिएको छैन भन्दा हुन्छ । अहिले लेख्ने वातावरणै छैन ।

तर, अब पाँच वर्षपछि प्रकाशन गर्ने गरी ‘अक्करमा पाँच वर्ष’ लेख्दैछु । यो पाँच वर्षे जनप्रतिनिधिको अनुभव र संघर्षलाई समेटेर पुस्तक लेख्ने ‘कन्सेप्ट’ बनाएकी छु । दैनिक परिघटनाहरुको फेहरिस्थ टिपेर राख्ने गरेकी छु, पाँच वर्षपछि त्यसैलाई पुस्तकको आकार दिन्छु ।

यो पनि पढ्नुहोस् : महिलापीडित पुरुष पनि धेरै रहेछन् : उपमेयर सुशीला पाख्रिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment