Comments Add Comment

भूकम्पले भत्काएको ६१‍.९ किमी सडक बन्यो

खानेपानी आयोजना पुनःनिर्माण सुस्त

१२ वैशाख, काठमाडौं । भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।

निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो ।

पाँचवटै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले जानकारी दिए ।

भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनःनिर्माणका लागि एडीबीले सहयोग गरेको छ । बाह्र सडक आयोजनाको ३०१ किमीको काम चालू आवमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनःनिर्माण गर्ने उनले सुनाए ।

गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पुर्याएको थियो । ३८ वटा सडक आयोजनाको ७०७ किमी पुनःनिर्माण जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षति भएका ४२ सडकको ३१६ किमीको काम शुरु हुन बाँकी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ ।

आर्थिक वर्ष २०७६–२०७७ सम्म ८० प्रतिशत र आव २०७७–२०७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । भूकम्प प्रभावित २१ जिल्लाका सडक आयोजनाको पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण अझै शुरु हुन नसकेको उपनिर्देशक श्रेष्ठले स्वीकारे ।

केही विदेशी संस्थाले सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएकाले काम शुरु हुन नसकेको हो । भूकम्प गएको चार वर्ष पुग्दा पनि ती संस्थाले काम शुरु नगरेकाले एकाईले नै गर्ने गरी प्रस्ताव अघि बढाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रका सडकका पुल हालसम्म पुनःनिर्माण हुन सकेको छैन । करीब एक दर्जन पुल पुनःनिर्माण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको एकाईले जनाएको छ । केही पुल पुनःनिर्माणको प्रस्ताव स्वीकृत भई आउने जानकारी आएको एकाई प्रमुख गणेशराज वस्तीले सुनाए ।

क्षतिग्रस्त २६२ सरकारी भवन पुनःनिर्माण

भूकम्पले भत्किएका २६२ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनुपर्ने तथ्याङ्क छ । १४५ भवन पुनःनिर्माण भइरहेको छ । आठ वटा सरकारी भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

हालसम्म ६३ प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६–२०७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७–२०७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

खानेपानी आयोजना पुनःनिर्माण सुस्त

भूकम्पको चार वर्ष बित्दा पनि मानवीय जीवनका लागि अत्यावश्यक खानेपानीका संरचना पुनःनिर्माणले भने गति लिन सकेको छैन ।

भूकम्पले क्षति पुगेका तीन हजार २१२ खानेपानी आयोजनामध्ये हालसम्म ७९१ को मात्र पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यो कूल क्षति भएकामध्ये २५ प्रतिशत मात्र हो । हाल ६७० आयोजना पुनःनिर्माण भइरहेका छन् । अझै एक हजार ७५१ आयोजना पुनःनिर्माण हुन सकेको छैन । वैशाख ८ गतेसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्क अनुसार ५५ प्रतिशत खानेपानी आयोजना बनाउने सुरसार छैन ।

आधा बढी विद्यालय भवन पुनःनिर्माण

भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये चार हजार २५३ को पुनःनिर्माण सम्पन्न भएको छ । हाल दुई हजार १३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १६९ विद्यालय भवन अझै पुनःनिर्माण शुरु हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसैगरी भूकम्पले ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४५६ कक्षा कोठा पुनःनिर्माण सम्पन्न भएको छ । १८ हजार ५५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६७५ कक्षा कोठा अझै बन्न सकेको छैन ।

भूकम्पले क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । सात क्याम्पस भवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment