Comments Add Comment

यी हुन् गण्डकी प्रदेशका परिवर्तनकारी ३२ योजना, लगानीको खोजी

१८ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले अहिले केही ठूला आयोजनाको पहिचान गरेर सोधखोज गर्दैछ, को हुन सक्ला सम्भावित लगानीकर्ता ? नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको गृहकार्य भइरहेका बेला प्रदेशकै परिवर्तनकारी ३२ आयोजनाको पहिचान गरी लगानीकर्ताको खोजीमा प्रदेश सरकार छ ।

प्रदेश सरकारले प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसदसँगको छलफलपछि ३२ ठूलो आयोजनाको पहिचान गरेको छ । ८ वटा मुख्य र बाँकी अन्य गरी प्रदेशको विकास र समृद्धिको आयोजना छनोट गरिएको छ ।

पहिचान भएका आयोजना केही सुरुकै नीति तथा कार्यक्रम र बजेटलेसमेत सम्बोधन गरिसकेका छन् भने केही नयाँ पहिचान गरेको छ । ‘सरकारले पहिचान गरेका यी आयोजनाले प्रदेश रुपान्तरणकारी हुने विश्वास लिइएको छ,’ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले भने, ‘ती आयोजनामा प्रदेशले आफैं लगानी गर्न सक्ने अवस्था छैन । त्यसमा संघको सहयोग र निजी तथा वैदेशिक लगानी चाहिन्छ ।’

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशले पहिचान गरेका योजनामा संघ, निजी क्षेत्र र वैदेशिक लगानीसमेत आवश्यक पर्ने बताउँछन् ।

पहिचान गरेका आयोजनामा लगानी भित्र्याएर प्रदेश सरकारी लक्ष्य प्राप्त गर्ने सपना प्रदेश सरकारले देखेको छ । झन्डै ३ खर्बको प्रदेश अर्थतन्त्रलाई ५ वर्षमा ५ खर्बको बनाउने लक्ष्य सरकारको छ । वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा माथि पुर्‍याउने, अहिले १४ प्रतिशत रहेको गरिबीलाई ७ प्रतिशतमा झार्ने, मातृ मृत्युदर प्रतिलाख जीवित शिशु जन्ममा २ सय ३९ छ त्यसलाई १ सय ७० मा झार्ने गण्डकी प्रदेश सरकारको लक्ष्य छ ।

सरकारले पहिचान गरेका आयोजनामा लगानी भित्र्याउन सक्ने हो प्रदेशको कायापलट नै हुन सक्ने मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङको विश्वास छ । ‘पहिचान भएका ठूला आयोजनामा लगानी भित्रिँदा रोजगारी, उत्पादन, पर्यटन, ऊर्जा हरेक क्षेत्रमा योगदान पुग्छ,’ मुख्यमन्त्रीको विश्वास छ, ‘हामी आफैं लगानी गर्न सक्ने आयोजनामा लगानी गछौं, त्यसको छुट्टै कार्यक्रम छ । हामीले लगानी गर्न नसक्ने क्षेत्रमा निजी क्षेत्र, संघीय सरकार र वैदेशिक लगानीकर्तासहित चाहिन्छ ।’

पहिचान भएका प्रदेशका परिवर्तनकारी आयोजना

१. कालिगण्डकी करिडोरमा म्याग्दीको दानादेखि मुस्ताङको छुसाङसम्म १ सय ३२ केभीए विद्युत ट्रान्समिसन लाइनको विस्तार ।

२. मस्याङ्दी नदी करिडोरमा लमजुङको बेंसिसहरदेखि मनाङको चामेसम्म २ सय ३२ केभीए विद्युत ट्रान्समिसन लाइनको विस्तार ।

३. बुढीगण्डकी करिडोरमा २ सय ३२ केभिए विद्युत ट्रान्समिसन लाइनको विस्तार ।

४. पोखरा बुटबल सिद्धार्थ राजमार्गको चार लेनमा स्तरवृद्धि ।

५. पोखरा मुग्लिन पृथ्वीराजमार्गको चार लेनमा स्तरवृद्धि ।

६. पोखरा, भीमाद, डेढगाउ, झ्यालबास, दुम्कीबास, त्रिवेणी द्रुतमार्ग निर्माण, तनहुँ हुँदै नबलपुर

७. पालुङटारमा औद्योगिक क्षेत्रको स्थापना

८. शालिग्राम सांस्कृतिक मार्ग (देबघाट, कोटा, खाल्टे, पुटाटार, चापाकोट, सेतीबेनी) तनहुँ, स्याङ्जा, पर्वत

अन्य प्राथमिकताका आयोजनाहरु

९. बुढीगण्डकी जलविद्युत आयोजना, गोरखा

१०. उपल्लो मस्यांङ्गदी जलबिद्युत आयोजना, लमजुङ

११. आँधीखोला जलसाययुक्त आयोजना, स्याङ्जा

१२. कालिगण्डकी एकीकृत आयोजना, पर्वत

१३. उत्तरगंगा जलशाययुक्त जलबिद्युत आयोजना, ढोरपाटन बाग्लुङ

१४. मादी जलविद्युत आयोजना (कोलेनी) कास्की, लमजुङ र तनहुँ

१५.अन्तर्राष्ट्रिय स्तरको प्रदेश रंगशाला, कास्की

१६ प्रदेश विश्वविद्यालय, तनहुँ

१७. गण्डकी प्राविधिक महाविद्यालय, फेदीखोला स्याङ्जा

१८. कृषि प्रशोधन उद्योग (जुस, टेक्सटायल, खाद्य मिल, मासु प्रसोघन, दुग्ध पदार्थ प्रशोधन)

१९. विशिष्टिकृत सेवासहितको महिला तथा बाल अस्पताल, कास्की

२०. तनहुँ हाइड्रो (तल्लो र माथिल्लो)

२१. एकीकृत मुटु, मृगौला र अर्बुद रोग अस्पताल, कास्की

२२. एक हजार बेडको प्रदेश अस्पताल, कास्की

२३. बहुसांस्कृतिक ग्राम, पाङ्दुरकोट, कास्की

२४. पोखरा महानगरपालिकमा रिङरोड, कास्की

२५. गण्डकी गाई फार्म, (ठाउँ पहिचान गर्ने काम भइरहेको)

२६. नवलपुरको धवाडिमा स्टिल कारखाना, हुप्सेकोट गाउँपालिका सूूस्ता पूर्व नवलपरासी

२७. कालिगण्डकी नियन्त्रण (लेतेदेखि छुसाङ) आयोजना, मुस्ताङ

२८. उच्च भूभाग खेल मैदानको निर्माण, मुस्ताङको बाहगाउ मुक्तिक्षेत्र गाउँपालिका

२९. अन्तर्राष्ट्रिय स्तरको गल्फ खेल मैदानको निर्माण, कास्कीको जौबारी, लामाचौर

३०. अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण, कास्कीको पशुपतिघाट

३१. चरङमा आन्तरिक विमानस्थलको निर्माण, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ

३२. पोखरा पञ्चासे, श्रवणकुमार, अन्धाअन्धी, डहरे साइकल मार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment