Comments Add Comment

‘होटल व्यवसायलाई अत्याधिक करले पिर्‍यो’

होटल व्यवसायीहरुको संगठन होटल संघ नेपाल (हान) को हालै सम्पन्न अधिवेशनले अध्यक्षमा सिर्जना राणालाई चयन गरेको छ । होटल अन्नपूर्णकी कार्यकारी निर्देशक राणा हानको इतिहासमै पहिलो महिला अध्यक्ष हुन् ।

पोखरामा फिस्टेल लज र चितवनमा जगतपुर लजसमेत सञ्चालन गर्दै आएकी राणा यसअघि एशोसिएसनकी वरिष्ठ उपाध्यक्ष थिइन् । एउटा चर्चित र सफल पाँचतारे होटलको नेतृत्व गरिरहेकी राणाको काधमा अब सिंगो संघको नेतृत्व आइपरेको छ ।

हानमा इतिहास रच्न सफल राणा आत्मविश्वासले भरिएकी व्यवसायी हुन् । महिला भएको कारण नभई क्षमता भएको कारण अध्यक्ष बनेको बताउने राणाले आफ्नो नेतृत्वमा एशोसिएसनलाई थप उचाईंमा पुर्‍याउने लक्ष्य सुनाइन् ।

होटल क्षेत्रमा अझै धेरै चुनौतीहरु रहेको ठान्ने उनले सरकारसँगको सहकार्यमा चुनौतीको सामना गर्ने योजना बुनेकी छिन् । । प्रस्तुत छ, उनै राणासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

होटल एसोसिएसनको नेतृत्व लिनुभएको छ, एसोसिएसनलाई कसरी अघि बढाउनुहुन्छ ?

यस संघको अध्यक्ष पद सम्हालेपश्चात् थप दायित्व तथा जिम्मेवारी बोध भएको मैले महसुस गरेको छु । राष्ट्रको राजनीतिक उथलपुथल तथा उतारचढावका कारण असर परेको पर्यटन तथा होटल व्यवसायलाई पुनरुत्थान गर्ने मेरो प्रमुख ध्येय हो । संघको पदभारसँगै गाँसिएर आउने चुनौतीहरुको सामना गर्दै यसलाई पर्यटन क्षेत्रको बलियो तथा प्रभावशाली संगठनमा परिचित गराउने योजना छ । संघमार्फत पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याउने सोच राखेकी छु ।

योजनाको कुरा गर्नुपर्दा पर्यटन क्षेत्रमा केही नयाँ परिवर्तन ल्याउनु अनिवार्य देखिएको छ । पर्यटन क्षेत्र तथा होटल व्यवसायलाई लिएर बनेका नेपाल सरकारका विद्यमान नियम-कानूनहरुलाई प्रभावकारी रुपमा लागू गरिनु पर्छ भन्नेमा मेरो जोड रहनेछ ।

एसोसिएसनको इतिहासमै पहिलो महिला अध्यक्ष बनिरहँदा कत्तिको दबाव महसुस गर्नुभएको छ ?

संघको पहिलो महिला अध्यक्ष पदमा नियुक्ति हुन पाउनु साँच्चै नै मेरा लागि गर्वको कुरा हो । तर कुनै पद प्राप्त गर्ने व्यक्ति महिला वा पुरुष जो भएपनि आफ्नो सक्षमतामा विश्वास गर्नुपर्छ । आफ्नो दायित्व पूरा गर्न सक्नु पर्छ । शारिरीक बनावटले लक्ष्य प्राप्ती हुने नभई आफ्नो काम तथा कर्तव्य प्रतिको लगाव, झुकाव, मेहेनतका कारण सफल भइने हो ।

ममाथि यस क्षेत्रको विकास र प्रगतिको चुनौती छ । सहज त छैन तर, असम्भव पनि होइन । कुनै चिज प्राप्त गर्न इच्छा गरेर मात्र हुँदैन, त्यसका लागि डटेर लाग्नु पर्छ भन्ने मलाई लाग्छ । त्यसैले मेरो कार्यकालकमा बनेका योजनाहरु सफल तुल्याउने अठोट छ ।

तपाई यो क्षेत्रमा कसरी लाग्नु भयो, संक्षेपमा बताइदिनोस् न

म सानैदेखि किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञान लिन रमाउने मान्छे हो । पछि मैले होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरेँ । यसमै रुचि तथा लगाव बढ्दै गयो । र, अहिलेसम्म पनि यही क्षेत्रमै क्रियाशील छु । मलाई लाग्छ पछिसम्म यही क्षेत्रमा रहने छु । मेरो पेशा मात्र नभएर रुचि पनि होटल व्यवसाय हो । आफ्नो रुचिको क्षेत्रमा ठोस योगदान पुर्‍याउन आतुर छु ।

नेपालमा होटल क्षेत्रका चुनौती र सम्भावनाहरु के-के देख्नुभएको छ ?

होटल व्यवसायीको चुनौतीहरुको कुरा गर्नुपर्दा मुख्यत राजनीतिक परिस्थिति हो । राजनीतिक अन्योलले गर्दा होटल व्यवसाय र पर्यटन क्षेत्रमा निरन्तर प्रभाव परिरहेको छ । सरकारले पर्यटनसम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सकिरहेको अवस्था छैन ।

साथै दुर्गम तथा पर्यटकीय स्थलमा विकासका पूर्वाधारहरुको कमी तथा नेपाल सरकारबाट यस क्षेत्रमा लगाइएको अत्यधिक कर आदिले पनि चुनौतीहरु बढाएका छन् ।

यसका बाबजुद मैले यस क्षेत्रमा अत्यधिक सम्भावनाहरु देखेको छु । हाम्रो देशको सातै वटा प्रदेशको कुना काप्चा तथा दुर्गम स्थानमा प्रख्यात रहेका रितिरिवाज, चालचलन, धर्म संस्कृति आदिलाई विश्वसामु चिनाउन सके पर्यटकीय क्षेत्रमा टेवा पुर्‍याउन सकिन्छ । विशेष गरी रैथाने तथा स्थानीय खानाका परिकारहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके पर्यटकीय क्षेत्रको विकास राष्ट्रको आर्थिक उन्नति सहज हुन्छ ।

व्यवसायको मूल समस्याहरु भन्नु पर्दा मुख्यत विकासका पूवार्धारहरुको अभाव, मार्केटिङ्ग प्रभावकारी नहुनु, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्न नसक्नु, उपयुक्त प्रशिक्षण तथा यससम्बन्धी ज्ञानको अभाव, यस क्षेत्रको मूल्याङ्कन तथा विश्लेषणको कमी आदि हुन् ।

यो क्षेत्रमा सुधार गर्नुपर्ने केही त्यस्ता विषयहरु छन् ?

सुधार गर्नैपर्ने विषयवस्तुहरु त धेरै नै छन् तर, विकासका पूवार्धारहरुको अभाव, प्रभावकारी मार्केटिङ, अन्तर्राष्ट्रियस्तरको सेवा-सुविधा, उपयुक्त प्रशिक्षण तथा यससम्बन्धी ज्ञान, समयसमयमा यस क्षेत्रको मूल्याङ्कन तथा विश्लेषण, पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन, माग भएबमोजिमको पर्यटकीय सेवा सुविधाको सुलभता आदि सुधार गर्नुपर्ने देखिन्छ ।

मैले माथि पनि उल्लेख गरिसकेँ कि होटल व्यवसायलाई चुस्तरुपमा अघि बढाउन सर्वप्रथमतः नेपाल सरकारले बनाएका नियम, कानून तथा अन्य व्यवस्थाहरु लागू गर्नुपर्‍यो । होटल व्यवसायलाई अन्य व्यवसायभन्दा उच्च प्राथमिकतामा राखेर यस क्षेत्रको विकास, प्रवर्द्धन, तथा उत्थानका साथसाथै यस व्यवसायमा देखा पर्न सक्ने चुनौती आदिलाई ध्यानमा राखेर शान्ति, सुरक्षासमेत कायम गर्न सक्नुपर्छ ।

सरकारबाट के अपेक्षा गर्नुभएको छ ?

पर्यटन तथा होटल व्यवसायको विकासको मूल साँचो नै सरकारसँग रहन्छ भन्ने मैले बुझेको छु । त्यसैले सरकारद्वारा जारी गरिने नीति-नियमले यस क्षेत्रको भविष्य निर्धारण गर्छ ।

सरकारले बनाएको नीति, नियम र कानूनले यस क्षेेत्र तथा होटल व्यवसायीलाई कुनै पनि तरिकाले नकारात्मक असर नपर्ने गरी नीति-नियमको तर्जुमा गर्नु पर्दछ । साथै पर्यटन तथा होटल व्यवसायलाई प्राथमिक विषय तथा क्षेत्रमा राखेर सोहीअनुसार नीति-नियम कार्यान्वयन गर्नुपर्छ ।

सरकारसँग मेरो अपेक्षा मात्र नभएर हृदयदेखि नै अनुरोध छ कि होटल व्यवसायलाई मुख्य व्यवसाय अन्तर्गतमा राखेर समयसमयमा पुनरावलोकन गरिनु पर्छ । होटल व्यवसायको विभिन्न पक्षमा तोकिएको अधिकतम करबारे पुर्नविचार गरिनुपर्छ । होटल व्यवसाय एउटा व्यवसाय मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने एउटा माध्यम भएकाले यस क्षेत्रलाई प्राथमिकतामा दिई सोहीअनुसार नियम कानूनको व्यवस्था गरिनु पर्छ ।

अन्त्यमा, तपाईंको अन्तनपूर्ण होटलका नयाँ योजना के छन् ?

होटल अन्नपूर्णको नयाँ योजनामा आगन्तुक पाहुनाहरुलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गरी पर्यटकहरुको संख्या बढाउने र अन्य सेवामूलक कार्यहरु नै रहेका छन् । होटलको सेवा सुविधालाई कसरी विस्तृत गर्ने भन्ने योजना भइरहेको समेत जानकारी गराउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment