+
+
Shares

भ्रमण वर्ष संयोजकले गरे एक वर्ष सगरमाथा आरोहण रोक्ने प्रस्ताव

अच्युत पुरी अच्युत पुरी
२०७६ असार १९ गते १८:५७

१९ असार, काठमाडौं । यस वर्ष सगरमाथा आरोहणमा भएको भिडभाडलाई लिएर नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले एक सिजन सगरमाथा आरोहण रोक्ने प्रस्ताव गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार केही दिन अगाडि उक्त प्रस्ताव लिएर वैद्य प्रधानमन्त्री समक्ष पुगेका थिए । अहिले पर्यटन मन्त्रालयको नेतृत्व स्वयम प्रधानमन्त्रीसँग छ ।

वसन्तकालिन सिजनमा सगरमाथामा आरोहीको उच्च चाप भएको विषयमा प्रधानमन्त्रीको यूरोप भ्रमणका समयमा बीबीसीले प्रधानमन्त्रीको अन्तरर्वार्ता समेत गरेको थियो । सोहीकारण सन् २०२० मा सगरमाथा आरोहण बन्द गर्ने प्रस्ताव लिएर संयोजक वैद्य प्रधानमन्त्री समक्ष पुगेका हुन् । उनले एक वर्ष आरोहण रोकेर सगरमाथामा सरसफाइ अभियान संचालन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

तर, प्रधानमन्त्री भने यस प्रस्तावमा सहमत नभएको स्रोतको भनाइ छ । ‘भ्रमण वर्षमा धेरै भन्दा धेरै गन्तब्य खुला गर्नु पर्नेमा उल्टो आरोहण नै बन्द गर्ने प्रस्तावमा प्रधानमन्त्री सहमत भने हुनु भएन,’ स्रोतले भन्यो ।

भ्रमण वर्षकै संयोजकबाट उक्त प्रस्ताव गएको बाहिरिएपछि भने व्यवसायी रुष्ट बनेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पूर्वअध्यक्ष सीताराम सापकोटा भन्छन्, ‘सबैभन्दा बढी पर्यटक आकर्षित गर्ने स्रोत नै बन्द गर्ने हो भने भ्रमण वर्ष मनाउनुको औचित्य हुँदैन ।’ व्यवसायीसँग छलफलबिना नै उक्त प्रस्ताव आएको बताइएको छ ।

नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टूर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष सीएन पाण्डे भन्छन्, ‘यदि त्यस्तो प्रस्ताव गएको हो भने त्यो पर्यटन र भ्रमण वर्षकै लागि विडम्बना हुन्छ ।’ हिमाल हेरेर पैसा नआउने भन्दै उनले समस्या छन् भने कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका एक उच्च अधिकारी पनि भ्रमण वर्षकै समयमा सगरमाथा आरोहण एक वर्षका लागि बन्द गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष गएको स्वीकार गर्छन् । यद्यपी बोर्ड र सचिवालयको कार्य क्षेत्र भने फरक हो ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ । चालु आर्थिक वर्षमा १० र आगामी आवका लागि १० करोड गरी यस अभियानको तयारीकै लागि सरकारले २० करोड रुपैयाँ खर्च गर्दैछ । यसबाहेक नेपाल पर्यटन बोर्डबाट पनि यस अभियानमा खर्च हुँदैछ ।

भ्रमण वर्ष नजिकै आइसके पनि बार्षिक २० लाख पर्यटक आउने गरी सरकारले के गर्दैछ, त्यसको अझै अत्तोपत्तो छैन । पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले राखेर पर्यटन मन्त्रालयलाई व्यवहारिकरुपमा नेतृत्वविहीन बनाएका छन् । पर्यटन मन्त्रीको अनुपस्थितिमा काम गर्नुपर्ने राज्यमन्त्रीलाई भने कुनै निर्णय गर्ने अधिकार दिइएको छैन ।

सगरमाथामा हरेक वर्ष करीव ६ सय आरोही र सहयोगी आरोहण गर्छन् । यस चुचुरोबाट हरेक वर्ष सरकारले ४५–५० करोड रुपैयाँसम्म रोयल्टी आम्दानी गर्छ । नेपालमा पर्यटकको बसाई अवधि लम्ब्याउन समेत सगरमाथाले ठूलो भूमिका खेलेको छ । किनकी पर्यटकहरु एक पटक सगरमाथा आरोहण गर्न अधिकतम ४० दिनसम्म नेपालमा बस्नुपर्छ । हरेक वर्ष शरद र वसन्त ऋतुमा सगरमाथामा बढी आरोही पुग्छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?