+
+
Shares

हवाई टिकट काट्ने कम्पनीले यात्रुबाट सेवा शुल्क उठाउन नपाउने

अच्युत पुरी अच्युत पुरी
२०७६ साउन ८ गते २०:०१

८ साउन, काठमाडौं । हवाई टिकट काटेवापत कम्पनीहरुले यात्रुबाट सेवा शुल्क उठाउन सरकारले रोक लगाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवसायीलाई पत्र काट्दै यात्रुबाट उठाउने गरेको अतिरिक्त शुल्क कानून विपरित रहेको उल्लेख गरेको छ ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जनरल सेल्स एजेन्टले हवाई टिकटमा अतिरिक्त शूल्क जोडेर विजक जारी गरेका छन् । त्यस्तो शुल्क नउठाउन मन्त्रालयले टूर तथा ट्राभल एजेन्सीहरुलाई आग्रह गरेको छ । टिकेटमा अतिरिक्त शुल्क उठाएको पाइएमा कानून अनुसार कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

टिकट काट्ने अधिकार प्राप्त गरेका टुर तथा ट्राभल एजेन्सीहरुले गन्तब्य अनुसार यात्रुबाट सेवा शुल्क लिने गरेका छन् । गन्तब्य हेरी २ सय रुपैयाँदैखि २ हजार प्रतिटिकटसम्म यस्तो सेवा शुल्क उठाइने गरेको पाइन्छ । यदि कम्पनी आफैंले सिधै यात्रुलाई टिकेट बेच्ने व्यवस्था छ भने यात्रुले शुल्क तिर्नु पर्दैन । तर, टिकट काट्ने एजेन्सीबाट टिकट काटेको अवस्थामा उनीहरुले यात्रुबाटै सेवा शुल्क उठाउने गरेका छन् ।

मन्त्रालयको पत्रले पर्यटन व्यवसायीहरु झस्किएका छन् ।

उनीहरुका अनसार टिकट काटेवापत विदेशी एयरलाइन्स कम्पनीले नेपाली टूर तथा ट्राभल एजेन्सीहरुलाई कमिसन दिँदैनन् । सोसाइटी अफ ट्राभल एण्ड टूर्स अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले विदेशी वायुसेवा कम्पनीले यात्रुबाट टिकेट काटेवापत एजेन्सीहरुलाई कमिसन दिन पहिल्यैदेखि छाडेको बताए । सोही कारण कम्पनीले सेवा शुल्क यात्रुबाट उठाएर त्यसलाई विजकमा समावेश गर्ने गरेका थिए ।

मन्त्रालयले व्यवसायीसँग छलफल नै नगरी एकलौटी निर्णय गर्दा मुनाफाबिना केवल सेवा मात्र गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘हामीलाई एयरलाइन्सले कमिसन दिँदैनन्,’ उनले भने, ‘यात्रुसँग सेवा शूल्क पनि उठाउन नपाउने हो भने कम्पनी बन्द गरे हुन्छ, किनकी व्यवसायीलाई यसवापत एक पैसा पनि मुनाफा हुने छैन ।’

अहिलेको समस्या बाहृय उडानका कम्पनीको हकमा मात्र हो । आन्तरिक उडानमा ट्राभल तथा टूर एजेन्सीले टिकट काटेको अवस्थामा वायुसेवा कम्पनीले निश्चित कमिसन दिने गरेका छन् । आन्तरिकमा पनि गन्तब्य हेरी ५० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिटिकटसम्म कमिसन प्राप्त हुन्छ । त्यसकारण आन्तरिक उडानका टिकटमा एजेन्सीहरुले यात्रुबाट सेवा शुल्क उठाउनु पर्दैन ।

तर अन्तर्राष्ट्रियमा भने वायुसेवा कम्पनीले कमिसन बन्द गरेका हुन् ।

समिति गठन

सेवा शूल्क खारेज गर्ने निर्णयसँगै अब के गर्ने भन्ने विषयमा छलफल गर्न व्यवसायीले एक समिति गठन गरेका छन् । नेपालमा आधिकारिक रुपमा दर्ता भएर सञ्चालनमा रहेका करीव ७० प्रतिशत टूर तथा ट्राभल एजेन्सीको मूख्य आम्दानीको स्रोत नै वायुसेवा कम्पनीको टिकट हो । नेपालमा टूर तथा ट्राभल एजेन्सीको संख्या ३ हजार ५ सय माथि छ ।

नेपालमा साढे दुई दर्जन कम्पनीले अन्तरराष्ट्रिय उडान गर्छन् । अन्तरराष्ट्रिय हवाई उडानको वाषिर्क विजनेश १ खर्ब हाराहारी हुने अनुमान गरिन्छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?