९ साउन, काठमाडौं । आयरल्यान्डसँगको टेष्ट क्रिकेट खेलको पहिलो पारी सकिँदासम्म घरेलु टोली इंग्ल्यान्ड १२२ रनले पछि परेको छ ।
क्रिकेटको ‘मक्का’ भनेर चिनिने लर्ड्समा जारी टेष्ट क्रिकेटको पहिलो पारीमा आयरल्यान्डले इंग्ल्यान्डलाई ८५ रनमै अलआउट गरेको थियो । यो आयरल्यान्डको लागि इतिहासकै ठूलो उपलब्धि हो भने इंग्ल्यान्डको लागि नमिठो पारी ।
घरेलु टोली इंग्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्दै २३.४ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका कुनै पनि खेलाडी टिकेर खेल्न सकेनन् । जोइ डेन्लीले २३, ओली स्टोनले १९ र साम कुरानले १८ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन नपाउँदै आउट भए ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा आयरल्यान्डका टिम मुर्टाघले पाँच विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चिएर पाँच विकेट लिएका हुन् । त्यस्तै, मार्क एडइरले तीन विकेट लिए ।
त्यसलगतै आफ्नो पहिलो पारी थालेको आयरल्यान्डले २०७ रन बनाएपछि पहिलो पारीमै इंग्ल्यान्ड १२२ रनले पछि परेको हो ।
आयरल्यान्डका लागि एन्डी बलविरनीले ५५ रन बनाउँदै अर्धशतक पूरा गरे । यता पाउल स्टिर्लिङले ३६ रन बनाए ।
टेष्ट क्रिकेटको दोस्रो दिन आज इंग्ल्यान्डले आफ्नो दोस्रो पारी थाल्ने छ ।
प्रतिक्रिया 4