Comments Add Comment

गर्भपतन र शारीरिक सम्बन्धमा पुरुष निर्णायक

विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अनुसन्धानले गर्भनिरोधक साधन प्रयोग गर्नेभन्दा गर्भपतन गर्ने महिलाहरू बढेको तथ्य सार्वजनिक गरेको छ । यस्तो तथ्यले मलाई स्तब्ध बनायो ।

अनि हाम्रोमा के रहेछ त भनेर मैले यो विषयमा अनुसन्धान गरेँ । अनुसन्धान गर्दै जाँदा थाहा पाएँ, हाम्रो पनि अवस्था यस्तै रहेछ । मेरो अनुसन्धानमा दुई विषयलाई प्राथमिकतामा राखेको छु । पहिलो, महिलाहरुले गर्भनिरोधक साधन भन्दा गर्भपतन किन रोजे ? दोस्रो, यो रोजाइमा कसको पहुँच छ ?

अनुसन्धानका क्रममा फरक उमेर, क्षेत्र, वर्ग, शिक्षा र जातका महिलाहरुसँग विस्तृत कुराकानी गरेको छु । त्यसो भए, गर्भपतन किन हुन्छ त ?

मेरो अनुसन्धानबाट पत्ता लागेका कारणहरू छन्- गर्भनिरोधक साधनको अपर्याप्तता, त्यसको सीमितता र पुरुषले भन्दा महिलाले साधन प्रयोग गर्नु पर्ने गरी सिर्जना गरिएको दायित्व ।

परिवारप्रति त पुरुषको पनि दायित्व छ । तर महिलाले मात्रै किन गर्भनिरोधक साधन प्रयोग गर्ने ? भनेर महिलामा नैराश्यता छाउँदा अनिच्छुक गर्भ बसेको पत्ता लाग्यो । यस्तै कारणले गर्भपतन गर्न महिलाहरु बाध्य भए ।

गर्भपतनको कारण यतिमात्र भने होइन । गर्भनिरोधक साधन प्रयोग गर्ने महिलाहरुको स्वास्थ्यमा समस्या आएको देखियो । महिनावारी समयमा नहुने, रगत बग्ने, मोटाउने, कपाल झर्नेलगायतका समस्या देखिएपछि गर्भ निरोधक साधन प्रयोग गर्न झण्झट मान्ने भए । यसले पनि गर्भपतन गराउने महिलाको संख्या बढ्न गएको देखिन्छ ।

अधिकांश महिलाहरूले गर्भनिरोधक साधन भनेकै गर्भपतनलाई मान्दा रहेछन् । धेरैजसोलाई गर्भपतनको बारेमा थाहा छैन । चेतनाको स्तर अत्यन्तै कम छ

हाम्रो देशमा सन् २००० अघि यस्ता विषयमा छलफल हुँदैनथ्यो । सन् २००२ मा वैधानिक रुपमा गर्भपतन गर्न पाउने कानून बनेपछि यो विषयमा बहस हुन थाल्यो । त्यो बहसले पनि गर्भनिरोधकलाई भन्दा गर्भपतनलाई बढावा दियो ।

मेरो अनुसन्धानले गर्भपतनलाई व्यवस्थित र सुरक्षित गर्ने हो भने गर्भनिरोधक साधन र गर्भपतनलाई सँगसँगै लैजानु पर्ने देखाउँछ । यी दुई कुरालाई एकैसाथ अगाडि बढाउन सकिएन भने गर्भपतन व्यवस्थित हुन सक्दैन ।

अहिले पनि अधिकांश परिवारले दुई वटा बच्चालाई प्राथमिकतामा राखेको देखियो । दुईभन्दा बढी बच्चालाई उनीहरूले समस्याको रुपमा लिँदा रहेछन् । दुई वटा बच्चा भइसकेपछि तेस्रो गर्भ बस्यो भने उनीहरुका लागि त्यो अनिच्छुक गर्भ हुने रहेछ । त्यस्तो अवस्थामा उनीहरू गर्भपतन गर्न चाहँदा रहेछन् ।

बच्चा पाउने कुरामा परिवारमा सरसल्लाह खासै नहुने रहेछ । दुई छोरी हुने परिवारमा भने तेस्रो बच्चाको लागि पनि तयार हुँदा रहेछन् । छोरा भइसकेकाहरूले चाहिँ तेस्रो गर्भ पतन गर्ने निर्णय गर्दा रहेछन् ।

गर्भनिरोधक साधन प्रयोग गर्ने मामलामा पनि दम्पत्तीबीच खासै सल्लाह नहुने रहेछ । अत्यन्त कम महिलाहरूले गर्भनिरोधक साधन प्रयोग गर्दा रहेछन् । धेरैजसोलाई के कस्तो गर्भनिरोधक साधन हुने रहेछ भन्ने थाहा नै नहुने रहेछ । गर्भनिरोधक साधन कसरी प्रयोग गर्ने भन्ने थाहा नहुँदा उनीहरूको अनिच्छुक गर्भ बस्दो रहेछ ।

पहिले-पहिले परिवारकै कारण गर्भपतन गरेको भन्ने सुनिन्थ्यो, तर मेरो अनुसन्धानले त्यस्तो देखाएन । कमजोर आर्थिक अवस्था भएकै कारण गर्भपतन गर्ने भेटिए । आयस्रोत गतिलो भयो या पर्याप्त कमाइ भयो भने मात्र महिलाहरू बच्चा जन्माउन तयार हुँदा रहेछन् । कतिपयले पहिलो गर्भ नै तुहाउनुको कारण पनि आयस्रोत नै देखियो । आयस्रोत कमजोर भएका महिलाहरू गर्भ बसेपनि गर्भपतन गराउन तयार हुने रहेछन् ।

महिलाहरू आफूले नकमाए पनि श्रीमानको कमाइलाई आधार मानेर बच्चा जन्माउने/नजन्माउने निर्णय गर्दा रहेछन् । गर्भपतन गर्न श्रीमानसँग र परिवारका सदस्यसँग भन्दा बाहिरका मानिसहरूसँग सल्लाह लिन उनीहरूलाई सजिलो लाग्दो रहेछ । यसले महिलाहरूको सामाजिक सम्बन्ध फराकिलो बन्दै गएको देखाउँछ ।

मेरो अनुसन्धानको मुख्य निष्कर्ष भनेको चाहिँ अधिकांश महिलाहरूले गर्भनिरोधक साधन भनेकै गर्भपतनलाई मान्दा रहेछन् । धेरैजसोलाई गर्भपतनको बारेमा थाहा छैन । चेतनाको स्तर अत्यन्तै कम छ ।

गर्भपतनले स्वास्थ्यमा समस्या देखिन्छ भन्ने विषयमा बहस नै भएको देखिँदैन । महिलालाई गर्भपतन आफ्नो अधिकार हो र यसलाई छनौट गर्नुपर्ने अधिकार आफ्नो हो भन्ने बाहेक अरु कुरा थाहा नहुँदो रहेछ । शारीरिक सम्बन्ध राख्ने विषयमा पुरुषहरू नै हावी भएको देखिन्छ । र, गर्भपतनको मुख्य ‘एक्टर’ पनि पुरुष नै भएको देखिन्छ । महिलाहरूले अन्तिम निर्णय आफूले लिन नसक्ने रहेछन् ।

चार पटकभन्दा बढी गर्भपतन गर्ने महिलाहरू पनि भेटिए । यो हदसम्मको निर्णय पनि पुरुषहरुले नै गर्दा रहेछन् । महिलाहरूले गर्भपतन गर्नुअघि कुराकानी, सरसल्लाह गरे पनि गर्भपतनपछि छलफल नगरेको देखियो । के खाने, के लाउने भन्ने निर्णय आफूले गरेपनि गर्भनिरोधक साधन प्रयोग गर्ने र गर्भपतन गर्ने अन्तिम निर्णय भने पुरुषहरुको हातमा छोड्दा रहेछन् ।

(समाजशास्त्री भट्टराईसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment