Comments Add Comment

पर्यटनमन्त्रीको कार्ययोजना : ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छूट !

९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ ।

सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत भूमिका हुने भएकाले सरोकारवालासँग छलफल आवश्यक छ,’ उनले भने ।

मन्त्रालयले यस घोषणाको कार्यान्वयनमा मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीहरुलाई जिम्मेवार निकाय तोकेको छ । यो कार्यक्रम वित्तीय अनुशासनभित्रै बसेर गरिएको भन्दै मन्त्री भट्टराईले स्रोतको व्यवस्थापनमा समस्या नहुने समेत आश्वासन दिएका छन् ।

अन्तर प्रदेश उडान बिस्तार

सरकारले चालु आर्थिक वर्ष भित्रै अन्तर प्रदेश उडानलाई प्रोत्साहन गर्ने भएको छ । सबै प्रदेशका राजधानी जोडिने गरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसँग छलफल गरी अन्तर प्रदेश हवाई सेवा सञ्चालनको योजना सरकारले बनाएको छ । यसको चाँजोपाँजो पनि तीन महिना भित्रै गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

काठमाडौंबाट साना जहाजको उडान निरुत्साहित गर्दै जाने र काठमाडौं बाहिरका विमानस्थलबाट दूर्लभ भेगका विमानस्थलमा साना जहाजलाई उडाउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ । काठमाडौंमा भने ७० सीट र सोभन्दा माथिका जहाजलाई उडानमा प्रोत्साहन गर्ने मन्त्री भट्टराईले बताए ।

विमानस्थल आयोजना के हुन्छ ?

सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने बताएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडी बढाउन लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी बनाउने घोषणा मन्त्री भट्टराईले गरेका छन् ।

टाँगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट बनाउने तथा वृक्षारोपणका लागि क्षेत्र पहिचानको योजनासमेत सरकारले समेटेको छ । ९ महिनाभित्र वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा साइट क्लियरेन्स गर्ने योजना सरकारको छ । पोखरा विमानस्थल विमानस्थल निर्धारित समयभन्दा अगाडी नै सम्पन्न गर्ने र गौतमबुद्ध विमानस्थलको निर्माण डिसेम्बर २०१९ भित्रैे सम्पन्न गर्ने योजना रहेको मन्त्री भट्टराईको योजनामा उल्लेख रहेको छ ।

त्रिभुवन विमानस्थलमा नयाँ नीति

अब त्रिभुवन विमानस्थलभित्र सम्माननीयहरुका लागि मात्र सवारी साधन लिएर जान सक्ने सुविधा राखिने भएको छ । भीआइपी मुभमेन्टमा रहेको अस्तव्यस्ततालाई हटाउन नयाँ मापदण्ड बनाउने घोषणा पनि मन्त्रालयले गरेको छ । २ महिनाभित्र नयाँ मापदण्ड बनाएर लागु गर्ने बताइएको छ ।

विमानस्थल भित्रका पसलबाट उपलब्ध हुने फूड एण्ड वेभरेजको मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गर्ने समेत निर्णय मन्त्रालयले गरेको छ । त्रिभुवन विमानस्थलमा ३० मिनेटभित्रै ब्यागेज क्लियरेन्सको व्यवस्था मिलाउने र विमानस्थलभित्रका भद्दा विज्ञापन हटाउने निर्णयसमेत मन्त्रालयको छ । त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालनको घोषणासमेत मन्त्री भट्टराईले गरेका छन् । यसका लागि वायुसेवा कम्पनीहरुसँग छलफल गरिने उनको भनाइ रहेको छ ।

नेपाल एयरलाइन्स व्यवस्थापनमा के हुन्छ ?

नेपाल एयरलाइन्सको समग्र व्यवस्थापन सुधारलाई तिब्रता दिने बताएको मन्त्रालयले निगमको सुधारका लागि के गर्ने भन्ने चाहीँ खुलाएको छैन । यसैवर्ष निगमको उडान चीनको ग्वाङझाउ र साउदी अरेवियाको रियादमा गर्ने योजना सार्वजनिक गरिएको छ । निगमका सबै जहाज संचालनमा ल्याउने, कार्यक्षेत्र बढाउने, सबै प्रकारका टिकट अनलाइनबाटै बिक्रि गर्न सक्ने बनाउने योजना समेत समेटिएको छ ।

निगमलाई ५ वटा नयाँ सटल बस खरीद गरी विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवालाई स्तरीय बनाउने योजना रहेको छ । उडान रद्द वा ढिलाइ हुने भए कम्तीमा २ घण्टा अगाडी नै यात्रुलाई त्यसको जानकारी गराउने योजना समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment