Comments Add Comment

तीज : होटलमा गहना देखाउने पर्व होइन

वर्तमान परिप्रेक्ष्यमा तीज पर्वमा संस्कृतिका नाममा केही विकृति भित्रिएका छन् जसले नेपाली समाजमा नकारात्मक जरा गाड्न थालेको छ । यसले संस्कृतिको संवद्धन होइन, विनाश हुने सम्भावना छ  ।

संस्कृति परम्परित हुन्छ । तर, अपरिवर्तित हुँदैन । समयसमेक्ष रुपमा संस्कृति परिवर्तन हुँदै जाने कुरा हो । यस सन्दर्भमा तीज पर्वले परिवर्तित संस्कृतिको नाममा धेरै विकृति फैल्याएको छ । महिना दिनदेखि तीज खाने परम्परा अर्मपर्व जस्तो भएको छ ।

यो चलन केही समय अगाडि सहरमा मात्र थियो अहिले गाउँगाउँमा पनि बढ्दै गइरहेको छ । यसले संस्कृतिका नाममा  मानिसले आर्थिक भारमा पनि चुनौती मोल्नु परिरहेको छ ।

स्वास्थ्यका र समय व्यवस्थापनका दृष्टिले पनि यो फलदायक देखिँदैन । तीज पर्व ठुल्ठूला फाइभ स्टार होटल र रेस्टुराँहरुमा मनाउनाले यसको महत्व घटिरहेको छ । रक्सी, वियर र मासुभातले तीज मनाउँदा हाम्रो मौलिक संस्कृति लोप भइरहेको छ ।

गीता सापकोटा

विभिन्न संघ संस्था र राजनीतिक दलले आफ्नै रङ्ग दिई तीज पर्व मनाउँदा यस पर्वमा राजनीति हाबी हुन थालेको पाइएको छ ।

दिदीबहिनीहरुको पर्व मानिने तीजमा पुरुषको पनि उत्तिकै  उपस्थिति र रमझमले यो नारीहरुको पर्व नभई सम्पूर्ण हिन्दुधर्मावलम्बी नेपालीको पर्व पो हो कि भन्दा अत्युक्ति नहोला । हिजोका गीतहरुमा नारी वेदनाका गीत हुन्थ्यो । आजका गीतहरुमा भड्किलोपन देखिन थालेको पाइन्छ ।  यसले हरितालिका तीजको शोभा हराउँदै गएको भान हुन्छ ।

परम्परालाई हेर्ने हो भने नेपाली नारीहरुको बाल विवाह गर्ने  प्रचलन, विवाहपछि नारीहरु घरकै चार भित्तामा सीमित भएर बस्नु पर्ने बाध्यता, घरमा सासू, नन्द, आमाजूका टोकसो र लोग्नेको अत्याचार सहनु पर्ने विवशता थियो । निकै डाँडापारि छोरीको कर्मघर हुने हुँदा र गाउँमा यातायातको सुविधा पनि नभएका  कारण चेलीलाई माइत आउन जान निकै कठिन थियो । माइती पक्ष र साथीसङ्गी पनि विरानो जस्तो भइसकेका हुन्थे । तत्कालीन समयमा आजको जस्तो सामाजिक सञ्जालको उपयोग गर्न सक्ने अवस्था थिएन । यस्तो परिस्थितिमा माइती जान पाउने अवसर भनेको चेलीका लागि निकै गौरवको कुरा थियो ।

लामो समयसम्म एक किसिमले नारकीय जीवन भोगिरहेका छोरी चेलीहरुका लागि महिनौं कुरेपछि आउने तीज पर्वले छुट्टै खुसी बोकेको हुन्थ्यो । त्यस्तो महत्व बोकेको यस पर्वलाई होटल रेस्टुराँमा दिनहुँ जस्तो भेट भइरहेका सहकर्मी र छरछिमेकीमैै मात्र सीमित गर्दा र दलीय गन्ध मिसिँदा वर्तमान समयमा तीजको महत्वबोध घट्नु स्वाभाविकै होे ।

तीज पर्वको परम्परालाई नियाल्दा भाद्र शुक्ल पक्ष द्वीतीया तिथिका दिन आफ्ना छोरीचेली भेला गरेर दर खाने, नाच्ने गाउने रमाइलो गनर्ेे र मध्यरातमा उठेर फेरि पनि दर खाने र भोलिपल्ट चोखोनितो भएर निराहार व्रत बस्ने प्रचलन थियो । त्यतिबेला नारीहरु घरमै सीमित हुन्थ्ये । प्रायः नारीहरु रोजगारका लागि बाहिरिएको अवस्था थिएन र समय व्यवस्थापन गर्न गाह्रो थिएन तर अहिले अधिकांश घरका नारीहरु रोजगारमूलक काममा छन् । उनीहरुलाई टाढाको माइत र दर भनेको आकाशको फल आँखा तरी मर भनेझैँ हुन्छ तसर्थ बिदाका दिन आफन्तकहाँ तीज मनाउन पाउँदा र साथी साथी भेला भएर नारीहरुले नाच्न पाउँदा संस्कृतिको जगेर्ना गरेको महसुस गरिरहेका छन् ।

नारीहरुलाई दुई दिने बिदाको सहुलियत दिएर यस पर्वको उत्थान गर्न सके तीज पर्वले नेपाली संस्कृतिको जर्गेनामा ठूलो भूमिका खेल्नेछ

यस्तो महत्वपूर्ण पर्वलाई त्यसैदिन महत्वपूर्ण दिनका रुपमा मनाउन दर खाने दिन र भोलिपल्ट व्रतका लागि बिदा दिनु उपयुक्त हुन्छ ।  त्यसो गर्न सके सायद नारीहरुले अगाडिदेखि तीजको गन्ध होटल-होटलमा फैलाउन आवश्यक हुँदैन थियो ।

जसरी मागे सङ्क्रान्ती र साउने सङ्क्रान्तीकै दिन मात्र सङ्क्रान्ती मनाइन्छ । साउन पन्ध्रकै दिन खिर खाइन्छ र असार पन्ध्रकै दिन दही चिउरा खाइन्छ । त्यस्तै यो पर्व पनि भाद्र शुक्ल पक्ष द्धितीया र तृतीया तिथिकै लागि महत्वपूर्ण हुनेथियो । यसका लागि सरकारी तथा गैरसरकारी जुनसुकै संघसंस्थामा नारीका लागि दुई दिन बिदा दिनु आवश्यक छ ।

तीज पौराणिक महत्वको  पर्व भए पनि यसको आफ्नै सांस्कृतिक र सामाजिक महत्व रहेको छ र रहिरहनुपर्छ । यसका लागि नारीहरुले  आधुनिकताको नाममा विभिन्न विकृतिजन्य कार्यहरु गर्नुहुँदैन ।

दिनभरि कार्यस्थलोमा सधैँ जस्तो कार्य गरेर थकित भएर घर पुग्दा तीजको कुनै अर्थ रहँदैन । तीजको व्रतका दिनलाई जति महत्व दिइएर बिदा दिइन्छ त्यति नै दर खाने दिनको पनि महत्व छ भन्ने कुरा बिर्सनुहुँदैन । यस पर्वलाई साँच्चै नारीहरुकै पर्वका रुपमा मनाउने हो भने नारीको अनुपस्थितिमा कुनै पनि संघसंस्थाहरुका कामकाज ठप्प हुनुहुँदैन । यसो गर्न सके नारी शक्तिको सम्मान हुनुका साथै कार्यमा पनि कुनै बाधा हुँदैन ।

तीजमा गाइने गीतहरुमा समय सापेक्ष  रुपमा जागरणका गीतहरु आउनु पर्छ । नारी चेनता र नारी शक्तिका कुरा बोलिनुपर्छ ।  हाम्रो सांस्कृतिक र सामाजिक पहिचान जोगाइ राख्न  विश्वका कुना-कुनामा छरिएर रहेका नेपाली चेलीहरुले पनि  यस पर्वलाई परम्परागतरुपमा मानिरहेका छन् ।

नेपाली माटोमा रहेका नेपाली नारीहरुले तीज मान्दा आफ्नो मौलिक विशेषता कायम राखी विश्वमै नेपाली संस्कृतिको पहिचान दिन सक्ने कार्य गर्नुपर्छ । विश्वका नारी समुदायका नारीहरुका लागि यो पर्व अनुकरणीय बन्न सक्नुपर्छ ।

त्यसैले तीजलाई महिना दिन अघिदेखि मनाउने, महंगा-महंगा गहना प्रदर्शन गर्ने थलोको रुपमा विकास र विस्तार नगर्नु नै राम्रो हुन्छ । यसमा राजनीतिक गन्ध आउन दिनु हुँदैन ।

नारीहरुलाई दुई दिने बिदाको सहुलियत दिएर यस पर्वको उत्थान गर्न सके तीज पर्वले नेपाली संस्कृतिको जर्गेनामा ठूलो भूमिका खेल्नेछ ।

तीजको धार्मिक-सांस्कृतिक महत्व

नेपाल विविधतामा एकता भएको देश हो । यहाँ प्राकृतिक, जातीय, धार्मिक, सांस्कृतिक एकता भएकै कारणले यो उक्ति सार्थक बनेको छ । नेपाली संस्कृतिले नेपाललाई विश्व समुदायमा मौलिक पहिचान दिएका छन् । ती मध्ये भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन पर्ने हरितालिका तीज पनि एक हो ।

तीज पर्व हिन्दु नारीहरुका लागि निकै महत्वपूर्ण पर्वका रुपमा लिइन्छ । पौराणिक कथाअनुसार  हिमालय पर्वतकी सुपुत्री  (शैलपुत्री) पार्वतीले शिवजीलाई पतिका रुपमा प्राप्त गर्न चाहेकी थिइन् । विष्णु भगवान्ले पनि पार्वतीलाई पाउने इच्छा गरी नारदलाई लमी बनाएर हिमालय पर्वततर्फ पठाएका थिए ।

विष्णु भगवान् स्वयम्ले आफ्नी छोरी माग्न पठाउँदा हिमालय पर्वत निकै खुसी भएर पार्वतीको विवाह विष्णु भगवान्सँग गरिदिने छिनोफानो गरिदिए । त्यति बेला पार्वती तपस्यामा लीन थिइन् । उनी एउटा लक्ष्य पूरा गर्नका लागि  कठोर तपस्यामा प्रवृत्त भएकी थिइन् । नारद त्यही ठाउँमा पुगेर भगवान् विष्णुसँग उनको विवाहको कुरो छिनिसकिएको कुरा बताउँदा पार्वती शोकविह्वल भएकी थिइन् ।

नेपाली संस्कृतिको जगेर्ना गर्ने जिम्मा हाम्रै हो । यसको संवर्द्धन गर्न सके मात्र हाम्रो मौलिक पहिचान कायम रहन सक्छ

पार्वतीको त्यस्तो अवस्था देखेर उनकी सखी आलीले उनको शोक र दुःखको कारण सोेधिन् । त्यसपछि पार्वतीले शिवलाई रोजिसकेको र विष्णुसँग विवाह गर्नु भन्दा आफू मर्न चाहने कुरा साथीलाई बताइन् । त्यस्तो सुनेपछि उनलाई बचाउन उनकी सखीले अपहरण गरेर अज्ञात ठाउँमा पार्वतीलाई लगिन् । पार्वतीले त्यो अज्ञात ठाउँमा पनि शिवलिङ्गको पूजाआरधना गरिरहेको बेला शिवजी प्रकट भए  र पार्वतीदेखि खुसी भएर उनलाई वरदान माग्न आज्ञा गरे ।

पार्वतीले सारा वृतान्त सुनाएर आफूले शिवजी पति चाहेको कुरा सुनाइन् । त्यसपछि शिवजी प्रफुल्लित भएर आफ्नो साथमा पार्वतीलाई हिमालय पर्वतमा लगे र पिताजी हिमालय पर्वतसँग पार्वतीको हात मागे ।

पर्वतका राजा हिमालयले आफ्नी छोरी पार्वतीको इच्छाअनुसार शिवजीसँग विवाह गरी छोरीको इच्छा पूरा गरिदिएका थिए । यसरी आली नाम गरेकी सखीले पार्वतीलाई हरित गराएर अन्यन्त्र लगेको र कठोर तपस्या पछि शिवजी पाएर पार्वती खुसी भएको खुसीयालीमा हरितालिका तीज मनाउन थालिएको किंवदन्ती प्रचलित छ ।

पार्वतीले आफू कन्या हुँदा नै कठोर तपस्या गरी शिवजीको दर्शन प्राप्त गरी आफ्नो इच्छा पूरा गरिन् । यही प्रकि्रयालाई नेपाली नारीहरुले अनुकरण गर्दै गए र यसले संस्कृतिको रुप धारण गर्यो । यसर्थ तीज पर्व आफैमा सहिष्णुता र आपसी सद्भाव कायम राख्ने नारीहरुको महत्वपूर्ण पर्वका रुपमा आज पनि मनाइँदैछ ।

नेपाली संस्कृतिको जगेर्ना गर्ने जिम्मा हाम्रै हो । यसको संवर्द्धन गर्न सके मात्र हाम्रो मौलिक पहिचान कायम रहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment