Comments Add Comment

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

२३ भदौ, काठमाडौं । अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णबहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरिदिएका छन् । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा चितवनको भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको मृत्यु भएको थियो ।

मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रवार नेकपा अध्यक्षसमेत रहेका प्रचण्डले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । यस विषयमा प्रचण्डले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिइन् ।

प्रचण्डको टेलिफोन लगत्तै शनिवार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको थापाकी बहिनी अधिकारीले बताइन् ।

‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवौं दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परि मृत्यु भएको थियो । विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

यो पनि पढ्नुहोस आमा ! बुवालाई पनि गयो भनिदिनू है

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment