Comments Add Comment

नेकपाले सुरेश वाग्लेको स्मृति दिवस मनाउँदै

२३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज तत्कालीन नेकपा माओवादीको पोलिटव्युरो सदस्य सुरेश वाग्ले (वासु)को स्मृति दिवस मनाउँदै छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपा वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु सहभागी छन् ।

वि.सं. २०५५ मा तत्कालीन नेकपा माओवादीको वैकल्पिक पोलिट्व्युरो सदस्य बनेका वाग्लेलाई २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

उनलाई नजिकबाट चिन्नेहरुका अनुसार वि.सं. २०५६ भदौमा पार्टी केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल (उमा भुजेलका श्रीमान) र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भदौ २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भएको थियो । त्यसपछि घेरा तोड्न खोज्दा वाग्लेसँगै रहेका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भयो । प्लाटुन सदस्य बीना घाइते भए पनि भाग्न सफल भइन् । वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे र प्रहरीले त्यही गोली हानेर हत्या गरेको थियो ।

गोरखाको पालुङ्गटारस्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भदौ २४ गते पिता भोजराज वाग्ले र माता दुर्गादेवी वाग्लेको कोखबाट जन्मिएका वाग्ले प्रहरीबाट मारिने तत्कालीन नेकपाका सबैभन्दा उच्चस्तरीय नेता हुन् । तिनै सुरेश वाग्लेको नाममा सरकारले काठमाडौंको महाराजगञ्जमा ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment