 
																			२४ भदौ काठमाडौं । मंगलबार बिहानैदेखि बाराको अमलेखगन्जस्थीत नेपाल आयल निगमको डीपो परीसरमा चहलपहल अलि फरक थियो । भारतबाट इन्धन बोकेर आउने तथा त्यहाँबाट देशभर इन्धन लिएर जाने सयौं ट्याकंरको ओहोरदोहोरले व्यस्त रहने डीपोमा आइतबार ट्याकंरको कुनै भीड थिएन ।
डीपोको मूख्यद्वार र यसको कम्पाउण्ड सजाउन श्रमिकहरु खटिईरहेका थिए । डीपोको पूरै कम्पाउण्ड झकिझकाउ बनाएर सजाइएको थियो भने औपचारिक कार्यक्रमका लागि मञ्चहरु पनि तयार थिए । डीपो परिसरमा सरसफाई तथा प्राविधिक काममा नेपाल आयल निगम र भारतीय आयल निगमका कर्मचारी व्यस्त देखिन्थे ।
त्यही चहलपहलको केन्द्रमा थिए नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेल, उप कार्यकारी प्रमुख सुशील भट्टराई, निगमका अन्य विभिन्न विभागका प्रमुखहरु तथा अमलेखगन्ज डीपो तथा पाइपलाइन परियोजनाका नेपाली प्रमुख प्रदीप यादव । सरकारी कर्मचारीको नियमित पोशाक सेतो सर्ट र निलो पाईन्ट तथा सुरक्षाको हेलमेट लगाएर उनीहरु दौडधुप गरिरहेका थिए । डीपोभित्र र बाहिर खटिएका नेपाली श्रमिक र प्राविधिक तथा भारतीय टोलिलाई निगमको नेतृत्वले समन्वय गरिरहेको थियो । चर्को घामले गर्दा सबैजना पसिनाले निथ्रुक्क भिजेका थिए ।
निगमका कार्यकारी उपप्रमुख सुशील भट्टराईले हाँस्दै भने, ‘दुई दिनमै घामले डढेर कालो भइयो । काठमाडौं पुग्दा घरमा नचिन्लान् जस्तो छ ।’
अमलेखगन्ज डीपो प्रमुख प्रदीप यादवलाई मंगलबारको दिन विशेष लागिरहेको छ । उनी भन्दै थिए, ‘देशका लागि नै महत्वपूर्ण परियोजना सम्पन्न गर्ने पूर्वसन्ध्यामा छौं । खुशीसँगै कार्यक्रम सफल बनाउने दवाव पनि छ ।’
दुई देशका प्रधानमन्त्रीको कार्यक्रम भएकाले कुनै पनि खाले कमजोरी आउन नदिन आफूहरु सचेत रहेका नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले बताए । पौडेलका अनुसार नेपाली र भारतीयहरु समेत गरी करिब २ सय जना उद्घाटन कार्यक्रमका लागि खटेका छन् । भारतीय दूतावासका कन्सुलर, इण्डियन आयल निगमका उच्च नेतृत्व तथा भिडियो कन्फ्रेन्सका लागि ठूलो संख्यामा प्रविधिकहरु खटेको उनले जानकारी दिए ।
‘काठमाडौं-अमलेखगन्ज तथा अमलेखगन्ज-नयाँ दिल्ली भिडियो कन्फ्रेन्स परीक्षण पटक-पटक भएका छन् । स-साना प्राविधिक समस्याहरु आएका छन् तर तयारी पूरा भएको छ,’ पौडेलले भने । उद्घाटन कार्यक्रमको समन्वय मूख्य सचिवले नै गरिरहेको उनले बताए ।
नेपाली समयअनुसार आज मंगलबार दिनको ठीक १२ः१५ बजे परियोजनाको औपचारिक उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4