Comments Add Comment

भरतपुर विमानस्थलको जोखिम क्षेत्रमा विद्युतलाइन भूमिगत

३० भदौ, चितवन । भरतपुर विमानस्थलको मूख्य जोखिमका रुपमा रहेको विद्युतको तार भूमिगत गरिएको छ । विमानस्थलको दक्षिण पूर्वतर्फ हाइटेन्सन लाइनका कारण निकै जोखिम हुँदै आएको थियो ।

विमान अवतरणका क्रममा तार नै छुने डर भएपछि विमानस्थलको अनुरोधमा करीव ३५० मिटर तार भूमिगत गरिएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए ।

११ हजार भोल्टको लाइन प्रवाह हुने तारलाई भूमिगत गरिएको उनले बताए । तार भूमिगत गर्दा झण्डै ४३ लाख रकम खर्च भएको प्रमुख महतोले बताए । अब हवाई सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल यो काम गरेको भन्दै महतोले एक दुई दिनमा काम सकिने बताए । तारलाई भूमिगत गर्ने क्रममा दुई फिट गहिरो नाली खनेर केबुल बिछ्याइएको उनले बताए ।

स्थानीयले भने केबल बिछ्याउन खनिएको नालीको गहिराई कम भएको भन्दै बिरोध जनाएका छन् । कम गहिरामा केबल बिछ्याइएकाले भविष्यमा समस्या अनउन सक्ने भएकोले विरोध गरिएको युनिक टोल विकास संस्थाका अध्यक्ष श्याम गिरीले जानकारी दिए । प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख महतोले भने मापदण्ड अनुसार नै खाडल बनाइएको बताए ।

‘सडकभन्दा तीन फिट पर दुई फिट गहिराईको नाली बनाएका छौं’ प्रमुख महतोले भने ‘डराउनुपर्ने त्यस्तो केही छैन ।’ सोही ठाँउमा ४ सय भोल्टको घरसायी लाइनलाई पनि भूमिगत गराउने योजना प्राधिकरण छ । यसका लागि छुट्टै नाली बनाउनुपर्छ । यो काम पनि चाँडैअघि बढाउने वितरण प्रमुख महतोले जानकारी दिए ।

गत जेठ १३ गते भरतपुर आएका विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले दुर्घटना जोखिम रहेका तार तत्काल हटाएर अण्डर ग्राउण्ड गर्न वितरण केन्द्रका प्रमुख सुरेश महतोलाई निर्देशन दिएका थिए । त्यसपछि यसको प्रकृया अघि बढेको थियो ।

यसअघि भरतपुर विमानस्थलले पटकपटक लिखित रुपमा भरतपुर महानगरपालिका र विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलाई अनुरोध गरे पनि तार हटाउन तर्फ कसैले चासो दिएका थिएनन् । विमानस्थलका प्रमुख पवन गौत्तमले तार हटाउन विमानस्थलको हवाई सुरक्षामा सकारात्मक सहयोग मिलेको बताए । बाँकी लोकल लाइनलाई पनि चाँडै भूमिगत गरिदिए जोखिम घट्दै जाने उनको भनाइ छ ।

विमान अवतरण गर्दा अवरोध गर्ने ६ वटा जति घरको छतमा बनाइएका ट्रष्टलाई तत्कालै हटाउनुपर्ने आवश्यकता रहेको प्रमुख गौत्तमले बताए । भरतपुर विमानस्थलमा वरपर अवरोध बढ्दा विमान चालकहरुले यसलाई मिनी लुक्लाको संज्ञा दिन गरेका छन् । विमानस्थलको रनवे जम्मा १२ सय मिटर मात्रै छ । अवरोधका कारण भएको रनवेलाई पनि विमानले प्रयोग गर्न सकेका छैनन् । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विमानस्थलको रनवे बढाउने र अवरोध हटाउने तयारी अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment