Comments Add Comment

सिन्डिकेट पक्षधर व्यवसायीलाई फरक नामबाट दुई पदक !

३ असोज, काठमाडौं । सरकारले सिन्डिकेटको पक्षपोषण गर्दै सार्वजनिक यातायातजस्तो अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई दुई व्यवसायीलाई पदकबाट विभुषित गरेको छ । यातायात समिति नवीकरण नगर्ने सरकारले निर्णय गरेपछि त्यसको विरुद्ध आन्दोलनको नेतृत्व लिएका व्यवसायीहरु योगेन्द्रमान कर्माचार्य र पुण्यप्रसाद सिटौला (सरोज) पदक पाउनेको सूचीमा चढेका हुन् ।

कर्माचार्य नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हुन् भने सिटौला महासचिव । यी दुई व्यवसायीलाई प्रबल जनसेवा श्री चौंथो र समाजसेवा रत्न पदक दिइएको छ । अझ रोचक त के छ भने झापाका यातायात व्यवसायी सिटौलाले एकसाथ फरक नामबाट दुई पदक पाएका छन् । उनले सरोज सिटौलाका नाममा प्रबल जनसेवाश्री चौंथो तथा पुण्यप्रसाद सिटौला नाममा समाजसेवा रत्न पाएका हुन् ।

एकै वर्ष एक व्यक्तिलाई दोहोरो पदक दिन सकिने व्यवस्था कार्यविधिमा छैन । यस विषयमा बुझ्दा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले एकै व्यक्तिलाई दुई पदक दिएकोबारे अनभिज्ञता दर्शाए ।

‘यस्तो त हुनु नपर्ने हो,’ उनले अनलाइनखबरसँग भने, ‘विभुषण समितिले सिफारिस गरेको आधारमा मन्त्रिपरिषदले निर्णय लिएको हुन्छ । मैले राम्रोसँग बुझ्नैपर्छ ।’

सरकारले २०७४ चैतमा सार्वजनिक सवारीको सिन्डिकेट तोड्ने निर्णय गरेसँगै यातायात व्यवसायीले २०७५ वैशाख २१ गते सेवा ठप्प पारेका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात सेवामा हड्ताल गर्ने सबैलाई पक्राउ गर्न निर्देशन दिएपछि कर्माचार्य र सिटौला दुवै पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको थियो ।

अध्यक्ष कर्माचार्यसहित महासंघका पदाधिकारीहरु सिन्डिकेट अन्त्य गर्ने सरकारको कदमलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएर थुनामुक्त भएका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । लिखित प्रतिबद्धतामा सिन्डिकेट नगर्ने, कम्पनी दर्ता गरेर सञ्चालन गर्ने उल्लेख थियो ।

देशभर सिन्डिकेट पक्षधरमाथि ब्यापक धरपकड भएपछि मात्रै यातायात महासंघ र तीनका नेताहरु कम्पनीमा जान सहमत भएका थिए । सरकारले पटक-पटक म्याद थप गर्दै गत जेठबाट बल्ल पूर्णरुपमा यातायात समितिहरुलाई हटाएको छ । तर, महासंघकै नेतृत्वको दबावमा सरकारले राष्ट्रियकरण गर्नुपर्ने यातायात समितिका चल-अचल सम्पत्ति कम्पनीमा लैजान दिने निर्णय गरेको थियो ।

जनताले ठूलो सास्ती भोग्ने गरी भएको यो आन्दोलनको नेतृत्व लिएका कर्माचार्य र सिटौलालाई विशिष्ट पदकबाट सम्मान गर्दा नागरिकको अपमान भएको यातायात उपभोक्ताकर्मी रामबहादुर थापा बताउँछन् ।

‘जसले जनतालाई यति धेरै सास्ती दियो, जो राष्ट्रले गरेको निर्णयको पक्षमा कहिल्यै उभिएन, सँधै आफ्नो स्वार्थ मात्रै हेर्‍यो, तीनले देशमा सुपुतहरु सम्मानित हुनुपर्ने पदबी पाउनु दुःखको कुरा हो,’ उनले भने, ‘सरकारले त्यो पदक फिर्ता गरेर सिन्डिकेटविरुद्ध उभिएका यातायात कम्पनीका मालिकलाई दिनुपर्छ ।’

थापाले भदौ २५ मा दशैंको अग्रिम टिकट बुकिङ खोल्ने प्रस्ताव उनीहरुले लत्याएको ताजा उदाहरण दिँदै भने, ‘व्यवसायी अझै पनि सरकारलाई मुठ्ठीमा राख्न सक्ने अवस्थामा नै छन्, यसका लागि सरकारले नै उनीहरुलाई प्रोत्साहित गरेको देखिन्छ ।’

व्यवसायी सिटौलाले भने समाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका छन् । उनले नेपालको यातायात क्षेत्रको श्रीवृद्धिका लागि अनवरत रुपमा गरेको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले एकैपटक दोहोरो सम्मान दिएको बताएका छन् ।

‘यी दुई पदकसँगै नेपालको समग्र यातायात क्षेत्रको हौसला बढेको छ, आगामी दिनमा पनि नेपालको यातायात क्षेत्रको विकासका लागि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment