८ असोज, गोरखा । न मोटर न बाटो । मोटरबाटो देख्न १५ मिनेट पैदल हिँड्न पर्ने । रोजगारी शून्य । खेतीपाती वा मजदुरीको बिकल्प थिएन ।
केही घरधुरी जनजाति तर दलित समुदायको बाहुल्यता रहेको आरुघाट गाउँपालिका-४ थुमीको जामुने गाउँको भूकम्पअघिको अवस्था यस्तै थियो ।
ढुङ्गा र खरले छाएका घरहरु २०७२ सालको भूकम्पले सङ्लो राखेन । गोठ र छाप्रोमा स्थानीयको बास भयो ।
लघु जलविद्युतमा क्षति पुगेपछि गाउँको ज्योती गुम्यो । आर्थिक अवस्था कमजोर भएकै कारण घर पुनर्निर्माण गर्ने आँट स्थानीयले गर्न सकेनन् ।
भूकम्पको एक वर्षपछि पुननिर्माणमा सघाउ पुर्याउने उदेश्यले गाउँ पुगेको सहयोगी हातहरुको समूह (सहास) नेपालको आडमा स्थानीयले घर पुनर्निर्माण थाल्ने आँट गरे ।
प्रतिघरधुरी १५ सय उठाएर गाउँमा सडक पुर्याए । ४९ घरधुरी पुनर्निर्माणको सुरुवात भयो । खण्डहरमा परिणत बस्ती जुर्मुराउन थाल्यो ।
बिभिन्न समूह बनाएर घर बनाउँन अर्मपर्म गरे । ‘हाम्रो पाँच जनाको समूह थियो,’ स्थानीय वीरबहादुर बिश्वकर्माले भने,’आलोपालो गरेर घर बनायौं ।’ अर्मपर्म गर्दा लागत खर्च कम भएको उनी बताउँछन् ।
१२ जनाको समूह बनाएर अर्मपर्ममा घर बनाएका राजेश सुनार भन्छन्, ‘एउटा घरको डीपीसी सकेपछि अर्को घरमा जग खन्थ्यौं, त्यसको डीपीसी सकेर अर्काेमा गारो लगाउथ्यौं,’ दुई वर्षमा वस्ती पुननिर्माण भएको उनको भनँइ छ ।
सबै भूकम्प पीडित स्थानीयले नयाँ घर पाएका छन् । त्यति मात्र होइन, सबैको भान्सामा धुँवारहित सुधारिएको चुलो छ । ‘यो चुलोमा खाना बनाउँदा दाउरा पनि कम लाग्छ, फेरि भित्र धुवा पनि नहुने रहेछ,’ सन्तमाया विश्वकर्माले भनिन् ।
घरैपिच्छे कुखुराको खोर छ । आयआर्जनका लागि सबैले कुखुराको चल्ला पाएका छन् । ‘सबै घरलाइ दश/दशवटा चल्ला वितरण गरेको थियो, बाँकी आफैले थपेर अहिले ३५ वटा पालेको छु,’ सन्तमायाले भनिन् ।
खेतीपातीका लागि बिरुवा वितरण पनि भएको छ । खेतीमा स्थानीयहरु संलग्न हुन थालेका छन् ।
सबैको घरमा सोलार जडान भइसक्यो । केन्द्रीय प्रशारण लाइनको विद्युत पनि जोडिएको छ । घरपिच्छे चर्पी । पानीको कुनै समस्या छैन । सरसफाइमा स्थानीय सचेत छन् ।
जनचेतना फैलाउन किशोरकिशोरी संवाद समूहको सक्रियता बढेको छ । सहास नेपालको सहयोगमा अहिले गाउँको मुहार फेरिएको छ । जामुने गाउँ अहिले जलवायु अनूकुलन मैत्री नमूना गाउँ बनेको छ ।
बस्ती मंगलबार एक कार्यक्रमका बीच स्थानीयलाई हस्तान्तरण गरिएको छ । नयाँ घर पाएका स्थानीय अहिले खुशी छन् ।
‘पहिले पानी थिएन, पुराना घर थिए, अहिले सबैको नयाँ घर छ, पानीको समस्या छैन, हाम्रो गाउँ साच्चिकै नमूना बनेको छ,’ प्याउली माया सारु मगरले भनिन् । पहिले भन्दा अहिलेको गाउँ उनलाई रमाइलो लाग्छ ।