Comments Add Comment
हिरासत ‘ब्रेक’को सिलसिला :

लापरबाही प्रहरीको, दोष हत्कडीलाई !

एउटै घटनामा १३ प्रहरीमाथि कारवाही

१० असोज, काठमाडौं । गत ७ भदौमा तीनकुनेबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा एकैचोटि तीनवटा मोटरसाइकललाई ठक्कर दियो । दुर्घटना बढेपछि टिपरलाई राति मात्र ‘रिङ रोड’ प्रवेश गर्न दिने निर्णय भएयता घटेको गम्भीर र भयानक घटनामध्ये थियो यो ।

महानगरीय प्रहरी वृत्त, गौशालाले ठक्कर दिने ना ३ ख ४३१७ नम्बरका टिपर चालक २८ वर्षीय सोनाम तामाङलाई नियन्त्रणमा लियो । तामाङमाथि लागेको सवारी ज्यानको अभियोगमा आइतबार जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस भइरहेको थियो ।

तामाङले सोचेका रहेछन्, ‘न्यायाधीशले धरौटीमा छाड्न आदेश दिन्छन् ।’ तर, जब पूर्पक्षका लागि थुनामा पठाउने आदेश भयो, उनी खङ्रङ भए । साथमै रहेका प्रहरी जवानलाई तामाङले शौचालय जाने संकेत गरे । जवानले एक हातको हत्कडी खोलिदिए र कुर्न थाले । करिब ४ मिनेटसम्म पनि उनी ननिस्किएपछि प्रहरी जवानको मनमा चिसो पस्यो ।

गौशाला प्रहरीका एक अधिकृतका अनुसार शौचालयको ढोका ढक्ढक्याउँदा पनि चालचुल नसुनिएपछि तामाङ भागिसकेको खुल्यो । उनी आल्मोनियमको झ्याल खोलेर बाहिर निस्किएर भागेको प्रहरीले पत्तै पाएन ।

प्रहरीले तत्काल खोजी थाले पनि उनी अनामनगर पुगिसकेका थिए । केही घन्टामा उनी पुनः नियन्त्रणमा आए र अहिले केन्द्रीय कारागारमा राखिएको छ । पक्राउ परिसकेपछि तामाङले भनेका छन्, ‘दशैं मनाउन नपाउने भएँ भनेर भागेको थिएँ । तर, फेरि समातिएँ ।’

०००

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको थुनुवा कक्षबाट २५ साउनमा चोरी मुद्दाका चार आरोपित भागे ।

प्रहरी कार्यालय र हिरासतलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । तर, हिरासत ब्रेकका घटनाक्रमले मुलुकको सुरक्षाका लागि अंग्रपङ्तिमा रहने नेपाल प्रहरीका फौजीको असंवेदनशीलतालाई पनि उदांगो पारेको छ

सिंहदरबारका डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार हिरासतको ‘भ्यान्डिलेसन’ काटेर भागेका मध्ये सुब्बा लामा र अनिल थापालाई तत्काल नियन्त्रणमा लिइएको थियो ।

अर्को दिन दक्षिणढोकाबाट सुकलाल वाइबा पनि समातिए । तर, तेस्रो अभियुक्त मदन तामाङ अझै भेटिएका छैनन् । घटनाबारे चासो सेलाउँदै गएपछि प्रहरीको निगरानी पनि पातलिँदै गएको सिंहदरबार प्रहरीका एक कनिष्ठ अधिकृत बताउँछन् ।

यो प्रकरणबारे छानविनका लागि गठित प्रहरी उपरीक्षक (एसपी) अशोक सिंह नेतृत्वको समिति स्रोतका अनुसार अभियुक्तलाई खाना लगिएको ‘टिफिन’ बट्टामा राखेर ह्याक्सो ब्लेड हिरासतसम्म पुर्‍याइएको थियो ।

बाहिरबाट लगिएको खानेकुरा परीक्षणपछि मात्र हिरासतमा रहेका व्यक्तिलाई दिइन्छ । तर, भातले छोपेर राखिएकाले ‘ह्याक्सो ब्लेड’ नदेखिएको प्रहरी अधिकृत दाबी गर्छन् ।

यो प्रक्रियामा संलग्न ३ जना प्रहरीलाई माथिल्लो निकायले निलम्बन गरेको छ । लगत्तै काठमाडौं प्रहरीले सबै प्रहरी वृत्त र प्रभागमा छड्के जाँच गरेर हिरासत कक्षको अनुगमन पनि गरिसकेको छ । यद्यपि, अभियुक्त भाग्ने क्रम अझै रोकिएको छैन ।

यो घटनाको ठ्याक्कै एक महिनाअघि २५ असारमा पनि सिंहदरबार प्रहरीकै अधिकृतका सामुन्ने बैंकिङ कसूरका अभियुक्त रामबोल खड्का फरार भएका थिए । उच्च अदालत, पाटनमा म्याद थप गर्न लगिएका खड्का पनि शौचालयबाटै भागेको प्रहरीले बताएको थियो ।

अर्को दिन मूलपानीबाट पक्राउ पर्दा उनले लाखौं रुपैयाँ ऋण भएका पीडितको घेराबन्दीमा पर्ने डरले भागेको बयान दिएका थिए ।

०००

ललितपुर प्रहरी मातहतको प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाट पनि २४ असारमा तीन जना थुनुवा फरार भएका थिए । लागूऔषध कारोबार मुद्दाका रविकुमार तिम्सिना, डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ शौचालयको ग्रिल काटेर भागेको खुलेको थियो ।

प्रकरणको छानविनका लागि एसपी दुर्गा सिंह नेतृत्वको समिति पनि बन्यो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी समेतको स्थलगत अनुगमनपछि ड्यूटीमा रहेका असई, हिरासत कमाण्डर हवल्दार र राति ड्यूटीमा खटिएका जवान गरी ३ जनालाई निलम्बन गरिएको थियो ।

फरारमध्ये माझी र श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले एकदिनपछि बौद्धको जम्बु डाँडाबाट पक्राउ गर्‍यो । तर, अहिलेसम्म तिम्सिना पक्राउ परेका छैनन् ।

०००

प्रहरी कार्यालय र हिरासतलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । तर, प्रस्तुत घटनाक्रमले आमजनमानसमा रहेको यो दृष्टिकोणमाथि प्रश्न मात्र उठाएको छैन, अंग्रपङ्तिमा रहने देशको सुरक्षा निकायमा कार्यरत् फौजीको असंवेदनशीलतालाई पनि उदांगो पारेको छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्षको १६ साउनसम्मको अवधिमा मात्रै २७ जना अभियुक्त प्रहरी निगरानीबाटै फरार भएका छन् ।

तथ्यांकअनुसार काठमाडौंबाट ५, मकवानपुर, कैलाली र बाँकेबाट ४/४ जना, चितवनबाट ३, मोरङबाट २ र पाँचथर, झापा, काभ्रे, भक्तपुर, स्याङ्जा, कास्की, बर्दिया, दाङ र सिन्धुलीबाट एक/एक जना भागेका छन् । तीमध्ये कति पक्राउ परिसके भन्ने विवरण प्रहरी प्रधान कार्यालयसँग छैन ।

‘हिरासतबाट अभियुक्त भाग्ने विषयमा नेपाल प्रहरीतर्फबाट कमजोरी देखिन्छ’, सुरक्षाविद् गेजा शर्मा वाग्ले भन्छन्, ‘यसले एकातिर समाजमा भय र आतंक त सिर्जना गर्छ नै, अर्कातिर राज्यको निकाय कमजोर भएको नकारात्मक सन्देश पनि दिन्छ ।’

यो नीतिगत समस्या नभई कार्यान्वयको पक्ष कमजोर हुनुको उपज भएको शर्माको भनाइ छ ।

यो पनि पढ्नुहोस जेल सुधारगृह कि अपराधको शिक्षालय ?

तीन प्रवृत्ति

प्रहरी अधिकृतहरुका अनुसार अभियुक्त फरार हुने गरेका घटनामा पछिल्लो समय तीन किसिमका प्रवृत्ति देखिएका छन् ।

पहिलो, म्याद थप गर्ने सिलसिला वा थुनछेक बहसका सिलसिलामा अभियुक्त भाग्ने गरेको देखिन्छ । थुनुवालाई इजलासमा लैजाँदा हत्कडी पनि लगाउने चलन पनि छैन ।

‘फेरि भिडभाड पनि धेरै हुँदा नियन्त्रणमा राखिराख्नै हम्मेहम्मे पर्छ’, काठमाडौं प्रहरीको मुद्दा शाखामा कार्यरत् एक अधिकृत भन्छन्, ‘त्यस्तो अवस्थामा अभियुक्तले गलत मनसाय राखिदियो भने समस्या भइहाल्छ ।’

अदालतमा लैजाँदै गर्दा पनि कतिपय घटनामा अभियुक्त फरार भएको देखिन्छन् ।

दोस्रोचाहिँ हिरासत कक्षको संरचनामै समस्या देखिएका छन् । ‘सिंहदरबार वृत्तबाट अभियुक्त फरार भएको घटनामा हिरासतको कमजोर संरचनाबाट फाइदा उठाएको पाइएको थियो’, एक अधिकृत भन्छन् ।

प्रहरी कार्यालयका नयाँ भवनमा अत्याधुनिक हिरासत छन् । तर, पुरानामा हिरासत भने समस्याग्रस्त देखिन्छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘सिंहदरबारबाट कैदी फरार भएपछि हामीले त्यहाँसहित बानेश्वर, गौशाला, बौद्धलगायत पुराना भवन भएका कार्यालयका हिरासत कक्षा निरीक्षण गरी मर्मत गराएका थियौं ।’

कतिपय प्रहरी कार्यालयमा शौचालयसमेत हिरासत कक्षबाहिर छन् । जसको फाइदा उठाएर पनि अभियुक्त भाग्ने जोखिम रहन्छ । अदालतमा पनि अभियुक्तमैत्री शौचालय नहुँदा समस्या बढेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘धेरै केशमा हिरासत र अदालत पनि कैदीमैत्री शौचालय छैन’, एक अधिकृत भन्छन्, ‘अदालत लैजाँदा शौचालयको भ्यान्डिलेसन फोडेर भाग्ने क्रम पनि देखिन्छ ।’

तेस्रो प्रवृत्ति चाहिँ अभियुक्तलाई भेट्न आउनेको राम्रो खनतलासी नहुनुले पनि समस्या निम्त्याइरहेको छ । जस्तै, सिंहरदबारको घटनामा टिफिनमा लुकाएर ‘ह्याक्सो ब्लेड’ पठाइएको थियो भने भैंसेपाटीबाट फरार तीन अभियुक्तले अदालतमा म्याद थप गर्न जाँदा चिनेकै व्यक्तिबाट ब्लेड हात पारेका थिए ।

यो पनि पढ्नुहोस जेलबाटै सुरक्षा चुनौतीः गृहमन्त्रीलाई चिठी, सञ्चार उद्यमीलाई ‘थ्रेट’

कानूनी व्यवस्था

विगतका वर्षमा अभियुक्त फरार हुने घटनामा सुरक्षामा खटिएका अधिकृतकै पनि संलग्नता देखिने गरिएको थियो । तर, अहिले यो प्रवृत्ति भने पातलिएको छ ।

‘अहिले नियतभन्दा पनि लापरबाही बढी देखिन्छ’, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘केही वर्षदेखि कारबाही कडा पारिँदा पनि यो परिवर्तन भएको होला ।’

अभियुक्तलाई हिरासतबाट भगाए अथवा भगाउन सहयोग गरेको पुष्टि भए १० वर्ष (जन्मकैद भएको भए) र ६ वर्ष (अन्य सजाय भएको भए) सम्म कैद सजायँ हुनसक्ने कानूनी व्यवस्था छ । घुस लिएर सहयोग गरेको भए बिगोसमेत जफत गरिने कारागार ऐन, २०१९ मा उल्लेख गरिएको छ ।

तर, अधिकांश घटनामा लापरबाहीको विषय भए पनि आन्तरिक कारबाही गरेर अधिकृतहरुलाई उन्मुक्ति दिइने गरिएको छ ।

भैंसीपाटीबाट तीन अभियुक्त फरार भएको घटनामा पनि १३ जना प्रहरी अधिकृत कारबाहीमा परेका छन् । ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार भैंसिपाटीका प्रहरी प्रमुख निरीक्षकसहित जिल्ला प्रहरी कार्यालयका ७ जना सिपाही र हवल्दारलाई पनि कारबाही गरिएको हो ।

‘यहाँबाट मुद्दा चलेको घटनामा ठाउँ नभएको भन्दै भैंसेपाटीको हिरासतमा लगिएको थियो’, राईले अनलाइनखबरसँग भने, ‘त्यसैले यो प्रक्रियामा संलग्नलाई पनि कारबाही गरेका हौं ।’ उनले कारबाहीमा पर्नेको नाम नखुलाए पनि ३ जनाको बढुवा रोक्का, एक जनालाई सचेत र अन्यलाई नसियत दिइएको बताए ।

सिंहदारबार वृत्तबाट कैदी भागेको प्रकरणमा पनि तीन प्रहरी अधिकृत निलम्बित छन् ।

यो पनि पढ्नुहोस कैदीबन्दी भाग्ने शृंखला बढ्यो, सुरक्षामा गम्भीर लापरबाही

हत्कडीमा पनि समस्या

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल संरचनामा त्रुटि र कमजोरीका कारण छिटपुट रुपमा घटना भएको स्वीकार्छन् ।

‘आगामी दिनमा यसलाई दोहोरिन नदिन नेपाल प्रहरीले हिरासतका संरचनालाई परिवर्तन गर्ने क्रम थालेको छ’, डीआईजी पोखरेलले भने, ‘नयाँ निर्माण भइरहेका प्रहरी कार्यालयमा सुरक्षालाई ध्यानमा राखेर अत्याधुनिक हिरासत बनाइएको छ भने पुराना कार्यालयमा पनि परिवर्तन गर्ने काम थालिएको छ ।’

कतिपय अवस्थामा अभियुक्तको गम्भीरता नबुझ्दा पनि समस्या देखिएको बताउँदै उनले ड्युटीमा खटिने प्रहरीलाई पनि उपयुक्त निर्देशन र कडाइ गर्न भनिएको बताए ।

पूर्वडीआईजी मल्लका अनुसार अदालतभित्र हत्कडी लगाउन नपाइने प्रावधानले पनि कहिलेकाहीँ समस्या निम्त्याउने गरेको छ । ‘अमेरिका जस्तो देशमा पनि अदालतभित्र हत्कडी र नेल लगाउने गरेको भेटिन्छ, प्रहरी पनि हतियारसहित इजलासमा प्रवेश गर्छ’, मल्लले भने, ‘त्यसैले हाम्रो कानूनी व्यवस्थामाथि पनि पुनर्विचार गर्नु जरुरी छ ।’

भक्तपुर प्रहरी परिसरको मुद्दा शाखामा काम गरेका एक अधिकृतका अनुसार कतिपय अवस्थामा पर्याप्त जनशक्ति नहुँदा पनि समस्या हुन्छ ।

‘कहिलेकाहीँ ड्यूटीमा खटिएका प्रहरी अभियुक्तसँग यति नजिक हुन्छन् कि उनीहरुले नै खैनी, चुरोट किनिदिने गरेको भेटिन्छ । अर्थात्, अभियुक्तसँग प्रहरीको नियतवस नभए पनि एककिसिमको साँठगाँठ देखिन्छ’, ती अधिकृत भन्छन्, ‘यस्तो कुराले सुरक्षामा लुपहोल्स् सिर्जना गर्छ ।’

एक कनिष्ठ प्रहरी अधिकृतका अनुसार नेपाल प्रहरीसँग भएका अधिकांश हत्कडीमा पनि समस्या देखिन्छ । ‘कतिपयमा राम्रोसँग लक पनि लाग्दैन, कतिमा खुकुलो हुने समस्या छ’, उनले भने, ‘यसले अभियुक्तलाई भाग्ने सम्भावना हुन्छ ।’ यसलाई सुधार्नु आवश्यक रहेको अधिकृतहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस संविधान दिवसमा कार्यविधि विपरीत कैदी छुटे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

Advertisment