Comments Add Comment

कसरी बित्छ तपाईंको दैनिकी ?

तपाईं हामी अक्सर अरुलाई हेर्छौं । अरुको कुरामा चासो दिन्छौं । अरुले के गर्छ, कसो गर्छ, के खान्छ, कस्तो खान्छ ? चियोचर्चा गर्छौं । अब हामी एकपटक आफैँतर्फ फर्कौं । आफैँलाई हेरौं ।

‘म के खान्छु ? म कसरी खान्छु ? म के गर्छु ? म कहाँ जान्छु ? म कसरी बस्छु ?’ अर्थात् आफ्नो दिनचर्या, सोच चिन्तन, शैली कस्तो छ भनेर मूल्यांकन गरौं । यसका लागि तपाईं धेरै टाढा पुग्नपर्दैन, हिजोको दिनमा र्फकनुभए हुन्छ ।

हिजो मेरो दिन कसरी बित्यो ?

हिजो, तपाईं कतिबजे उठ्नुभयो ? उठेर के गर्नुभयो ? के खानुभयो ? कसरी खानुभयो ? दिनभरको कार्यतालिका कस्तो रह्यो ? तपाईं सुत्दा कति बजेको थियो ?

अब एक अनुमान गरौं । सम्भवत तपाईं बिहान ६ वा ७ बजे उठ्नुभयो । यो तपाईंको नियमित उठ्ने तालिका हो । आँखा खुल्नसाथ ओछ्यान छाड्न मन लागेन । तपाईंका हातहरु यन्त्रवत् मोबाइलमा पुग्यो । एकछिन फेसबुकमा आँखा दौडान थाल्नुभयो । फेसबुकमा हिजो तपाईंले पोस्ट गर्नुभएको स्टाटस वा फोटोमा कति लाइक आएछ ? कमेन्ट कस्तो कस्तो आएछ ? जान्न उत्सुकता जाग्यो ।

केही समय त तपाईं दंग पर्नुभयो, लाइक्स र कमेन्ट हेरेर । अब लाइक गर्ने पालो तपाईंको । अरुको स्टाटस र फोटोमा लाइक, कमेन्ट गर्न थाल्नुभयो । कसैले रमाइलो भिडियो पोस्ट गरेका रहेछन्, एकछिन त्यसमै भुल्नुभयो । हेर्दाहेर्दै टिठलाग्दा र हिंस्रक सामाग्रीहरु पनि फेला परे । कसैले दुर्घटनाको भयानक तस्वीर पोस्ट गरेका रहेछन्, हेर्दै तपाईंको मन अत्तालियो ।

हत्या, मारकाट, हिंसा, बलात्कार, ठगीका सामाग्रीहरु पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिए । हेर्दाहेर्दै तपाईंको पारो तातियो । रगत उम्लन्छ जस्तै भयो, कतिपय सामाग्री हेर्दा त ।

अहो ! कति छिटै एक घण्टा बितेछ । सामाजिक सञ्जाल हेर्न थालेपछि घडीको काँटा पनि तीब्र गतिमा घुम्छ कि क्या हो ? तपाईंलाई यस्तो पनि लाग्न सक्छ । हतार-हतार उठ्नुभयो । अफिस वा कार्यथलो पुग्ने हतारो भयो । हतारोमा शौचालय जानुभयो ।

अहिले तपाईंलाई मोबाइल नहेरी शौचक्रिया फत्ते गर्न गाह्रो हुन थालेको छ । शौचालयमा बसिरहँदा पुन गेम खेल्न थाल्नुभयो ।

फ्रेस भएर फर्किए पछि तात्तातो दूध-चिया पिउने तलतल लाग्यो । लगत्तै खाना पकाउनुभयो/खानुभयो । अहिले खाना खाइरहँदा पनि तपाईंको ध्यान मोबाइलमा जान्छ । बेलाबखत खाना खाइरहेकै बेला फोन आउँछ । एकातिर मोबाइल र अर्कोतिर दिनभरको कामबारे सोच्दासोच्दै तपाईंले भुल्नुहुन्छ कि, आजको खाना कस्तो थियो ?

खानाको स्वाद नै हेक्का हुँदैन । तपाईंलाई थाहा नभएको होइन, ‘खाना भनेको आरामले स्वाद लिएर खानुपर्छ । राम्ररी चपाएर मात्र निल्नुपर्छ ।’ तर, तपाईंलाई यस्तो फुर्सद कहिल्यै भए पो ?

अब तपाईं कार्यथलोतर्फ लाग्नुभयो । दिनभर काममा लाग्नुभयो । तपाईं आफ्नो कामप्रति पनि उति सन्तुष्ट हुनुहुन्न । किनभने तपाईंले जुन काम, जसरी गरिरहनुभएको छ, त्यसले तपाईंका इच्छा-आकंक्षा पुरा हुने छाँट छैन ।

तपाईं अधिकतम सुविधाभोगी जीवनको कल्पना गर्नुहुन्छ । तर, तपाईंको आयस्रोत एवं आयआर्जन त्यस अनुरुप छैन । त्यसैले तपाईंमा काम गर्ने जाँगर पनि मर्दै गएको छ । काम गरिरहँदा तपाईं तनावग्रस्त रहनुहुन्छ । काममा तपाईंले कहिलेपनि सन्तुष्टि पाउन सक्नुभएन ।

साँझ घर र्फकदा शरीर थाकेको हुन्छ । यस्तो अवस्थामा तपाईं केही पेग मदिरा चढाउनुहुन्छ वा चुरोटको सर्को तान्नुहुन्छ । तपाईंलाई लाग्छ, दिनभरको थकान मेट्न र मानसिक तनाव हटाउन यही नै सही उपाय हो ।

मदिरा वा चुरोटको लत नहुन पनि सक्छ । यद्यपि तपाईं थकित ज्यानलाई आरम दिलाउन फेसबुक वा भिडियो गेमकै साहरा लिन थाल्नुहुन्छ । राति अबेर खाना खानुहुन्छ । खाना खाएको केही क्षणमै तपाईंलाई निद्राले सताउन थाल्छ । तर, ओछ्यानमा घुसि्रएपछि निद्रा कहाँ भाग्छ ?

मोबाइल नचलाई निद्रा मरिगए लाग्दैन । मोबाइल चलाउन थालेपछि साथीभाइ च्याटमा आउँछन् । कुराकानी गर्नै पर्‍यो । कुराकानी गर्दागर्दै रात बितेको पत्तो हुँदैन । अब त तपाईंको निद्रा पनि कहाँ भाग्छ, कहाँ । राती साढे ११ वा १२ बजेसम्म कोल्टे फेर्दाफेर्दै बल्ल निदाउनुहुन्छ ।

अर्को दिन, झलमल्ल घाम छिप्पिएपछि मात्र तपाईंको आँखा खुल्छ । आँखा खुलेपछि फेरि उस्तै दैनिकी सुरु हुन्छ । मोवाइल, फेसबुक, भिडियो गेम, काम, धपेडी, तनाव, असन्तोष, महत्वकांक्षा ।

………….

के दिनभरमा तपाईंले आफैँलाई सोच्नुभयो ? आफ्नो स्वास्थ्यप्रति ख्याल राख्नुभयो ? आफुले खाएको खानाबारे हेक्का राख्नुभयो ?

यी कुरा त तपाईंले भुसुक्कै बिर्सिनुभयो । तपाईंले बिहानको छाक कति पोषिलो र ताजा थियो भन्ने कुराभन्दा बढी त तपाईंले पोस्ट गरेको सामाग्रीमा के कस्ता प्रतिक्रिया आए भन्नेमा ध्यान दिनुभयो । बिहान शारीरिक कसरत एवं व्यायाम गर्ने कुरा तपाईंलाई उति महत्वपूर्ण लागेन, जति कुनै जग्गा लेनदेनबाट प्राप्त हुने कमिसनबारे सोच्नुभयो । कार्यथलोमा काम गरिरहँदा पनि त तपाईंले आफ्नो काममा रमाउन सक्नुभएन । बरु कहिले काम सकिएला र घर र्फकन वा साथीभाइसँग जमघट गर्न पाइएला भन्ने कुरामा हतारो भयो ।

सारमा भन्नुपर्दा तपाईंको दैनिकी अस्तव्यस्त रह्यो । तनाव र धपेडीमै तपाईंको दिन बित्यो । यस्तो दैनिकीले तपाईंलाई कहाँ पुर्‍याउँछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment