Comments Add Comment

भीभीआईपीको मुटु छामेका डाक्टर

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजपरिवारको मुटु छामिसकेका डाक्टरको अनुभूति

१२ असोज, काठमाडौं । नर्भिक अस्पतालको रुम नम्बर १००५ । डा. यादवदेव भट्ट बिरामी जाँचिरहेका छन् । एक हुल बिरामी ढोका बाहिर पालो पर्खिरहेका छन् ।

डा. भट्ट सोध्छन्, ‘के हुन्छ तपाईलाई, के समस्या आयो ?’

युवक बिरामी बोले, ‘सास फेर्न असजिलो महसुस भएको छ, मुटुमा केही खराबी आयो कि भनेर… ।’

मुख्य समस्या सुनेपछि केही क्षण मित्रवत पारामा थप सोधपुछ भयो । डाक्टर र बिरामीको संवाद वर्षौंदेखि परिचितको जस्तो सुनिन्थ्यो। सजिलो डाक्टरबाट बडा सहज परामर्श लिएपछि विनित युवक धन्यवाद दिएर बाहिरिए।

००००

डाक्टरी जीवनको १२ वर्ष गंगालाल हृदयरोग केन्द्रमा बिताएका उनी गत पाँच वर्षदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा छन्, कार्डियो विभाग प्रमुखको जिम्मेवारीमा । डा. भट्टको बिरामीको सूचीमा सार्वसाधारणदेखि भीभीआईपीसम्म छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसम्म ।

पूर्वराजपरिवारका सदस्यहरुको मुटुको ‘ट्रयाक रेकर्ड’ डा. भट्टसँगै छ ।

भीभीआईपीदेखि सर्वसाधारणसम्म

गत माघमा पाटनमा पूजा गर्न जाने क्रममा पूर्वयुवराज पारस शाहलाई तेश्रोपटक हृदयाघात भएको थियो । तत्काल थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको मुटुमा पहिल्यै ‘स्टेन्ट’ राखिसकेकाले खतरा बढी थियो । डा. भट्टको टिमले तत्कालै गरेको ‘एञ्जियोप्लास्टी’ पारसको हकमा बरदान सावित भयो ।

०६३ सालमा डा. भट्टले नै पारसको मुटुमा ‘स्टेन्ट’ राखेका थिए । ०७२ सालमा विदेशमा रहँदा पारसलाई दोस्रोपटक हृदयाघात भएको थियो । तेस्रोपटक उनको मुटुको शक्ति फिर्ता ल्याइदिने पनि भट्ट नै भए ।

अहिले पूर्वराजपरिवारका अधिकांश सदस्य मुटुको अवस्था बुझ्न नियमित रुपमा नर्भिक धाउँछन् । अवस्थाले डा. भट्टलाई पूर्वराजपरिवारको निजी चिकित्सक बनाएको छ । पारसलाई पटक-पटक मृत्युबाट जोगाएका भट्टलाई पूर्वराजपरिवारले ठूलो सम्मान दिएको छ । यसको अन्य अर्थ नलाग्ने बताउँदै डा. भट्ट भन्छन्, ‘उहाँहरु मात्र होइन, अरु पनि धेरैले दिएको सम्मानले आत्मसन्तुष्टि मिल्छ ।’

उनले विदेशमा गरेको उपचार असफल भएर आएका भीभीआईपीदेखि सामान्य नेपाली नागरिकसम्मको रोग निदान गरेका छन् । त्यस्तो केशले पनि विशेष आत्मसन्तुष्टि मिल्ने डा. भट्ट बताउँछन् । उनी भन्छन्, ‘मैले कमाएको विश्वसनीयताका कारण भीआईपीहरु आउनुहुन्छ, बढी आनन्दचाहिँ सामान्य मानिसको सफल उपचार गर्दा हुन्छ ।’

मिर्गौलाका बिरामी प्रधानमन्त्री केपी शर्मा ओलीले डा. भट्टलाई बालुवाटार बोलाइरहन्छन् । बालुवाटार पुग्दा उनलाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको उपचार गरेको झल्को आउँछ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निजी चिकित्सक डा. करविरनाथ योगी थिए । मुटु उपचारका लागि भने डा. भट्ट पुग्नुपर्थ्यो । अहिले प्रम ओलीका निजी चिकित्सक डा. दिव्या सिंह छिन् । मुटु जाँचका लागि डा. भट्ट बालुवाटार पुगिरहनुपर्छ ।

मेरा भगवानको हात

डा. भट्टको ३० वर्षे डाक्टरी जीवनमा अनेक अविस्मरणीय क्षण छ । तीन वर्षअघि अमेरिकी पर्वतारोही कोनार्ड एंकरलाई ‘रेस्क्यु’ गरेर नर्भिक ल्याइएको थियो । उनको अवस्था जटिल थियो । तीनपटक सगरमाथा आरोहण गरिसकेका उनलाई हिमाल चढ्ने क्रममै हृदयाघात भएको थियो ।

गम्भीर रोगहरुसम्बन्धी प्रशिद्ध ‘मियो क्लिनिक’का ब्राण्ड एम्बेस्डर रहेका एंकरलाई डाक्टर भट्टको टोलीले बचायो । अर्को वर्ष नेपाल आउँदा एंकर नर्भिक अस्पताल आएर डा. भट्टको दुवै हातको फोटो खिचेर लगे । अमेरिका फर्केर उनले त्यो फोटो इन्स्टाग्राममा पोस्ट गर्दै लेखे- ‘मेरा भगवान अर्थात नेपाली डाक्टर यादवदेव भट्टको हात हो यो, जसले मलाई एक वर्षअघि पुनर्जन्म दिए ।’

डा. भट्टले एंकरको इन्स्टाग्राममा दर्जनौं प्रतिक्रिया पढे, जसमा नेपाल देशबारे पनि गजब-गजबका उदगार थिए । उनले नेपालका केही दुर्गम गाउँहरुमा  स्कुल र पुस्तकालय बनाइदिएको कुरा त्यही इन्स्टाग्रामबाट थाहा पाए । त्यो घटना पनि डा. भट्टको जीवनमा अविस्मरणीय बन्यो । ‘चिठी लेखेर धन्यवाद भन्नेदेखि कोसेली बोकेर आउनेसम्म धेरै छन्’, उनी भन्छन्, ‘सबै प्रसंग बताउँदा त ‘डाक्टरको महाभारत’ नै बन्छ ।’

‘५० लाखले अत्याधुनिक मेसिन आउँछ’

डा. भट्टले गंगालालमा नयाँ-नयाँ प्रविधि भित्र्याउन र नयाँ चिकित्सकहरुलाई तालिम दिन महत्वपूर्ण भूमिका खेले । त्योबेला चिकित्साशास्त्र विज्ञान प्रतिष्ठान (न्याम्स) मा पढाउन र नर्भिक अस्पतालमा ‘पार्ट टाइम’ काम गर्न पनि भ्याए ।

तर, गंगालालमा १३ वर्ष पुग्दै गर्दा एकाएक राजीनामा दिए । किन त ? यो प्रश्नमा डा. भट्ट धेरै खुल्न चाहेनन् । यति भने, ‘दिनभर गंगालाल र रातभर नर्भिकमा काम गर्दा परिवारलाई समय दिन सकिनँ र सरकारी सेवामा राजीनामा दिएँ ।’

बरु उनले मुटु रोगको उपचारमा चाहिने आधुनिक प्रविधि नेपाल भित्राइसकेको बताए । उनका अनुसार, बिनाअपरेशन मुटुको भल्भ फेर्ने प्रविधि पनि आइसकेको छ । ‘हामीलाई त्यो प्रविधि पनि अत्यावश्यक भइसकेको छ’, उनले भने, ‘नेपालमा अब असम्भव केही छैन । तर, प्रविधिमा ५० लाख खर्च गर्न को तयार हुने ?’

गर्न धेरै बाँकी छ

डा. भट्ट अहिले बिरामीको उपचारसँगै देश-विदेश मञ्चहरुमा आफ्नो अनुभव सुनाउने र नेपालका विभिन्न अस्पताल गएर पढाउने काम पनि गरिरहेका छन् । निरन्तर सिक्ने, सिकाउने प्रकियामा रहेका उनी वर्षमा एकपटक विश्वका नामुद डाक्टरहरुलाई बोलाएर नेपालमै सम्मेलन गर्छन् । नर्भिकमा आठ जना मुटुरोग विशेषज्ञ टोलीको नेतृत्व गरिरहेका उनका अनुसन्धान पेपरहरु विभिन्न जर्नलमा छापिएका छन् ।

बेलुनले मुटुको भल्भ खोल्नु, बिनाअपरशेन मुटुको प्वाल टाल्नु, एञ्जियोप्लास्टी गर्नु, पेसमेकर राख्नु उनको दैनिकी हो । सिक्दै र सिकाउँदै यहाँसम्म आइपुगेका उनी अझै धेरै गर्न बाँकी रहेको बताउँछन् ।

****

पुर्ख्यौली घर बैतडी भएका डा. भट्ट काठमाडौंमै जन्मिए । बूढानीलकण्ठ स्कुलको पहिलो ब्याच उनी अस्कल क्याम्पसबाट आईएस्सी गरेर एमबीबीएस गर्न दक्षिण भारतको मधुराईमा रहेको कामराज विश्वविद्यालय पुगे । एमबीबीएस सकेर फर्कनासाथ वीर अस्पतालमा एक वर्ष काम गरे।

त्यसक्रममा कार्डियोलोजीमा रुचि बढेको उनी बताउँछन् । त्यो रुचिले उनलाई चण्डीगढको पोस्ट ग्रेजुएशन इन्स्टिच्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च सेन्टरमा पुर्‍यायो । त्यहाँबाट एमडी र डीएम (डाक्टर इन मेडिसिन) उपाधि लिएपछि उनले भारतकै सरकारी अस्पतालमा लामो समय कार्डियोलोजिष्टका रुपमा काम गरे ।

डा. भट्टले सन् २००४ मा नेपाल आएर गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पहिलोपटक एन्जियोप्लास्टी गरे । ‘भर्खरै खुलेको अस्पतालमा भौतिक पूर्वाधारको अभाव थियो’, उनी सम्झन्छन्, ‘त्योबेला बिनाचिरफार मुटुको उपचार गर्नु ठूलो चुनौती थियो ।’

खानपान र जीवनशैली सुधारौं

डा. भट्टकहाँ आउनेमध्ये अधिकांश ब्लड प्रेसर र मुटुका भल्भ कमजोर हुने समस्याबाट ग्रसित हुन्छन् । अहिले ब्लड प्रेसर संसारभरको साझा समस्या बनेको छ । उनका अनुसार, जन्मजात मुटुरोग हुने र मुटुको मसल कमजोर हुने समस्या पनि उल्लेख्य रुपमा बढेको छ ।

मुटुको चालमा गडबडी हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । ‘हिजोआज त बच्चा र युवामा पनि मुटुरोग अत्यधिक देखिएको छ’, डा. भट्ट भन्छन्, ‘युवालाई धमाधम हर्टअट्याक हुन थालेको छ ।’

उनका अनुसार जेनेटिक, ब्लड प्रेसर, डायबिटिज, कोलस्ट्रोल, धूमपान र इन्फेक्सनका कारण मुटुरोग लाग्छ । खानपान र जीवनशैलीमा सुधार गरे मुटु रोगबाट बच्न सकिने बताउँदै उनी भन्छन्, ‘यी त डाक्टरलाई थाहा भएका ‘रिस्क फ्याक्टर’ हुन् । थाहा नभएका धेरै कुरा छन्, जो मानव मुटुका लागि घातकसिद्ध भइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment