Comments Add Comment
प्रहरी प्रवक्ता भन्छन् :

‘चाबी ठोकेर गाउँ जाँदै हुनुहुन्छ ? फेसबुकमा नलेखौं !’

घरैमा तास खेल्दा पनि लेनदेन गरेको भेटिए कारवाही हुने

१८ असोज, काठमाडौं । दशैंका बेला शहरमा रहेको डेरा वा घरमा तालाचाबी ठोकेर गाउँतिर जाने चलन अधीक छ । यस्तो बेलामा रित्तो घरमा चोर छिर्ने पो हो कि भन्ने चिन्ता घरबेटी र प्रहरी दुबैलाई हुन्छ ।

यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेललाई दशैंको सुरक्षा प्रवन्ध नेपाल प्रहरीले कसरी गरिरहेको छ भनेर चासो राख्यौं । प्रवक्ता पोखरेलले दशैंका बेला कोठामा चाबी ठोकेर घरतिर जाँदा फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेर नहिँड्न आम नागरिकसँग आग्रह गरेका छन् । घरै बन्द गरेर जाने हो भने नजिकैको प्रहरीलाई जानकारी गराएर जानु राम्रो हुने पोखरेलको सुझाव छ ।

दशैं हो भन्दैमा कानून मिच्ने छुट कसैलाई नभएको प्रहरी प्रवक्ता पोखरेलले स्पष्ट पारे । दशैंमा घरभित्र बसेर तास खेल्दासमेत पैसाको लेनदेन गरिएको भेटिए प्रहरीले पक्रन सक्ने पोखरेलले बताए । तर, रक्सी पिएर मातेको व्यक्ति आफ्नै घरैमा शान्तसँग बसिरहेको अवस्थामा उसलाई प्रहरीले नचलाउने पोखरेलले बताए ।

हिन्दु धर्मवलम्बीहरुको महान चाड दशैंलाई लक्षित गरेर नेपाल प्रहरीले देशभर ४२ हजार ६ सय १९ प्रहरी परिचालन गरेको पोखरेल बताउँछन् । दशैंमा हुन सक्ने अपराध पाकेटमारी, जुवातास, ठगीजस्ता अपराधलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना लागू गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

प्रवक्ता पोखरेलका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत दशैं आउनु महिना दिनअघिबाटै सचेतनाको कार्यक्रम सञ्चालन गरिएको थियो । सुरक्षा सबैको साझा विषय भएकाले सर्वसाधारणसँग हातेमालो गरेर प्रहरी अघि बढेको पोखरेलको भनाइ छ ।

दशैंजस्तो चाडबाडको बेला नेपाल प्रहरीले कसरी सुरक्षाको प्रवन्ध मिलाइरहेको छ त ? प्रहरी प्रवक्ता पोखरेलसँग अनलाइनखबरले गरेको कुराकानी–

दशैंमा विभिन्नखाले अपराध हुने गर्छन् । प्रहरीले शान्ति, सुरक्षालाई कसरी व्यवस्थित बनाइरहेको छ ?

– हरेक चाडपर्वको समयमा के कस्ता घटना हुन्छन् भन्ने विषयलाई नेपाल प्रहरीले विगतका प्रवृत्तिका आधारमा मूल्यांकन गरिसकेको छ । हामीले लगभग पाँच आर्थिक वर्षको अपराधको प्रवृत्ति र कारणको विश्लेषण गरेर अपराधलाई न्यूनीकरण गर्ने हिसाबले नयाँ कार्ययोजना लागू गरेर अघि बढेका छौं । यो वर्षको दशैंमा कुनै नेपाली नागरिकको घरमा आँशु चुहुनु नपरोस्, अप्रिय घटना नहोस् भन्ने हिसाबले योजना बनेको छ ।

खास गरेर दशैंमा सबैभन्दा बढी हुने घटना भनेको सवारी दुर्घटना हो । त्यसपछि कर्तव्य ज्यान, कुटपिट, झैं–झगडा, जुवातास, लागूऔषधसम्बन्धी अपराध बढी हुने गरेको विगतले देखाउँछ । ती सबैलाई रोक्नका लागि हामीले मोबाइल, पिकेट र योजनाअनुसार नियमित चेकिङको व्यवस्था गरेका छौं । त्यसमा भिगरस र सरप्राइज चेकिङ पनि छ । पैदल गस्ती, मोटरसाइकलमा क्यूआरटी, साइकल गस्ती र सादा पोशाकमा प्रहरी परिचालन पनि गरिसकेका छौं ।

नाकामा कुकुरसहितको चेकजाँच टोली खटिएको छ । होटल लजहरुमा हाम्रो विशेष निगरानी छ, आवश्यकता अनुसार ‘कर्डन एण्ड सर्च तथा रेड’ पनि हुनेछ ।

यी सबै कार्यका लागि छुटछुट्टै टोली परिचालित छ । त्यसैले विगतभन्दा यसपटकको दशैं, तिहारमा अपराधका धेरै न्यून मात्र अपराधका घटना हुन्छन् भन्ने नेपाल प्रहरीको अपेक्षा छ ।

जसले साँचोका भरमा घर एक्लै छाडेर बाहिर जानुपर्ने हुन्छ, उहाँहरुलाई नजिकको प्रहरी कार्यालयमा सूचना दिनका लागि पनि अनुरोध गरेका छौं

कार्ययोजना हरेक वर्ष बन्छन् । यो वर्ष अपराधका घटनामा कमी आउनका लागि विगतभन्दा फरक योजना चाहिँ के छ ?

– हामीले विगतको अवस्थालाई विश्लेषण गरेर अपराध वा दुर्घटना हुनसक्ने लगभग ८ हजार ५ सय भन्दा बढी सम्भाव्य स्थानको परिचान गरेर सुरक्षाकर्मी परिचालन गरेका छौं । यसका लागि करिब ४३ हजार जनशक्ति परिचालित भएका छन् । परिचान गरिएका ती क्षेत्रमा यसपटक हाम्रो प्राथमिकतामा छन् ।

दोस्रो चाहिँ हामीले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि धेरै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिसकेका छौं । अहिले पनि यही १२, १३ र १४ गते हामीले नेपालभरि ‘सवारी चालक सचेतनामूलक अभियान’ चलायौं । त्यसमा पहिलो दिन प्रहरी महानिरीक्षकज्यूबाटै काठमाडौंको नयाँ बसपार्कमा उत्कृष्ट सवारी चालकलाई सम्मानका कार्यक्रम भयो ।

साथै, यो वर्षमा चाडवाडमा कुनै पनि अप्रिय घटना हुन नपओस् भन्ने किसिमले सवारी चालकहरुलाई एउटा सन्देशमूलक कार्यक्रम पनि राख्यौं र सचेत गराएका छौं । त्यसमा चढ्ने यात्रुको भूमिका के रहन्छ र प्रहरीको भूमिका के हुन्छ ? यी सबै विषयमा हामीले अन्तरक्रिया गरेका थियौं । जसले भोलिका दिनमा हुनसक्ने घटना कम हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौं ।

अन्य प्रकारका अपराध रोकथामका लागि हामीले आम नागरिकलाई माइकिङ, पर्चा–पम्प्लेट वितरण गरेर सचेतना फैलाइरहेका छौं । जसले साँचोका भरमा घर एक्लै छाडेर बाहिर जानुपर्ने हुन्छ, उहाँहरुलाई नजिकको प्रहरी कार्यालयमा सूचना दिनका लागि पनि अनुरोध गरेका छौं । विभिन्न विधिबाट यसपटक हामीले व्यापक रुपमा सुरक्षा सचेतना र अनुरोधका कार्यक्रम नागरिकसमक्ष पुर्‍याएका छौं ।

दशैंमा घरपरिवार बसेर रमाइलोका लागि तास खेल्ने चलन छ । तपाईंहरुको निगरानी कहाँ–कहाँ हुन्छ ? विगतमा ४/५ हजार रुपैयाँ पनि बरामद गरेका विवरण पनि आएका थिए…

– आर्थिक लेनदेनको हिसाबले खेलिने जुवातासलाई कानूनले निषेध गरेको छ । त्यसैले यसमा बरामद भएको रकम हेर्नेभन्दा पनि निषेधित कार्य कसैबाट गरिएको छ भने त्यसमा कानून आकर्षित हुन्छ भन्ने बुझ्नुपर्छ । त्यस्ता विषय नियन्त्रण गर्ने, रोक्ने र कानून कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीको हो ।

तर, हामी मनोरञ्जनका लागि कसैले आफ्नो परिवारभित्र बसेर तास खेलिरहेको छ भने त्यसमा ध्यान दिँदैनौं । यद्यपि, हार–जितको हिसाबले काहिँ खेल भयो भने त्यसमा कानून आकर्षित हुन्छ । र, कानून आकर्षित हुने ठाउँमा हामीले रोक्नुपर्छ । कानूनी दायरामा ल्याउनुपर्छ ।

उसोभए, घरमा पनि पैसा राखेर खेलियो भने पक्राउ पर्छन् ?

– आर्थिक र हारजितको कुरा जोडियो भने कानूनको दायरामा आउँछ ।

दशैंका बेला मादक पदार्थ सेवन गरेर हिँडेर समाजमा भय सिर्जना गर्ने गरेको पनि देखिन्छ । त्यसलाई कसरी नियन्त्रणमा गर्दै हुनुहुन्छ ?

– कानूनद्वारा बर्जित विषय चाडपर्वका नाममा छुट पाउने अपेक्षा कसैले गर्नुहुँदैन । दशैं भनेर मादक पदार्थ सेवन गर्ने र त्यसले झैंझगडा वा अन्य कुनै पनि किसिमको अपराध भएको छ भने कसैले छुट पाउँदैन ।

तर, कसैले मादक पदार्थ सेवन गरेर घरभित्र बस्छ भने त्यसमा हात हाल्न हामी जाँदैनौं । त्यसैले मुख्य कुरा उसले गरेको कामबाट कानून उलंघन हुनु भएन ।

अन्य नागरिकको हक, अधिकार हनन् हुनु भएन भन्ने हो । कसैको गतिविधिले समाजमा शान्ति सुरक्षा प्रदान गर्न खलल पुर्‍याएको छ कि छैन भन्ने कुरा हाम्रो प्राथमिकता हो ।

केही दिनअघि नागढुंगामा ११/१२ घन्टा जाम भयो भनेर आयो । दशैंमा घर जाने समय र फर्किने बेलामा पनि सडकमा हुने समस्यालाई निराकरण गर्न प्रहरीका तर्फबाट के भइरहेको छ ?

– अहिले काठमाडौं लगायत मुलुकभरिकै सडकको स्थिति हेर्ने हो भने क्षमताभन्दा धेरै गुणा बढी सवारी साधन छन् । र, चाडपर्वको समयमा सबै नागरिक आ–आफ्नो सवारीसाधान लिएर गन्तव्यमा निस्किने हुँदा सडकमा सवारी चाप हुन्छ । यसले गर्दा विभिन्न ठाउँमा घन्टौं जाम हुन सक्ने अवस्था छ ।

सिटी एरिया र लामो दूरीको यात्रामा पनि यो अवस्था देखिन्छ । नागढुंगा सडकखण्डको हकमा चाहिँ विभिन्न समयमा सवारीसाधन सडकमा बिग्रिइराख्ने भएकाले पनि समस्या आउने गरेको छ ।

चोरी भएको अवस्थामा घटनास्थलमा प्रवेश नगरी तत्काल प्रहरीलाई खबर गर्दा अपराध गर्नेलाई समात्न सहज हुन्छ । कुनै पनि विषयमा शंका लागे तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गर्नुहुन अनुरोध छ

खास गरेर यो रुटमा एकातिर बाटो साँघुरो र पटक–पटक सवारी साधन बिग्रिँदा ‘टु वे’ सवारी साधान चलाउन अप्ठ्यारो परेको छ । त्यसलाई निराकरण गर्नका लागि काहीँकतै सवारी साधन बिग्रिए तत्काल सुचारु गराएर नियिमित ढंगले सवारी चलाउन छुट्टै टोली खटाएका छौं ।

कतिपय अवस्थामा ट्राफिक नियम उलंघन, तीब्र सवारी चाप, ओभरटेक र लेन अनुशासनको पालना नगर्दा पनि जाम हुन जान्छ । त्यसैले हामीले ट्राफिक प्रहरीको संख्यालाई बढाएर निगरानी पनि थप मजबुत बनाएका छौं ।

त्यसैले हिजोका दिन जुन किसिमको विकराल स्थिति देखिएको थियो, त्यसमा अहिले धेरै सुधार भइसकेको अवस्था छ ।

दशैंको समयमा लुटपाट चोरी, ग्याङ फाइट हुने गरेको देखिन्छ । त्यसबाट जोगिन आम नागरिकले के गर्ने ?

– चाडवाडको समयमा आम नागरिक उत्सवमा रमाउँछन् । तर, सबै उत्सवमा रमाइरहेको मौका छोपेर अपराध गर्नेहरु सल्बलाउने गरेका छन् । चोरी, लुटपाट जस्ता घटना हुने गरेको देखिन्छन् ।

यो समयमा यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा तथा पेय पदार्थ सकेसम्म खानुहुँदैन । विभिन्न वहानामा अपराधिक पृष्ठभूमिका व्यक्ति सुराकी गर्न आउन सक्ने भएकाले अपरिचित व्यक्तिलाई घरमा प्रवेश गर्न पनि नदिँदा राम्रो हुन्छ ।

घरका सबैजना बाहिर गएको विषय सामाजिक सञ्जालमा सार्वजनिक नगर्नु राम्रो हुन्छ । बहुमुल्य गरगहना लगाएर भिडभाड वा एकान्त ठाउँमा पनि सकेसम्म नहिँड्न हाम्रो सुझाव छ । धेरै नगद घरमा नभई, बैंकमा राख्ने बानी बसाल्नुपर्छ ।

काहीँ पनि चोरी भएको अवस्थामा घटनास्थलमा प्रवेश नगरी तत्काल प्रहरीलाई खबर गर्दा अपराध गर्नेलाई समात्न सहज हुन्छ । कुनै पनि विषयमा शंका लागे तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गर्नुहुन अनुरोध छ ।

– पछिल्लो समय कतिपय घटनामा प्रहरी आफैं पनि विवादमा मुछिँदै आएको छ । अहिले दशैंको समयमा सबैभन्दा सुरक्षा दिनुपर्ने जिम्मेवारी पनि छ । यो अवस्थामा नेपाल प्रहरी आम नागरिकको अपेक्षा अनुरुपको सुरक्षा दिन कत्तिको सक्षम छ ?

सुरक्षा भनेको साझा विषय हो । यसमा सबैभन्दा पहिले सम्बन्धित व्यक्ति स्वयम्ले ध्यान दिनुपर्छ । त्यसपछि मात्रै प्रहरीको भूमिका आउँछ । त्यसैले शान्ति सुरक्षा कायम गर्ने विषयमा प्रहरी र आमनागरिक साझा रुपमै अघि बढ्यौं भने त्यस्ता किसिमका घटना हुन पाउँदैनन् ।

प्रहरीले गरेन भनेर आलोचना मात्रै गर्नुभन्दा पनि साथ सहयोग दिनुपर्छ र सुरक्षामा हामी संयुक्त रुपमा जानुपर्छ । जहाँसम्म जनअपेक्षाको कुरा छ, दशैंमा मात्र नभएर अन्य समयमा पनि हामीसँग ठूलो अपेक्षा हुन्छ । सरकारको ‘फ्रन्टलाइन एजेन्सी’ भएकाले पनि ठूलो अपेक्षा राखिनु स्वाभाविक हो ।

शान्ति सुरक्षामा नेपाल प्रहरीले एकदमै राम्रो भूमिका निर्वाह गरिदियोस् । प्रहरीको सेवा प्रवाह निष्पक्ष र पारदर्शी होस्, हरेक किसिमले नेपाल प्रहरी सक्षम देखियोस् भन्ने हिसाबले सरकारको पनि अपेक्षा र चिन्ता छ ।

अहिले त झनै वर्तमान सरकार प्रमुखबाट मन्त्री तहदेखि राज्य संयन्त्रका हरेक प्रमुखसँग कार्यसम्पादन सम्झौताको नयाँ अभ्यास भएको छ । प्रहरीसँग पनि यो किसिमको सम्झौता भएको छ र त्यसमा उल्लेख भएका विषयलाई निश्चित अवधिमा प्राप्ति गर्नका लागि हामी योजनावद्ध ढंगले अघि बढेका छौं । त्यसैले प्रहरीलाई कुनै पनि विषयमा शंका गर्नुपर्ने ठाउँ छैन ।

तस्वीरहरुः चन्द्र आले मगर/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment