Comments Add Comment

नेपाल कतै ढल्केको छैन

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले नेपाल कुनै पनि देशतिर नढल्किएको बताएका छन् । नेपालको मान्यता सबैसँग मित्रता गाँस्ने, तर कसैसँग शत्रुता नलिने रहेको डा. भट्टराईले बताए ।

पछिल्लो समय नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीवीच भएको प्रशिक्षण र सम्झौता आदान-प्रदानपछि सरकार चीनतिर ढल्किन थालेको आरोप लाग्दै आएको छ । अझ, चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशलाई झनै नजिक बनाउन लागेको विश्लेषण विभिन्न कित्ताबाट भइरहेको छ ।

यिनै सन्दर्भमा अनलाइनखबरले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईसँग गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ-

तपाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार हुुनुहुन्छ, पछिल्लोपटक चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्झौता र प्रशिक्षणमा प्रधानमन्त्रीको सहभागितालाई लिएर कतिपयले असंलग्नताको नीतिबाट नेपाल पछि हटेको भनेका छन् । वास्तवमा के भएको हो ?

मैले यस्ता टिप्पणी र सम्पादकीयसम्म पढेको छु । हामीलाई अलिकति लाज पनि लाग्छ, बौद्धिक तहबाट यस्ता टिप्पणी गर्दा । नेपालको परराष्ट्र नीतिका आधारभूत पक्षहरु छन्, त्यसबाट अहिलेको सरकार र नेपाल कम्युनिस्ट पार्टी दायाँ-बायाँ गर्दैन भन्ने सबैले बुझे हुन्छ । यसमा हामी अत्यन्त सजग र सचेत छौं ।

नेपाल कम्युनिस्ट पार्टीको चिनयाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध अहिलेदेखिको होइन । विसं. २००६ सालमा नेकपाको स्थापना भयो । २००९ सालमा तत्कालिन नेकपाका महासचिव मनमोहन अधिकारी चीनिया कम्युनिस्ट पार्टीको निम्तोमा त्यहाँ गएर उपचार पनि गराउनुभयो र दुई तीन महिना त्यहाँ रहनु पनि भयो । त्यसपछि लगातार नेकपाको सम्बन्ध चिनियाँ कम्युनिस्ट पार्टीसँग छ ।

हाम्रो त्यो सम्बन्धभन्दा अरु केही भएको छैन । हाम्रो सम्बन्ध अन्य देशका पार्टीहरुसँग पनि छ । त्यो कार्यक्रम जुन भयो, प्रधानमन्त्री नेकपाको अध्यक्ष पनि हो । त्यो कार्यक्रम पार्टीले आयोजना गरेको हो र दुवै पक्षले आ आफ्ना विचार व्यक्त गरेका हुन् । सी विचारधारा उहाँहरुले आफ्नो विचारधारको रुपमा अघि बढाउनुभएको छ । त्यसका आफ्ना विशेषता छन् । हामी हाम्रो विचार अनुसार पार्टी चलाउँछौं । विरोध गर्नका लागि विरोधको विषय बनाउने एउटा कुरा हो । होइन भने नेकपाका बारेमा अनावश्यक भ्रम छरेर केही हुनेवाला छैन ।

सरकार चीनतिर ढल्किएको भन्ने विपक्षीको आरोपबारे के जवाफ दिनुहुन्छ ?

हिजो नेपाल एकातिर ढल्किएको भन्ने कतिपय आरोपहरुबाट माथि उठेर अहिले हामीले दुवै छिमेकी र अन्य अन्तर्राष्ट्रिय समुदायसँग समेत अत्यन्त राम्रो र सन्तुलित, सुमधुर सम्बन्ध बनाएका छौं । यो बीचमा कतिपय ऐतिहासिक भ्रमणहरु पनि भए ।

राष्ट्रपतिज्यूले चीनको राजकीय भ्रमण गर्नुभयो । कतार र पोल्याण्ड भ्रमणमा जानुभयो । संयुक्त राष्ट्रसंघको भ्रमणमा जानुभयो । उपराष्ट्रपति अष्टे्रलियाको भ्रमणमा जानुभयो, चीनको भ्रमणमा जानुभयो । प्रधानमन्त्रीज्यू भारत र चीनको भ्रमण गरेर बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुभयो ।

हाम्रोतर्फबाट अत्यन्त सन्तुलित हिसाबले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा विकासमा पहल गरेका छौ । निकट भविश्यमा राष्ट्रपतिज्यूका केही भ्रमण हुन गइरहेका छन् ।

बाहिरबाट हामीले निम्ता गरेर यही बीचको समयमा भारत,पाकिस्तान, कम्बोडिया लगायतका देशका प्रधानमन्त्रीहरुले नेपाल भ्रमण गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण यसैको सिलसिला हो ?

चिनियाँ राष्ट्रपति नेपाल आउने कुरामा कुरामा सकारात्मक वातावरण बनेको छ । हामी सिंगो मुलुक उहाँलाई स्वागत गर्न प्रतिक्षारत छ । किनकि चीनबाट उच्चस्तरको भ्रमण नभएको लामो समय भएकाले यसपटक त्यो वातावरण बनेको छ ।

चीनका राष्ट्रपतिको भ्रमण कुन-कुन एजेण्डामा केन्द्रित हुनेछ ?

स्वभाविकरुपमा हामी जसरी विकासको गतिलाई अघि बढाएर समृद्धिको यात्रामा जाँदैछौं । यो यात्रामा अघि जानका लागि र हाम्रो एजेण्डालाई साथ दिनका लागि हाम्रा छिमेकीलगायत मित्रराष्ट्रहरुको सहयोग हामीले लिनैपर्छ । त्यो सहयोग लिने कुरामा जसरी हामीले दक्षिणतिर पाइपलाइनका माध्यमबाट, रेलवेका माध्यमबाट कनेक्टिभिटी बढाएर कृषि, जलस्रोतका क्षेत्रमा सहयोग बढाइरहेका छौं, त्यही कुरा उत्तरसँग पनि हामी चाहान्छौं ।

हामी उत्तरतिर कनेक्टिभिटी बढाउन चाहान्छौं । लगानीका सम्भावनाहरुका बारेमा कुरा गर्दैछौं । लगानी र व्यापारलाई बृद्धि गर्न पूर्वाधारको क्षेत्रमा काम गर्न चीनको सहयोग अपेक्षा गरेका छौं । उच्चस्तरीय भ्रमणमा यी विषयहरु ओपेन हुन्छन् । तर, अहिले नै कुन-कुन विषयमा सम्झौता गर्ने भन्ने तय भइसकेको छैन ।

तपाईले अघि नेपाल अहिले कतै नढल्किने र आन्तरिक मामिलामा आफैं निर्णय गर्ने हैसियतमा पुगेको भन्नुभयो, तर पछिल्लो समय जसरी नेपाल मामिलामा चीन र अमेरिका आरोप-प्रत्यारोपमा उत्रिएका छन्, यी घटनाक्रमलाई कसरी लिने ? कतै नढल्किने नीतिकै कारण यस्तो भएको हो त ?

दुईटै कुरा हो । एउटा त के भने हाम्रो मान्यता सबैसँग मित्रता गाँस्ने, कसैसँग शत्रुता नलिने हो । त्यो नीतिबाट हामी दायाँ- वायाँ हुन्नौं । दोस्रो कुराचाहिँ कतिपय ग्लोबल पोलिटिक्सका बाछिटा देखिन्छन् । हामी त्यसलाई पनि हृयाण्डल गर्न सक्छौं ।

हामीले लिने हाम्रो सम्बन्ध राष्ट्रिय हितलाई ध्यानमा राखेर गरिने हो । हामी एउटासँगको सम्बन्धलाई अर्कोसँग जोडेर फाइदा लिने पक्षमा छैनौं । हामी अहिले कुनै पनि हिसाबले इण्डो प्यासिफिकको बुझाइमा पनि भ्रममा छैनौं । उहाँहरुको त्यो नीतिका कतिपय कुरामा हाम्रो राष्ट्रिय हितमा हुने कुरा रहेछन् भने सहकार्य हुन सक्छ भनेका छौं ।
बीआरआइमा पनि हाम्रो त्यही कुरा हो । हाम्रो हितलाई ध्यानमा राखेर बीआरआइमा हामी जाने हो । सहकार्य हुने ठाउँसम्म हामीसँगै जान्छौं । केपी ओलीको नेतृत्वमा बनेको राष्ट्रिय हितको परराष्ट्र नीतिले नेपालको मात्र हित हेर्छ र त्यसमा हाम्रा मित्र राष्ट्रहरुलाई पनि हामीले विश्वासमा लिएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment