वैशाखको १३ गते चलचित्र ‘छक्का पन्जा २’ फेरि हलमा चलाउने भन्दै यसको टिमले काठमाण्डौका मल्टिप्लेक्समा पैसा तिरेरै नयाँ ट्रेलर बजाए । यो मितिमा हलिउडको ठूलो चलचित्र ‘एभेन्जर्स इन्ड गेम’ पनि रिलिज हुँदै थियो ।
हलमा ट्रेलर बजाइसकेपछि पनि ‘छक्का पन्जा २’ले मल्टिप्लेक्समा एक शोज पनि पाएन । निर्माताले बजाएको ट्रेलरको पैसा पनि फिर्ता हुन सकेन । चलचित्र ‘छ माया छपक्कै’ रिलिज अगाडि कलाकार दीपकराज गिरीले हलवालाहरुको विरुद्धमा ठूलै आवाज उठाए । उनले, नेपाली चलचित्रका निर्माता मर्कामा पर्नु हुँदैन भन्दै आवाज उठाउँदा उनी निर्मित र अभिनित चलचित्रले केही मल्टिप्लेक्समा कम शो पायो । भलै, चलचित्र अहिले बम्पर व्यापारका साथ चलिरहेको छ ।
दीपकराजले आवाज उठाउँदा अरु निर्माता मौन बसे । यतीसम्म कि, कतिपय निर्माताले शोज नै नपाएको गुनासो गर्दै गर्दा निर्माताकै हक हितका लागि खोलिएको निर्माता संघले समेत एक शब्द बोल्ने हिम्मत राख्दैन ।
चलचित्र ‘मारुनी’लाई साउथको चलचित्र ‘साहो’ले एकलौटी रुपमा पेल्दा निर्मात्री पूनम गौतमको आवाजमा आवाज थपिदिने निर्माता कोही भएनन् । बरु, धेरै निर्माता अर्को निर्मातालाई पर्दा खुशी देखिए । कतिपयले त खुच्चिङ भन्न समेत भ्याए ।
कात्तिक ८ गतेबाट रिलिज हुन लागेको निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित तथा हेमराज वीसी निर्देशित चलचित्र ‘घामड शेरे’ले मल्टिप्लेक्समा निकै कम शो पायो । क्यूएफएक्स चेनले काठमाण्डौमा जम्मा ६ शोज दिएर हिन्दी चलचित्र ‘हाउसफूल ४’लाई च्याप्दा यसका निर्माता र वितरक जिल्ल परे ।
अपेक्षा भन्दा कम शो पाएपछि चलचित्र नै रिलिज नगर्ने निर्णयमा यसका मेकर पुगे । हलको मनोमानी, दादागिरी, नेपाली चलचित्रलाई देखाएको व्यवहार भन्दै कतिपयले ‘क्यूएफएक्स लाज मान’ भन्न समेत भ्याए ।
तर, दुर्भाग्य नै भन्नुपर्छ यस्ता समस्या प्रत्येक बर्ष धेरै निर्माता भोग्छन् । तर, जसले भोग्छन् उही मात्र बोल्छन् । एक जना बोल्दा आवाज सानो हुन्छ, धेरै बोल्दा बुलन्द हुन्छ । तर, एक जना निर्माता बोल्दा, आफ्नो पीडा सुनाइरहँदा अरु हाँस्ने वा मौन बस्ने क्रम यहाँ चलिरहेको छ । जसको प्रत्यक्ष पीडा एक जना निर्माताले मात्र भोगिरहेका छन् ।
यो समस्या हलवाला र निर्माताको हो । यस बिषयमा चलचित्र निर्माता संघ र चलचित्र संघ बसेरै सहमती गर्नुको विकल्प छैन । सार्वजनिक स्थानमा केही हल संचालकले चर्का कुरा गरेपनि, वितरकले नेपाली चलचित्र चलाएवापत प्रतिशतमा काम गरेपनि विदेशी चलचित्र र नेपाली चलचित्रलाई काखा र पाखा गरेको कुरा सत्य हो । तर, आफूलाई पर्दा एक जना मात्र बोलेर यो समस्या समाधान हुँदैन ।
यसका लागि मुख्य निकायहरु नै बसेर सहमती गर्नुको विकल्प छैन । चलचित्र बनाउनेले पनि फाइदा खोज्छ, प्रदर्शन गर्नेले पनि फाइदा खोज्छ । व्यापार फाइदाकै लागि गरिन्छ । तर, आफ्नै देशमा बनेका चलचित्रलाई पाखा र विदेशीलाई काखा गर्ने हल संचालकहरुको शैली पनि उदेकलाग्दो छ । समस्याको समाधान आजै खोज्न आवश्यक छ ।
होइन भने, दुख गरेर बनाएको चलचित्र, चर्को रकममा गरिएको प्रचारलाई नै माया मारेर कुनै निर्माता चलचित्र रिलिजको २ दिन अगाडि चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गर्न वाध्य हुनुपर्ने अवस्था कहिलेसम्म ?