+
+

यमपञ्चकको पाँच दिन : आज भैलो, भोलिबाट देउसी

डा. जगमान गुरुङ डा. जगमान गुरुङ
२०७६ कात्तिक १० गते १०:४१

हामी तिहार अर्थात् यम पञ्चक मनाइरहेका छौं । आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा । मखमली र सयपत्री फक्रिएसँगै सुरु भएको तिहारको हामी मध्यमा आइपुगेका छौं । सयपत्रीको पत्ता जस्तो कैयौं महत्वले भरिएको यो पर्व आधुनिकताको चेपाईले अपभ्रंश हुँदै गएको छ । संस्कृति संरक्षणको नाममा गरिने भद्दा प्रदर्शनले हाम्रो संस्कृति संरक्षण होइन अपभ्रंस हुँदै गएको छ । यसमा सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ ।

तिहारको महत्वलाई दृष्टिगत गर्दा यो पर्व सांस्कृतिक, दार्शनिक र सामाजिक महत्वले भरिपूर्ण पर्व हो । यम भनेको अष्टांग योगको पहिलो अंग हो । शाब्दिक अर्थ हेर्ने हो भने यम भनेको अनुशासन वा नियन्त्रण हो । त्यसैले यो पाँचदिन हामी विशेष किसिमको नियममा बस्नुपर्छ । दुखद् पक्ष यो छ कि यही पाँच दिनको नियम समेत पछिल्लो समय अपभ्रंस हुँदै गएको छ ।

हामी तिहारलाई जनाउनको लागि शुभ दीपावली भन्ने शब्द प्रयोग गर्छौं । यो शव्द आफैंमा अपूर्ण छ । यमपञ्चकको पाँच दिन मनाईने पर्व तिहार हो । यो कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म चल्ने गर्छ । त्यसको एउटा भाग वा एक दिन हो दीपावली । त्यसैले तिहारको महत्वलाई घटाउने गरी यसलाई संकुचित रुपले परिभाषा गर्नु राम्रो होइन ।

तिहार भन्ने शव्द हिन्दी शब्द त्यौहारसँग मिल्दोजुल्दो छ । हिन्दीमा त्यौहारले सबै पर्वहरुलाई जनाउने गर्छ भने नेपालीमा भनिने तिहार शब्द केवल यही उमंग र उज्यालो पर्वको विशेष नाम हो । त्यसैले यसलाई हामीले दीपावली होइन तिहार भन्नुपर्छ । जस्तो हामी दशैंलाई विजयादशमी भन्ने गर्छौं । त्यो पनि एक किसिमले गलत अभ्यास हो । त्यो बडादशैं हो । त्यसको १० दिन सबै हाम्रोलागि महत्वपूर्ण छ न कि विजयादशमी एकदिन मात्रै । त्यसैले तिहारलाई शाब्दिक संकुचनको शिकार गराउनु किमार्थ उचित होइन ।

यमपञ्चकको पाँच दिन : भिन्दा भिन्दै महत्व

धार्मिक, सामाजिक र वैज्ञानिक रुपले समेत विशेष छ, हाम्रो तिहार । धार्मिक रुपले हेर्दा असुर राजा बलीको दबदबाबाट देवतालाई मुक्त गराएको पर्व हो यो । साथमा लक्ष्मीलाई प्रसन्न गराएर समृद्धि हाँसिल गर्ने पर्व पनि यही हो । सामाजिक घटनाक्रम वा समाजशास्त्रीय दृष्टिले हेर्दा मानिसको विकासक्रमको प्रतीक हो तिहार । सामाजिक रुपमा हेर्दा दिदीबहिनी एवं दाजुभाइबीचको घनिष्टताको चार्ड पनि हो ।

ॐकार परिवार भित्र रहेका विभिन्न धर्मको लागि विशेष रहेको यो पर्वलाई दार्शनिक रुपले हेर्दा हाम्रो अज्ञानताको अन्धकारलाई ज्ञानको ज्योतिले विस्थापित गर्ने पर्व पनि तिहार हो । तर, यही महत्वलाई आधुनिकताको विकाससँगै हामीले भुल्दै गएका छौं ।

तिहारको पाँच दिन हरेक कोणबाट भिन्न र विशिष्ट छ । तिहारको पहिलो दिन काग तिहार चतुर पक्षी कागको पूजा गरेर मनाउने गर्दछौं । पौराणिक रुपमा कागलाई हामी यमराजको दूत मान्छौं । त्यसैले कागले ल्याएको समाचार राम्रो होस् भन्नको लागि सबैभन्दा पहिले कागलाई पूजा गर्ने चलन छ । समाजशास्त्रीय रुपमा हेर्दा कागलाई घुमन्ते युगको प्रतीक हो । त्यही घुमन्ते युगको प्रतिक स्वरुप हामी पहिलो दिन काग तिहार मनाउने गर्दछौं ।

दोस्रो दिन हामी कुकुर तिहार मनाउँछौं । यसको पनि आफ्नै महत्व छ । कुकुर भैरवको बाहन हो । कुकुरले नै सत्यवादी राजा युधिष्ठिरलाई स्वर्ग पुर्‍याएको धार्मिक मान्यता छ । त्यसैले कुकुरको पूजा गरेमा नर्कको यातनाबाट मुक्ति पाउने धार्मिक विश्वास बोकेर नै हामी यो तिहार मनाउने गर्छाैं । यही कुकुर तिहारको दिन पर्ने चतुर्दशीलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ ।

समाजशास्त्रीय दृष्टिले हेर्दा यो शिकारी युगको प्रतीक हो । कुकुर स्वभावैले आँटिलो स्वभाव भएको पशु हो । त्यसैले पहिले पहिले शिकार खेल्न जाँदा पनि कुकुरलाई साथमा लिएर जाने गरिन्थ्यो । त्यसैले यो पर्व घुमन्ते युगसँग जोडिएको छ ।

तिहारको तेस्रो दिन लक्ष्मी पूजा मान्ने गरिन्छ । सोही दिन गाईको पनि पूजा गरिने भएकोले यसलाई गाईतिहार पनि भन्ने गरिएको छ । धनधान्यकी देवी लक्ष्मीलाई यस दिन खुशी बनाउन सकेको खण्डमा धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ । समाजशास्त्रीय मतलाई मान्ने हो भने यो दिन पशुपालनको युग सुरु भएको दिनको प्रतीक हो ।

पहिले शिकार गरेर मांस खानेहरुले यी पशुपंक्षीहरुलाई पालेर उनीहरुको दूधबाटै परिकार बनाएर खान सकिन्छ भन्ने सोचको विकास भयो । यो दिन मनाइने विभिन्न किसिमका रितिरिवाजहरुको आ-आफ्नै महत्व छ । त्यसैले यो पर्व पनि समाज विकास र सभ्यताको विकासक्रमसँग जोडिएको पर्व हो ।

यम पञ्चकको चौथो दिन हामी गोबर्द्धन पूजा गर्छाैं । यो पूजाको धार्मिक महत्व श्रीकृष्णले इन्द्रको घमण्ड मार्नको लागि गोबर्द्धन पर्वत उचालेर बृजबासीहरुको रक्षा गरेको घटनासँग सम्बन्धित छ । यो दिन हामी गोरुको पूजा गछौं । यो तिहारले हामी कृषिको युगमा प्रवेश गरेको र कृषि कार्यमा सहयोगी गोरुलाई पनि पूजा गर्ने प्रचलन सुरु भएको कुरालाई जनाउँछ ।

 

त्यस्तै, यमपञ्चकको पाँचौं दिन हामी मान्छे कै पूजा गर्ने गर्छाैं । धार्मिक रुपमा हेर्दा एकातर्फ वैदिक किंवदन्ती भिन्न किसिमको छ भने यसको बारेमा पौराणिक कथा भिन्न छ । ऋग्वेदको यमयमी सूक्तले दाजुबहिनीबीचको पवित्र सम्बन्धको व्याख्या गर्दै सोही दिनदेखि भाइटीकाको सुरुवात भएको संकेत गरेको छ । पौराणिक कहानीमा यमराज र यमुनाको प्रसंग जोडिएको छ । समाजशास्त्रीय हिसाबले हेर्दा यो दिनले सभ्य समाजको सुरुवात भएको दिनलाई प्रतिनिधित्व गरेको छ । त्यसैले यो पर्वमा आउने ५ वटै दिनको आ-आफ्नै र विशेष महत्व रहेको छ ।

औंशीको दिन भैलो, प्रतिपदादेखि देउसी

हिजोआज देउसी भैलोको परम्परामा निकै परिवर्तन आएको छ । मेमेरी कार्डमा रेकर्ड गरेर देउसी खेल्ने चलन दुखद् कुरा हो । यो चलनले मादलको तालमा परम्परागत देउसी भाकामा गीत गाउने चलन हराउँदै गएको छ । हिजोआज काठमाडौंमा लक्ष्मी पूजाको दिन नै देउसी खेलिन्छ । भैलोको चलन हराईसकेको छ । यो दुखद् हो । हाम्रो ऐतिहासिकतालाई स्वीकार्ने हो भने देउसी औंशीको दिन खेल्ने नै होइन । यो दिन भैलो खेल्ने हो प्रतिपदाको दिनदेखि देउसी खेल्न सुरु गर्ने हो ।

तर, अहिले मादलको तालमा गाइने देउसी भाका हराउँदै गएका छन् । अरुको गीतमा आधुनिक नाच नाचेर खेलिने देउसी संस्थाको कोष बढाउने चाँजो मात्रै भएको छ । यसले हाम्रो संस्कृति जोगाउन सक्दैन । त्यसैले औंशीको दिन सभ्य र सुसंस्कृत भएर परम्परागत भाकामा भैली खेल्ने र भोलिपल्टदेखि देउसी खेल्नुपर्छ ।

देउसीको सुरुवातको विषयले पनि यसलाई पुष्टि गर्छ । जुम्लाका राजा बलीले देउसी सुरु गरेको भन्ने किंवदन्ती पाइन्छ । जसका अनुसार उनले देवदास देवदासीहरुलाई मागेर खान अनुमती दिएका थिए । त्यो बेला देवदासीहरु औंशीको दिन भैली खेल्न गए । देवदासहरु त्यसको भोलिपल्टदेखि देउसी खेल्न गए । यसरी भैली महिलाहरुकोलागि र देउसी पुरुषहरुको लागि नाच्ने विशेष नाचको रुपमा विकास भएको हो ।

भाइटीकाको प्रसंग र यमयमीको कथा

पौराणिक पक्षलाई केलाउँदा यमुनाले यमराजलाई कहिलै पनि नसुक्ने तेलको घेरो लगाएर टीका लगाएको उल्लेख पाइन्छ । यो कथा धेरै चर्चित छ । तर, वैदिक मान्यतालाई आधारमान्दा यो पर्वको लागि भिन्न किसिमको कथा पाइन्छ । ऋग्वेदको यमयमी सूक्तमा दाजु यम र बहिनी यमीको कथा उल्लेख गरिएको छ ।

यो सूक्तका अनुसार एक जुम्ल्याहा दाजु बहिनी यम र यमी थिए । उनीहरु उमेरले परिपक्व हुँदै जाँदा बहिनी यमीले दाजु यमसँग एक अर्काबीच वैवाहिक सम्बन्धमा बाँधिनको लागि प्रस्ताव गरिन् । त्यतिबेलाको चलन चल्ती नै त्यस्तै थियो कि ? त्यही बेलामा दाजु यमले बहिनीलाई विवाहको अर्थ यौन सम्पर्क समेत रहेको र विकसित मानव जातिले यौनको मामलामा सचेत हुनै पर्ने सुझाव दिएका थिए ।

उनले दाजु र बहिनीको आदर्शको बारेमा बहिनी यमीलाई पाठ पढाएका थिए । ‘तिमी एउटा लहरोले रुखलाई बेरेको जस्तै नयाँ परपुरुषलाई वरण गर भनेर’ यमले उन्नत मानव समाजको बारेमा ज्ञान दिएका थिए । साथमा कात्तिक शुक्ल द्वितीयाको दिन उनले बहिनी यमीबाट टीका र माला समेत लगाएर नयाँ किसिमको चलन बसाएका थिए ।

बत्तीमा बिर्सिएको संस्कृति

कात्तिकको त्यो पनि आमावश्याकै दिन किन यो उज्यालो पर्व मनाईयो ? यसको पनि छुट्टै महत्व छ । तर, हामीले यो महत्वलाई बिर्सिँदै गएका छौं । पहिलेको टुकी बत्ती बिस्थापित गरेर हामीले बिजुली बत्तीको चलन ल्यायौं । यो समयको आवश्यकता भएकोले ठिक हो । तर, दीपावलीको उज्यालोको महत्व मैनबत्ती र बिजुली बत्तीले पूरा गर्न सक्दैन । अहिले तिहारको दिनमा बिजुली बत्ती बालेर तिहार मान्ने गरेको पाइएको छ ।

यो हाम्रो प्राचीन परम्परा हुँदै होइन । हाम्रो प्राचीन संस्कृतिलाई जोगाउने हो भने बिमिरोको खोचीमा नै बत्ती किन नबाल्ने ? हाम्रो चलन त त्यही नै हो । पछि गाउँघरमा हुनेखानेहरुले तामाको दियोमा कपासको बत्ती बालेर तिहारमा झिलिमिली बनाउने थाले । अहिले पनि कसैकसैले माटोको पालामा बत्ती बाल्ने गरेका छन् । तर, हाम्रो बास्तविकता तामा र माटोको दियोमा पनि भेटिँदैन । त्यो त बिमिरोको पातले बनेको खोचीले बोक्ने गरेको छ । त्यो बत्ती पनि कहाँ कहाँ बाल्ने ? भन्ने छुट्टै महत्वको विषय हो । यस्तो खोचीमा बत्ती बालेर एउटा बत्तीलाई गौरेटो (गाग्री राख्ने ठाउँमा) राखिन्छ । अर्काे दुईवटा बत्ती संघारमा बालिन्छ । एउटा ढिकीमा, एउटा जाँतोमा र एउटा दोबाटोमा बाल्ने गरिन्छ ।

पहिले पहिले बिमिरोको खोचीमा बत्ती बाल्नेहरुहरुको पनि महत्व छुट्टै छ । त्यो खोचीमा तिलको तेलले बत्ती बाल्ने चलन थियो । बिमिरोको खोची जहाँ भन्यो त्यहीँ नअट्ने भएकोले त्यसलाई पाएसम्म गाईको गोबर, नपाए गोरुको र त्यो पनि नभएमा माटोमाथि राखेर बाल्ने गरिन्थ्यो । निघण्टु शास्त्रमा द्रव्य गुण भन्ने हुन्छ । त्यहाँ बिमिरोको खोचीमा चौरीको घिउले बालेको बत्ती राख्दा आँखाको ज्योति बढ्छ भन्ने मान्यता छ । आँखाको तेजलाई राम्रो गराउने र त्यसमा भाइरस हटाउने एन्टिबायोटिक पाइने भएकोले पनि बिमिरोको महत्व बढ्ने गरेको हो । त्यसैले यसको महत्व बढ्दै गएको पाइन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवं संस्कृतिविद् डा. गुरुङसँग गरिएको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?