+
+
Shares

छठमा पुजिने ‘शिरशोप्ता’, कहिलेदेखि प्रयोग हुन थाल्यो ?

सुरेश बिडारी सुरेश बिडारी
२०७६ कात्तिक १७ गते १३:१५

१७ कात्तिक, वीरगञ्ज । प्रकृति पूजनको पर्व छठ आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । छठको चौथो दिन व्रत विधि पूरा गरेर खाना खाई ठेकुवालगायतका प्रसाद वितरण गरेका छन् ।

छठ पर्वमा कुनै मुर्तिको पूजा गरिँदैन र पुजारीको समेत आवश्यकता पर्दैन । यद्यपि कतै–कतै ‘छठी माता’को प्रतिमूर्ति बनाएर पूजा गरेको देखिन्छ । यद्यपि छठी माताको मूर्ति वा तस्वीर यस्तो हुन्छ भन्ने ठ्याक्कै प्रमाण हालसम्म नपाइएको सँस्कृतिविदहरु बताउँछन् ।

मुख्य गरी सूर्यको उपासना गरिने छठ पर्वमा ‘शिरशोप्ता’ बनाउने चलन छ । ‘शिरशोप्ता’को आकार एकैनासको हुँदैन । कतिपयले पिरामिड जस्तो त कतिपयले गुम्बा जस्तो बनाउँछन् । प्रत्येक वर्ष व्रतालु परिवारका पुरुष सदस्यहरुले ताजा इँटा र माटोले शिरशोप्ता बनाउँछन् । त्यसमा रंगरोगन गरेर आकर्षक बनाउँछन् । हिजोआज सिमेन्ट र इँटा प्रयोग गरी स्थायी प्रकृतिको ‘शिरशोप्ता’ समेत बनाउन थालिएको छ ।

वीरगञ्ज माईस्थानका धनञ्जय मिश्र बर्सेनि घडीअर्वा छठघाटमा नयाँ इँट्टा, गाईको गोबर र माटो बोकेर पुग्छन् । आफैंले शिरशोप्ता बनाउँछन् । ‘आफ्नो–आफ्नो श्रद्धाको कुरा भएकाले आफैंले बनाउने गरेको छु,’ उनी भन्छन्, ‘हामीले पिरामिड आकारको बनाउने गरेका छौं, रंगरोगन पनि आफैंले गर्छु ।’ छोराले पनि शिरशोप्ता बनाउन सिकोस् भनेर यस वर्ष साथमा लिएर गएको उनले बताए ।

वीरगञ्ज–१० आदर्शनगरका गणेश कुमार रौनियारले पनि विगत केही वर्षदेखि मिस्त्रि नै खटाएर शिरशोप्ता बनाउँदै आएका छन् । घडिअर्वा पोखरी परिसरमा सिमेन्ट प्रयोग गरेर स्थायी प्रकृतिको शिरशोप्ता बनाउन नदिइने हुनाले अस्थायी प्रकृतिको वर्षेनी बनाउनु परिरहेको उनी बताउँछन् ।

‘स्कूल पढ्दासम्म त हामी दाजुभाइ सबै मिलेर बाहिरबाट माटो ल्याएर बनाउने गरेका थियौं, कार्यव्यस्तताले गर्दा केही वर्षयता मिस्त्रि लगाएर बनाउने गरेका छौं,’ उनले भने, ‘हाम्रो त बानी नै हराइसकेको छ, उनीहरुले आकर्षक बनाउँछन् ।’

भारत बिहारको रतनपुरका रामाशंकर यादवसहितको टोलीले झण्डै ७ वर्षदेखि रौनियार परिवारको शिरशोप्ता बनाउन सघाइरहेको छ । तीन दिन लगाएर शिरशोप्ता बनाउँदा उनीहरुको ज्याला ५ हजार हाराहारी हुन्छ ।

एक तहदेखि ११ तहसम्मको शिरशोप्ता बनाएको देखेको बताउने वीरगञ्जबासी यसको इतिहासबारे भने अनभिज्ञ छन् । भोजपुरी क्षेत्रमा लामो समयदेखि चल्दै आएको शिरशोप्ता बनाउने चलन मिथिला क्षेत्रमा भने प्रायः नरहेको वरिष्ठ पत्रकार चन्द्रकिशोर बताउँछन् । ‘इँटा वा ढुंगाले बनाइने त्यस्ता पिण्डको लोकइतिहासबारे अपेक्षित जानकारी नपाइए पनि भोजपुरी क्षेत्रमा प्रयोग बर्सेनि बढ्दो छ,’ खोज पत्रकारिता केन्द्र नेपालका अध्यक्षसमेत रहेका चन्द्रकिशोर भन्छन्, ‘संयुक्त परिवार विघटित हुँदै गएकाले एउटै परिवारमा अब कैयौं छठीमाई भइसकेका छन्, अब प्रत्येकले अलग–अलग पिण्ड बनाउन थालेका छन् ।’

परिवार र समुदायबीच एकभन्दा बढी तहको पिण्ड बनाउने होड चल्ने गर्छ । कतिपय ठाउँमा त ‘छठी मैया’को अस्थायी प्रतिमा नै बनाउने गरिएको उनी बताउँछन् ।
सँस्कृतिविद प्राज्ञ उमाशंकर द्विवेदी आफूले थाहा पाएदेखि नै माटोको पिरामिड आकारको मूर्ति बनाएर पूजा गर्ने चलन रहेको बताउँछन् । तर छठी माताको मूर्ति यस्तो हुन्छ भनेर आफूले आधिकारीक प्रमाण कतै फेला नपारेको उनी बताउँछन् ।

‘अहिलेसम्म छठी माताको कुनै मूर्ति फेला परेको छैन, परम्परागत रुपमै माटोको पिरामिड आकार बनाएर पूजा गर्ने चलन छ, कसैले सिमेन्टको पिरामिड र गुम्बा आकार पनि बनाउँछन्,’ उनले भने, ‘इतिहास यस्तै छ भनेर त मैले फेला पारेको छैन, तर म ६७ वर्षको भएँ, मैले थाहा पाएदेखि नै यसको प्रयोग भइरहेको देखेको छु ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?