Comments Add Comment

आमिर र सलमानसँग यसरी जुध्दैछन् अक्षय कुमार

कुरा यसपालीको होइन, अर्को बर्षको हो । अक्षय कुमार सन् २०२० मा सलमान खान तथा आमिर खान जस्ता सुपरस्टारहरुसँग बक्स अफिसमा भिडन्त गर्दैछन् । त्यो पनि ती मितिहरुमा, जुन यी दुबै अभिनेतालाई असाध्यै प्रिय छन् । अक्षयले ईदमा सलमान खानसँग भिडन्त गर्ने निर्णय गरेका छन् भने क्रिसमसमा आमिर खानसँग ।

ईदमा राधेको सामुन्ने लक्ष्मी बम्ब

आगामी वर्षको ईदमा अक्षय कुमारको लक्ष्मी बम्बले सलमान खानको राधेसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । रमाइलो कुरा के छ भने यी दुबै फिल्मका निर्देशकहरु दक्षिण भारतीय फिल्ममार्फत् बलिउडमा आएका हुन् भने दुबै फिल्महरु रिमेक हुन् । लक्ष्मी बम्बको निर्देशन राघव लरेन्सले गर्दैछन् । यो फिल्म एक दक्षिण भारतीय फिल्मको रिमेक हो । राधेको निर्देशन भने प्रभु देवाले गर्दैछन् । यो फिल्म कोरियन फिल्मको रिमेक भएको बताइएको छ ।

क्रिसमसमा बच्चन पाण्डेयको अघिल्तिर लालसिंह चढ्डा

सन् २०२० मा प्रदर्शन हुने अक्षय कुमारको दोस्रो ठूलो फिल्मको प्रतिस्पर्धा आमिर खानको फिल्मसँग हुने भएको छ । क्रिसमसमा अक्षयले आफ्नो फिल्म बच्चन पाण्डेय प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । उक्त घोषणा केही महिनाअघि नै गरिएको हो । यो फिल्मको निर्देशन फरहाद सामजी हुन् । जसले हाउसफुलमा अक्षय कुमारलाई निर्देशन गरेका थिए । फिल्ममा अक्षय कुमारसँग अभिनेत्री कृति सेनन पनि देखिने छिन् ।

उता, आमिर खानले पनि आफ्नो नयाँ फिल्म लाल सिंह चड्ढालाई क्रिसमसकै अवसर पारेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । उक्त फिल्म हलिउडको फिल्म फरेस्ट ग्रम्पबाट प्रभावित भएको बताइन्छ । आमिरले उक्त फिल्मको लोगो सार्वजनिक गर्ने समारोहमा क्रिसमसको अवसरमा उक्त फिल्म प्रदर्शन हुने घोषणा गरेका हुन् । यो फिल्ममा करिना कपूरले अभिनेत्रीको रुपमा अभिनय गर्नेछिन् ।

बलिउड अभिनेता अक्षय कुरमा अचेल बक्स अफिसमा सफलताका झण्डाहरु फहराइरहेका छन् । यो वर्ष उनले अभिनय गरेका तीन वटा फिल्महरु प्रदर्शन भए । तीन तीनै वटा फिल्महरुले उत्कृष्ट व्यवसाय गर्न सफल भए । यो वर्ष प्रदर्शन भएका अक्षयका फिल्महरु मध्ये केसरीले १ सय ५३ करोड भारतीय रुपैयाँ (भारु) आम्दानी गरेको थियो भने मिशन मंगलले २ सय १६ करोड भारु आम्दानी गरेको थियो । अहिले आएर हाउसफुल-४ ले पनि उत्कृष्ट प्रदर्शन गर्दै २ सय करोड क्लबतर्फ अघि बढिरहेको छ ।

यही वर्ष नै अक्षयको चौथो फिल्म गुड न्यूज प्रदर्शन हुँदैछ । जुन सन् डिसेम्बर २७ का दिन दर्शकमाझ आउने छ । त्यसअघि २० डिसेम्बरमा सलमान खानको दबंग-३ प्रदर्शन भइसकेको हुनेछ । यसअघि गत १५ अगष्टमा अक्षय कुमार र जोन अब्राहमको फिल्म मिशन मंगल तथा बाटला हाउस एकै दिन प्रदर्शन भएका थिए । अक्षय कुमारका फिल्महरुको बक्स असफिस प्रतिस्पर्धाको यो क्रम सन् २०२० मा समेत जारी हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment