Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

२६ कात्तिक, काठमाडौं । पर्सा, काभ्रे, सुनसरी र दाङमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

पर्साको धोबिनी गाउँपालिका-२ आसवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा सोही गाउँपालिका-४ का ४५ वर्षीय अशोक प्रसाद साहको मृत्यु भएको छ । दुर्घटनमा परी गम्भीर घाइते भएका साहको उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकलको पछाडि सवार भारत बस्ने साहकी बहिनी ४२ वर्षीया सुनैना देवी घाइते भएकी छन् । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै काभ्रेको बनेपा नगरपालिका-१० जनगालस्थित सडकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा भक्तपुर नगरपालिका-९ च्यामासिङ्गका २० वर्षीय विमल कुटुजुको मृत्यु भएको छ ।

बा.१० च २१५४ नम्बरको बोलेरो गाडीले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकल बा.३ ख ७०७८ नम्बरको ट्रिपरमुनि पस्दा मोटरसाइकलमा सवार कुटुजुको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २१ वर्षीय प्रेम बहादुर दाहाललाई थप उपचारको लागि मध्यपुर ठिमी भक्तपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सुनसरीको कोशी गाउँपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा स.१ झ २६८ नम्बरको गाडी र को.३० प ५३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार बिहान दुर्घटना हुँदा सोही ठाउँका पृथ्वीनगर बस्ने २९ वर्षीय दिपेश मुखीया सुनुवारको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सुनुवारको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा दमक नगरपालिका-१० बस्ने ३० वर्षीय योगेस कुमार धिमाललाई उपचारको लागि विराटनगर नर्सिङ्ग होममा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै दाङको लमही नगरपालिका-५ सुनखोलीमा लु.२ ख १३७६ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका-४ अर्नाका ३५ वर्षीय रफिक राइनीको नेपालगंज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment