Comments Add Comment

कुरीकुरी अवार्ड : देख्नेलाई लाज

मञ्चमा तँछाड-मछाड भीड । दर्शकदीर्घमा रित्तो कुर्सी । न उत्सुकता, न कौतुहलता, न रोमाञ्चकता, न प्रतिस्पर्धा । आफैँ सोच्नुहोस्, मञ्चमा उभिनेले खादा र अवार्ड पाउँदा कसले ताली पिट्ने ? कसले हुटिङ गर्ने ?

यो गाईजात्रे कार्यक्रम नभई एक चलचित्र अवार्डको परिदृश्य हो । स्थान, जापान ।

सूर्य कर्पोरेशनले आयोजना गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड’को यो दोस्रो संस्करण हो । २०१८ मा पनि यस अवार्ड भएको थियो । दोस्रो संस्करणको लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए । मह जोडी, नीर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, दीपाश्री निरौला, स्वेता खड्का, सरिता लामिछाने, ऋषि लामिछाने लगायत त्यहाँ पुगेका थिए । यो लस्करमा मिसिएर चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई पनि जापान पुगे ।

रमाइलो त के भने, लस्कर लागेर जापान पुगेका अधिकांशले अवार्ड पाए । उदेक लाग्दो के भने, हलमा अवार्ड लिनेहरु मात्र उपस्थित थिए ।

‘नाकानो जीरो’ हलमा आयोजित ‘अवार्ड कार्यक्रम’ कतिसम्म फितलो बन्न पुग्यो भने ‘…भन्दा देख्नेलाई लाज’ भनेजस्तै भइदियो । जापानमै उक्त अवार्ड समारोह आयोजना गर्नुको औचित्य के हो ? यसले नेपाली चलचित्रको उत्थान र उन्नतीमा कस्तो भूमिका खेल्छ ?

यस किसिमको अव्यवस्थाले आयोजकको नाक काटिँदा मात्र त केही हुँदैन । तर, अवार्डको गरिमा र महिमामाथि नै ठट्टा हुन्छ । यसले अवार्ड संस्कृतिलाई विकृत बनाइदिन्छ । चलचित्र विकास बोर्डका अध्यक्षलाई साक्षी राखेर गरिएको यस्ता अवार्डले चलचित्र क्षेत्रकै इमानमाथि धज्जी उडाइदिन्छ ।

अवार्ड समारोह हुनु पक्कै पनि सुखद् कुरा थियो । यसले नेपाली चलचित्रकर्मीको कर्मलाई कदर गर्दै थप हौसला दिने अपेक्षा गरिन्छ । सिर्जनशील, समर्पित र सुयोग्य चलचित्रकर्मीले थप रचनात्मक काम गर्नका लागि उत्प्रेरणा मिल्ने आशा गरिन्छ । बाँकीले आफूलाई थप माझ्ने, कमजोरीहरु सच्याउने मौका पाउँछन् । त्यसैले अवार्डको मनोनयनमा परिरहँदा, अवार्ड प्राप्त गरिरहँदा जो-कोहीको छाती चौडा हुन्छ । गर्वले विस्फारित हुन्छ ।

अर्कोतिर यस किसिमको अवार्ड समारोहलाई देश-विदेशमा आयोजना गर्ने गरिन्छ । यसले समारोहलाई भव्य बनाउने, सहभागीलाई उमंगित बनाउने मात्र नभई चलचित्र क्षेत्रकै फैलावटमा सहयोग पुग्ने अपेक्षा गरिन्छ । तर, अवार्ड वितरण समारोहले यी दुबै कुरालाई बेवास्ता गर्छ भने त्यो अवार्ड समारोहको मूल्य के रहला ?

चलचित्र अवार्ड बिगतदेखि नै विकृत र विवादित हुँदै आएको छ । अवार्डको किनबेचदेखि मनोमानी ढंगले वितरण गरिने प्रणालीले अवार्डको गरिमा र विश्वास खुइलिँदै गएको छ । यसबाट आयोजकले आफ्नो स्वार्थ त पूरा गर्न सक्लान् । तर, यसको साइड इफेक्ट चलचित्रको उत्थान नभई पतनको बाटोमा लाग्नसक्छ । वास्तवमै समर्पित र सिर्जनशील कलाकर्मीहरुमाथि अपमान हुनसक्छ । हुइयाँहरुले बाघको खोल ओड्ने भय हुनसक्छ ।

चलचित्र अवार्ड आयोजना कसरी हुँदैछ, कसले गर्दैछ, कहाँ हुँदैछ, किन हुँदैछ भन्ने कुराको मूल्यांकन नगर्दा पनि यो ‘धन्दा’ चलिरहेको छ । मनोनयनमा पर्ने कलाकार, आमन्त्रित अतिथिले नै यस्ता कार्यक्रमको विश्वसनीय, पारदर्शिता र नियत बुझ्नुपर्ने हो । तर, सुईऽय सिटी बजाएर हातको इसाराले डाकेकै भरमा पंक्तिबद्ध हुनपुग्ने हाम्रा कलाकर्मी, चलचित्र अधिकारीहरुको जत्था लाजमर्दो छ ।

अवार्डको मनोनयनमा पर्दा वा अवार्ड प्राप्त गर्दा त्यसले नाटकीय खुशी होइन । वास्तवमै उमंग र हौसला मिल्नुपर्छ । गर्व-बोध हुनुपर्छ । आफ्नो मेहनत, लगाव, रचना, प्रयासको सही मूल्यांकन भएको अनुभूत हुनुपर्छ । तब पो अवार्ड थाप्नका लागि मञ्चमा उक्लिँदा पनि हर्षाश्रु र्झछ । छाती चौडा हुन्छ । मन उत्प्रेरित हुन्छ ।

तर, पूर्व-नियोजित ढंगले बाँडफाट एवं भागबण्डा गरिने अवार्डले घरको कोठाको ‘शोभा’ बढाउनेबाहेक अरु काम गर्दैन । कलाकर्मीले पनि अवार्डको मूल्य मनन् गर्नुपर्ने हुन्छ ।

चलचित्र अवार्डको नाममा गरिने खेतीपातीले समग्र चलचित्र क्षेत्रलाई कस्तो असर गर्छ ? कतै यसले गलत नजिर त स्थापना गरिरहेको छैन ? सिंहावलोकन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment