Comments Add Comment

पर्शुरामका काँधमा देशकै ठूलो वाणिज्य बैंकको जिम्मेवारी

बैंकको संख्या घटाउने पक्षमा थियौं, ग्लोबल आईएमईसँग सोच मिलेपछि मर्ज भयौं : सीईओ कुँवर

कमै मानिसले जीवनमा चाहेकै कुरा हासिल गरेका हुन्छन् । कुनै समय नामी प्राध्यापक बन्ने सपना देखेका पर्शुराम कुँवर समय क्रममा बैंकर बने । बैंकिङ यात्राको ३५ वर्षमा लाग्दै गर्दा जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उनले शुक्रबारबाट ग्लोबल आईएमईसँग मर्ज भएर बनेको संस्थाको नेतृत्व गरेका छन् ।

पर्शुराम कुँवरले शुक्रबारबाट नेतृत्व लिएको ग्लोबल आईएमई बैंक आजको मितिमा नेपालको सबभन्दा धेरै पुँजी, निक्षेप र कर्जा भएको वाणिज्य बैंक  बन्न पुगेकाे छ । मर्जरपछि यो बैंकको चुक्ता पुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ, जुन हालसम्मका वाणिज्य बैंकहरु मध्येकै उच्च हो । नवनियुक्त सीईओ कुँवर भन्छन्, ‘दुवै बैंक राम्रा हुन्, यी मिलेर बनेको बैंकमा काम गर्न पाउनु अवसर पक्कै पनि हो, तर मैले केही चुनौतीको रुपमा पनि लिएको छु ।’

अब ग्लोबल आईएमई बैंकको कूल निक्षेपको आकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब हुनेछ । शाखा कार्यालय ३०० हाराहारी पुग्नेछन् । बैंकका एटिएम २५६ र २४१ शाखारहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछन् । यसैगरी बैंकका कर्मचारी तीन हजार २५० भन्दा बढी हुनेछन् भने ग्राहक संख्या २० लाख नाघ्नेछ ।

शिक्षण पेशा छाडेर बैकिङतिर

पुर्ख्यौली थातथलो कास्कीको पोखरा भए पनि बुवाको जागिरका कारण पर्शुरामको बाल्यकाल भारतको मुम्बईमा बित्यो । भोगचलन नभएको व्यक्तिको जग्गा सार्वजनिक हुने हल्ला चलेपछि ०२४ सालमा कुँवर परिवार पोखरा फर्कियो । त्यसबेला पर्शुराम नौ वर्षका थिए ।

उनले एसएलसीदेखि बीकम (वाणिज्य शास्त्रमा स्नातक) सम्मको पढाई पोखरामै पूरा गरे । आईकम र बीकम तहमा त विश्वविद्यालय प्रथम नै भए । त्यसपछि उनी एमबीए पढ्न चाहन्थे, तर पोखरामा त्यो सुविधा थिएन । अन्ततः अर्थशास्त्र पढ्न पृथ्वीनारायण क्याम्पसमा फारम भरेको उनी बताउँछन् ।

त्यसबेला पृथ्वीनारायण क्याम्पसमा प्रध्यापक परिवर्तन भइरहन्थे । बाहिरबाट आएका प्राध्यापकहरु धेरै समय नबस्ने हुँदा क्याम्पस समस्यामा थियो । ‘मेरो मार्कसिट हेरेपछि सहायक डीन शिवपुजन यादवले काठमाडौं जाऊ भन्नुभयो’, कुँवर सम्झन्छन्, ‘तिमी स्थानीय भएका कारण काठमाडौंमा एमबीए नै गरेर पढाउन पोखरा फर्क भन्नुभयो । मेरो रुचि पनि अध्यापन नै थियो ।’

उनी जसोतसो काठमाडौं आएर शंकरदेव क्याम्पसमा भर्ना भए ।
क्याम्पसमा भर्ना भएकै बेला कुँवरलाई शिक्षणको अनुभव लिन मन लाग्यो । नागार्जुन स्कूलमा अंग्रेजी पढाउन थाले । त्यसबेला क्याम्पसको परीक्षा सरेको सर्‍यै गर्थ्यो । नतिजा आउन उत्तिकै ढिलो हुन्थ्यो । बल्लबल्ल दिन पाएको एमबीए पहिलो वर्षको नतिजा ढिलै आयो । कुवँर भन्छन्, ‘त्यो पनि सन्तुष्ट हुन सकिने खालको आएन ।’

सधैं प्रथम भएका उनको मन एमबीएको रिजल्टले मोडिदियो । हल्काफुल्का सर्टिफिकेट बोकेर कक्षा कोठामा नपस्ने सोच बनाएका उनले त्यही बीचमा चारवटा बैंकमा खुलेको जागिरका लागि आवेदन दिए । तीमध्ये तत्कालीन इन्डोस्वेज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट बैंक) ले लिखित परीक्षामा बोलाउँदै बोलाएन ।

बाँकी तीनवटाको लिखित परीक्षामा उनी उत्तिर्ण भए । कामचाहिँ ग्रीनलेज (हाल स्टाण्डर्ड चार्टर्ड) मा शुरु गरे । कुँवर भन्छन्, ‘नेपाल बैंकको अन्तरवार्तामा नगई २०४२ सालदेखि सहायक तहबाट ग्रीनलेज बैंकमा काम शुरु गरेँ ।’

करिअरमा  उतार चढाव

कुँवरले विदेशी लगानीको ग्रीनलेजमा १७ वर्ष बिताए । केही पटक निमित्त प्रमुख कार्यकारी अधिकृतले गर्नेसम्मको अधिकार पाएका कुँवरले २०६० असारमा ग्रीनलेज बैंक (स्टाण्डर्ड चार्टर्ड) बाट बिदा लिए ।

त्यसबेला मुलुकको जेठो बैंक नेपाल बैंकको अवस्था नाजुक थियो । सरकारले वित्तीय सुधार कार्यक्रम ल्याएर नेपाल बैंकको व्यवस्थापन विदेशीलाई हस्तान्तरण गरेको थियो । नेपाल बैंकलाई सुधार्न आएको विदेशी टोलिमा केही नेपाली पनि सहभागी भए । तीमध्ये पर्शुराम कुँवर एक थिए ।

उनले नेपाल बैंकको विभिन्न महत्वपूर्ण विभागमा साढे तीन वर्ष बिताए । बैंकलाई सही ठाउँमा ल्याएर १६ पुस २०६३ मा व्यवस्थापन हस्तान्तरण गरेपछि विदेशीहरुसँगै कुँवर पनि बाहिरिए ।

नेपाल बैंक छाडेको महिना दिनभित्रै सिटिजन्स बैंक इन्टरनेसनलमा उनले सेकेन्ड म्यानको रुपमा नियुक्ति लिए । तत्कालीन सीईओ राजनसिंह भण्डारी र कुँवर एकैदिन सिटिजन्समा नियुक्त भएका थिए । दुई कार्यकाल सिटिजन्सका सीईओ रहेका भण्डारी अहिले अध्यक्ष भएका छन् ।

कुँवर भने सिटिजन्समा डेढ वर्षमात्र बसेर बैंक अफ एशिया (हाल एनआईसी एशिया) को सीईओ नियुक्त हुन पुगे । त्यहाँ उनले एक कार्यकाल पूरा गरे ।

परिस्थितिले फर्कायो

पर्शुराम कुँवर बैंकिङ क्षेत्रबाटै विदा लिनेगरी २०६९ सालमा बैंक अफ एशियाबाट बाहिरिएका थिए । ‘खासमा म प्रशिक्षक तथा परामर्शदाताको रुपमा काम गरेर प्राध्यापन गर्न नपाएको तिर्सना मेट्न चाहन्थेँ’, उनी भन्छन्, ‘विश्व बैंक र एशियाली विकास बैंकका विभिन्न प्रोजेक्टहरुमा प्राध्यापन जस्तो काम गरेँ पनि ।’

बैंकका कर्मचारीहरुलाई प्रशिक्षण र बैंकहरुलाई परामर्श दिने क्रममा २०७१ सालमा उनलाई तत्कालीन ग्राण्ड बैंकबाट ‘अफर’ आयो । समस्याग्रस्त ग्राण्डको बोर्डले परामर्शदाताको रुपमा बैंकमै रहेर काम गर्न आग्रह गरेको थियो । त्यहाँ गएसँगै उनी सीईओ नियुक्त भए ।

चार वर्षे कार्यकालकै लागि नियुक्ति दिए पनि उनी ६ महिनामात्रै ग्राण्डमा बसे । ‘बैंक एउटा लयमा आएपछि पुनः प्रशिक्षण तथा परामर्शमा नै फर्केँ’, उनी भन्छन्, ‘तत्कालीन त्रिवेणी विकास बैंक जनता बैंकसँग मर्ज हुँदा कर्मचारी समायोजन योजना बनाएँ ।’

पछि सिद्धार्थ डेभलपमेन्ट बैंकसँग जनता मर्ज हुँदा पनि उनैले विज्ञ सेवा दिए । त्यसबेला जनता बैंकमा सीईओ कुमार लम्साल र तीन जना डेपुटी सीईओ थिए । लम्साल बाहिरिएर नयाँ सीईओको खोजी हुँदा बैंकले कुँवरलाई नै सहयोगको आग्रह गर्‍याे ।

प्रस्ताव गरेकाहरु आउन नमान्ने र मान्नेहरुलाई बैंकको बोर्डले ल्याउन नमान्ने भएपछि बोर्डले कुँवरलाई सीईओ बनाउने निर्णय गर्‍याे । त्यो परिस्थितिमा अढाई वर्षअघि उनी जनता बैंक नेपालको सीईओ नियुक्त भएका थिए ।

‘काम गर्दागर्दै मर्न पाउँ’

मर्जरको पूर्वसन्ध्यामा बिहीबार जनता बैंक नेपालको कार्यकक्षमा भेटिएका सीईओ कुँवरले मर्जरले निकै व्यस्त बनाएको सुनाए । निकै प्रफुल्ल पनि देखिएका उनी भावी यात्राका विषयमा कुरा गर्दा भावुक बने । उनले भारतका पूर्वराष्ट्रपति अब्दुल कलाम जस्तै काम गर्दागर्दै मर्न पाउँ भन्ने कामना पनि गरे ।

कुँवरले हाम्रो बाँकी जिज्ञासाको उत्तर यसरी दिए :

मर्जर एकदमै आवश्यक थियो, त्यो भयो । ममात्रै होइन जनता बैंकले नै मर्जर चाहेको थियो । हामीले अन्य देशका बैंकहरुको अवस्था पनि हेर्‍याैं । नेपाल जस्तो सानो मुलुकमा वाणिज्य बैंकको संख्या धेरै भएको छिमेकी भारतकै अवस्था हेरेर पनि बुझ्न सकिन्छ । भारतमा एक करोड ५५ लाख जनसंख्या बराबर एउटा वाणिज्य बैंक छ भने हाम्रोमा १० लाख जनसंख्या बराबर एउटा ।

हामीकहाँ त राष्ट्रिस्तरका विकास बैंक र वाणिज्य बैंकमा खासै फरक छैन । कामहरु धेरै समान छन् । हिँजो वाणिज्य बैंकको पुँजी २ अर्ब थियो । आज राष्ट्रियस्तरका विकास बैंकहरुको पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । राष्ट्रिय स्तरका विकास बैंकलाई समेत मान्ने हो भने ७ लाख जनसंख्या बराबर एउटा वाणिज्य बैंक हाम्रो मुलुकमा हुन आउँछ ।

यो त अति नै धेरै भएकाले हामी बैंकको संख्या घटाउने पक्षमा थियौं । त्यसक्रममा उस्तै बिचार राख्ने ग्लोबल आईएमईसँग भेट भयो । सोच मिलेपछि मर्ज भयौं ।

जनता बैंकमा मेरो कार्यकाल डेढ वर्ष बाँकी नै थियो । अब पछिको कुरा पछि नै थाहा होला, तर मेरो सोच अलि फरक छ । म सधैं प्रशिक्षणमै रमाउछु । जति सिकेँ, त्यत्ति नै सिक्न बाँकी छ । मैले जेजति जाने त्यो पर्याप्त पक्कै छैन । म नेतृत्वमा रहँदा बैंकमा विश्वका नयाँ अनुभवहरु भित्र्याउने कोसिस गर्नेछु ।

बैंक बाहिर रहेर प्रशिक्षणमा सक्रिय रहने छु । जति वर्ष जीवित रहन्छु सिकाइमै रहन्छु । कसैले सिकाइ मागे धेरै खुसी हुनेछु । भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले सिलोङस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीलाई केही बताउँदा बताउँदै स्टेजमै मृत्युवरण गरे । म पनि अब्दुल कलामको जस्तै काम गर्दागर्दै मृत्यु चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment