Comments Add Comment

टोल–बस्ती चहार्दै मेयर शाक्य, स्थानीयले सोधे – चुनाव छ र ?

२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फुर्सदका बेला ‘घरदैलो’ गर्न थालेका छन् । बिहानको समयलाई सदुपयोग गर्ने भन्दै उनी विभिन्न टोल र बस्ती चहार्छन् ।

आइतबार बिहान मेयर शाक्य ढुंगेधारामा थिए । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालसहित बिहान केहीबेर उनी सडकमा पैदल हिँडे । त्यसक्रममा स्थानीयवासीका गुनासाहरु पनि सुने ।

बिहानै उनी ढुंगेधारा एराहिटी टोल विकास संस्थामा पुगेका थिए । त्यहाँ भेटिएकी स्थानीय ८४ वर्षीया वृद्धाले मेयर शाक्यलाई सडकमा उडेको धुलोबाट दिक्क भएको सुनाइन् । टोलको भानुचोककै चारतले घरको छतबाट सडकतिर नियाली रहेकी तारादेवी गुरुङ जनप्रतिनिधिलाई घरै अगाडी हतार गर्दै ओर्लेकी थिइन् ।

उनले मेयर शाक्यको हात समातेरै भनिन्, ‘छोरा, यो बाटो राम्रो होस, हामीले धुलो खानु नपरोस ।’

गुरुङको घर नजिकै ह्युम पाइप फुटेर खाडल बनेको थियो । त्यो देखाउदै उनले भनिन्, ‘यो छिट्टै पुरिदिनुपर्‍यो बाबु ।’

आफ्नो टोलमा मेयर भेटेपछि अन्य स्थानीयवासी पनि दंग परे । ढुंगेधारा एराहिटी टोल विकास समितिका अध्यक्ष वीपी ढकालले मेयरलाई देखेर ज्यादै खुसी लागेको बताए । मेयर शाक्य उनीहरुसँग बिहानभर गाउँ घुमे । उनले वडाको विकास निर्माणका बारेमा वडाध्यक्ष रिजालबाट जानकारी लिए ।

अनुगमनमा केहीले मेयरसामु आक्रोश पनि पोखे । जनप्रतिनिधिहरुले जनताको सरोकारलाई वास्ता नगरेको उनीहरुको आरोप थियो ।

नर्सरी चोकका कलाधर देवकोटाले भने, ‘विकास सन्तोषजनक भएन । ठेकेदारहरुले लापरबाही गरे । बजेट आएअनुसार काम भएको छैन ।’

उनले मेयर र वडाध्यक्षलाई सँगै राखेर आगामी दिनमा ठेकेदारलाई समेत कडा निर्देशन दिएर काममा लगाउन सुझाव दिए । आइतबार करीब ६–७ घण्टाको अनुगमनमा मेयर शाक्य र वडाध्यक्ष रिजालसहितको टोलीले वडा नम्बर–१६ का बालाजु, बाइसधारा, माछापोखरी, बाइपास, बोहोराटार, बनस्थली लगायतका ठाउँको अनुगमन गर्दा निर्वाचनको घर–दैलो जस्तो देखिन्थ्यो । केही स्थानीयवासीले ‘चुनाव आएको हो र ?’ भन्दै खासखुस गरेको पनि सुनियो ।

राज्यमन्त्री र मेयरबीच भेट

अनुगमनकै क्रममा मेयर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भेट भयो । वडा नम्बर–१६ कै मतदाता समेत रहेका मन्त्री मानन्धरको घरमै मेयर विना सूचना पुगेपछि मन्त्री अचम्ममा परेका थिए । उनले पनि मेयर शाक्यलाई मन्त्रीको हैसियतमा निर्देशन दिएनन्, बरु मतदाताको हैसियतमा आफ्नो टोलको कुरा गरे ।

उनले वाइपासमा सूचना केन्द्र राख्न छिटो पहल थाल्न आग्रह गरेपछि मेयर शाक्यले पनि त्यो ठाउँको अनुगमन गरे । त्यसका लागि एक करोड विनियोजन गरेको भन्दै उनले छिट्टै काम थाल्ने आश्वासन दिए ।

सुकुम्वासी पहिचान गरी उनीहरु बस्नका लागि निर्माण गरेको तर अहिलेसम्म खाली रहेको खरिवोट भृकुटी टोलको भव्य भवनको अघिल्तिर उनी पुगे । त्यहाँ वडाध्यक्षलाई राखेर तस्बिर खिच्दै मेयर शाक्यले भने– ‘यस्तो भव्य घरमा पनि बस्न नमान्ने सुकुम्वासीका कारण हामीलाई समस्या भएको छ ।’

मेयर शाक्यको भनाइमा थप्दै वडाध्यक्ष रिजालले भने– ‘यो वडामा दुइ–तीन वटासम्म घर भएका सुकुम्वासीहरु भेटिए, तर वास्तविक सुकुम्वासीको सङ्ख्या भनै निकै कम छ ।’

बजेटको चिन्ता नलिनु : शाक्य

अनुगमनपछि मेयर शाक्यले विकासका लागि बजेटमा कुनै कमी हुन नदिने बताए । वडा नम्बर १६ का अध्यक्ष रिजाल नेपाली कांग्रेसबाट निर्वाचित हुन् । आफू नेकपा भए पनि वडालाई दिने बजेटमा राजनीतिक पार्टी नहेर्ने शाक्यले बताए ।

‘मेयर नेकपाको, वडाध्यक्ष कांग्रेसको भएकाले बजेट आएन भन्ने आरोप नलागोस्, हामी सबै जनप्रतिनिधि हौ’ उनले भने, ‘मेरालागि ३२ वटै वडा बराबरी हुन्, यहाँ पार्टी हेरेर बजेट विनियोजन हुँदैन ।’

वडाध्यक्ष रिजालले आफूले बजेटमा भेदभाव भएको अनुभूति नगरेको बताए । १ सय २२ वटा भित्री सडक आफ्नै कार्यकालमा पूरा भएको उनले जानकारी दिए ।

रिजालले यो आर्थिक वर्षमा मात्रै २० करोड भन्दा बढी बजेट आफ्नो वडामा आएको भन्दै अझै जनताको गुनासो भने पूरा गर्न नसकेको बताए ।

‘जनताका धेरै इच्छा र चाहना छन् सबै पूरा गर्न त चाहेर पनि नसकिने रहेछ,’ रिजालले भने, ‘तर, यो वडा हाम्रै कार्यकालमा आहा भन्ने खालको हुने छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment