Comments Add Comment

एयर होस्टेजमा करियर बनाउन सजिलो छ– नाजिर हुसैन

प्लस टु उत्तीर्ण गरेका, सुन्दर मुहार भएका तथा आकर्षक व्यक्तित्वका धनी युवतीहरुलाई उनीहरुको भविष्यको लक्ष्य के हो ? भनेर जिज्ञासा राख्ने हो भने अधिकांशको जवाफ प्राय उस्तै हुन्छ-एयर होस्टेस । अहिले युवतीहरुमा एयर होस्टेस बन्ने सपनाले ठूलो रुप लिइरहेको । स्वदेशी तथा विदेशी एयरलाइन्सहरुमा आवद्ध एयर होस्टेसहरुको जीवनशैली आकर्षक हुने भएकाले पनि युवतीहरुमा यो करियरप्रति आकर्षण बढ्दो छ ।

युवतीहरुको यो आकर्षणलाई साकार रुप प्रदान गर्नका लागि काठमाडौंमा प्रतिष्ठित प्रशिक्षण केन्द्रहरु खुलेका छन् । जहाँ व्यवसायिक रुपमै एयर होस्टेसको प्रशिक्षणमात्र प्रदान गरिँदैन । विभिन्न एयरलाइन्सहरुमा एयर होस्टेसको रुपमा करियर प्रारम्भ गर्ने मार्ग प्रशस्त समेत गरिन्छ ।

नाजिर हुसैन, फ्लाइटेक इन्टरनेशनलका संस्थापक तथा निर्देशक हुन् । हुसैन नेपाल फिल्म एकेडमीका संस्थापक पनि हुन् । उनी नाजिक हुसैनसँग एयर होस्टेस प्रशिक्षण केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

नेपालमा एयरहोस्टेजको प्रशिक्षण इतिहास कस्तो छ ?

नेपालमा एयरहोस्टेजको प्रशिक्षण दिने कार्यको थालनी सन् २००१ मा जमलको एकइन्स्टिच्युटले गरेको थियो, तर सफल हुन सकेन । पछि कुपन्डोलमा अर्काे इन्स्टिच्युट  खुल्यो । त्यस लगत्तै नयाँ बानेश्वर र कान्तिपथमा दुई वटा इन्स्टिच्युट खुले ।

यो कति महिनाको प्रशिक्षण हो ?

इन्टरनेशनल एयरहोस्टेजको प्रशिक्षण दुई तहमा गरिन्छ । अहिले हामी तीन महिनाको प्रमाणपत्र तह तथा चार महिनाको डिप्लोमा तहको प्रशिक्षण दिइरहेका छौं ।

नाजिर हुसैन

प्रशिक्षणमा के-के कुरा सिकाइन्छ ?

एयरहोस्टेजको मुख्य काम यात्रा अवधिभर यात्रुहरुको सुरक्षा तथा सुविधाको ख्याल राख्नु तथा सेवा प्रदान गर्नु हो । तसर्थ यो सम्बन्धी सम्पूर्ण कार्यहरुको तालिम यसमा समावेश गरिएको हुन्छ ।

जस्तै यात्रुहरुलाई आमन्त्रण गर्ने, सिट देखाउने, सिटको पेटी बाँध्न सिकाउने, सुरक्षा सम्बन्धी जानकारी प्रदान गर्ने, खाना तथा पेय पदार्थ प्रदान गर्ने, विभिन्न आकस्मिक अवस्थाहरुमा यात्रुहरुलाई सहयोग गर्ने, जमिन, मरुभूमि अथवा पानीमा यात्रुहरुको उद्धार गर्ने उद्घोषण गर्ने आदि कुराहरु सिकाइन्छ ।

सैद्धान्तिक प्रशिक्षण कति अवधिको हुन्छ, प्रयोगात्मक हुन्छ कि हुन्न ?

एयरहोस्टेज तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाको उत्तिकै आवश्यकता हुन्छ । दुबै कक्षाहरु समानान्तर रुपमा सञ्चालन गरिन्छ ।

प्रयोगात्मक प्रशिक्षण कहाँ गराउनुहुन्छ ?

इन्डोर तथा आउटडोर गरी दुई प्रकारका प्रयोगात्मक प्रशिक्षणहरु जरुरी हुन्छ । यसका लागि फ्लाइटेकले आफ्नै २६ सिट क्षमता भएको दुई वटा जेट एयरक्राफ्ट मक-अपको निर्माण गरेको छ । जेट एयरक्राफ्ट मक-अपमा सक्कली २६ वटा यात्रु सिट, सिट बेल्ट, लाइफ ज्याकेट, फायर एक्सटिङ्गसिर, पि.एस.यु., सर्भिस ग्यालरी, क्रु-सिट, फस्ट एड किट, सर्भिस ट्रली, इमर्जेन्सी उपकरणहरु तथा अन्य तालिमका लागि चाहिने सम्पूर्ण सामग्रीहरु राखिएका छन् ।

आउटडोर प्रशिक्षणका लागि भने प्रि–ब्रिटिश आर्मी हेल्थ क्लब तथा एस.आर.स्विमिङ पूलका साथै अन्य केही संस्थाहरुसँग समन्वय गरिएको छ ।

प्रशिक्षकहरुको पृष्ठभूमि कस्तो छ ?

फ्लाइटेकका सबै प्रशिक्षकहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्सबाट कम्तिमा १५ वर्षदेखि ३० वर्षको अनुभव प्राप्त गर्नु भएको छ । यसका साथै नेपाल नागरिक उड्डययन प्राधिकरणबाट प्रशिक्षकको लागि लाइसेन्स पनि प्राप्त गर्नुभएको छ । समय-समयमा बिदेशी प्रशिक्षकहरुबाट पनि तालिम प्रदान गरिन्छ ।

प्रशिक्षणपछि जागिर पाउने सम्भावना कत्तिको हुन्छ ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एयरलाइन्सको बढ्दो बजारका कारण संसारभरी नै एयर होस्टेसहरुको माग बढिरहेको छ । फ्लाइटेकका विद्यार्थीहरु अहिले संसारका ७० भन्दाबढी एयरलाइन्स तथा उड्डययन कम्पनीहरुमा कार्यरत छन् । संसारभरी नै उड्डयन क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । आगामी दिनहरुमा यो अझै बढ्नेछ भन्ने तथ्य आएटा भन्ने अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरिसकेको छ । तसर्थ प्रशिक्षणपछि जागिर पाउने सम्भावना प्रचुर मात्रामा छ । केवल त्यसको लागि सही तयारी हुन जरुरी छ ।

एयर होस्टेसहरुले पाउने सेवा-सुविधा कस्तो छ ?

तलव तथा सुविधा स्वदेशी एयरलाइन्समा भन्दा विदेशी एयरलाइन्समा बढी हुन्छ । नेपालमा पच्चिस हजारदेखि पचास हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भने विदेशी एयरलाइन्समा एक लाख पचास हजारदेखि ती लाख रुपैयाँसम्म तलव दिन्छन् । एयर होस्टेसले पाउने सुविधाहरु पनि स्वदेशी एयरलाइन्समा भन्दा विदेशी एयरलाइन्समा बढी हुन्छ । अहिले हरेक नेपाली विद्यार्थीहरुको पहिलो रोजाई विदेशी एयरलाइन्स नै हुन्छ ।

यो प्रशिक्षण लिनका लागि न्यूनतम योग्यता कति हुनु छ ?

प्रशिक्षण लिनका लागि न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको कम्तीमा पाँच फिट दुई इन्च उचाई भएको, १८ वर्षदेखि २८ वर्ष उमेर समुहको, अंग्रेजी बोल्न जान्ने र काम गर्नका लागि स्वस्थ हुनुपर्छ । यात्रुसँग सिधा सम्पर्क हुने शैलीको कामको अनुभव भएका तथा नर्सिङ्ग सम्बन्धी तालिम अथवा अनुभव भएकाहरुले एयर होस्टेसको प्रशिक्षणका लागि थप योग्य मानिन्छन् ।

हाम्रो देशमा किन युवतीहरुले मात्र यो प्रशिक्षण लिन्छन ? पुरुषहरुले प्रशिक्षण नलिने कारण के होला ?

नेपाल एउटा प्राकृतिक विविधता भएको देश हो । यहाँ पहाडी तथा हिमाली भागमा ठूला विमानका लागि एयरपोर्ट बनाउन कठिन हुन्छ । सोही कारणले नेपालमा साना विमानहरु बढी उड्छन् । ती विमानहरुमा एक अथवा बढीमा दुई जना मात्र एयरहोस्टेज भए पुग्छ । साथै मानवीय प्रवृत्ति अनुसार यस्ता काममा युवकलाईभन्दा युवतीलाई बढी मन पराइने हुँदा हाम्रो देशमा युवतीहरु यो प्रशिक्षणमा बढी रुचि लिन्छन् । युवकहरु भने  लाज मानेर अथवा भनौं साथीहरुले गिज्याउने डरले पनि यो क्षेत्रमा आउन त्यति रुचाउँदैनन् ।

अभिभावकहरुलाई यो क्षेत्रमा आफ्नो छोरीहरु नजाउनु जस्तो लाग्छ , किन होला ? उनीहरुलाई तपाईं के भन्न चाहनु हुन्छ ?

वास्तवमा भन्ने हो भने एयर होस्टेस तथा एयरलाइन्स सम्बन्धी आवश्यक ज्ञानको कमीले गर्दा पनि त्यस्तो भएको हो । अभिभावकहरुलाई यो क्षेत्रमा प्रशिक्षण लिएपछि रोजगार नपाइने ठूलो डर देखिन्छ । त्यसको मुख्य कारण हो यो क्षेत्रमा पहुँच तथा यस सम्बन्धी आवश्यक ज्ञानको अभाव । यो पेशामा घरबाट बाहिर बस्नुपर्ने तथा घर बाहिर बस्दा छोरी बिगि्रन्छिन् की भन्ने डर अर्काे प्रमुख कारण हो । तर यो सोच्नु पूर्णतया गलत हो ।

अभिभावकहरुले घर बाहिर बस्दा छोरी बिगि्रन्छिन् की भन्ने भावना त्याग्नुपर्छ । छोरीलाई पनि छोरा सरह घर बाहिर बसेर पनि काम गर्ने अवसर दिनुपर्छ । दोस्रो कुरा जागिरको, त्यो आफूमा सिप र दक्षता छ भने अवश्य पाइन्छ । हरेक क्षेत्रमा उत्तिकै प्रतिस्पर्धा छ । चाहे त्यो डाक्टर होस्, इन्जिनियर होस, नर्स होस् अथवा अन्य कुनै अरु क्षेत्र नै किन नहोस् ।

प्रतिस्पर्धा जहाँ पनि छ । तीन-चार वर्ष पढेर, थुप्रै पैसा खर्च गरेर फेरि प्रतिस्पर्धा गरेर कमाउनेभन्दा थोरै समयमा, थोरै पैसा खर्च गरेर केही प्रतिस्पर्धा गरेर यदि त्योभन्दा बढी कमाउन सकिन्छ भने यो क्षेत्रमा किन आफ्नो भविष्य नबनाउने ? डाक्टर,  इन्जिनियर, नर्स अथवा अन्य कुनै अरु क्षेत्र जस्तै यस क्षेत्रमा पनि उत्तिकै अवसर छ । पच्चिस सयभन्दा बढीले सत्तरीभन्दा बढी कम्पनीमा काम गरेर यो प्रमाणित गरिसकेका छन् । त्यसैले आफ्ना छोरीलाई अघि बढ्न नरोकौं भन्ने आग्रह गर्न चाहन्छु ।

यस्ता प्रशिक्षण केन्द्रहरु नेपालमा कति वटा छन् ?

हाराहारी दशदेखि बाह्र वटा यस्ता प्रशिक्षण केन्द्रहरु नेपालमा सञ्चालनमा छन् । यद्यपि गुणस्तरीय प्रशिक्षण केन्द्रहरुको संख्या भने निकै कम छ ।

तपाईंहरुकै इन्स्टिच्युटमा सिक्न आउनु पर्ने कारणहरु के-के छन् ?

बुँदागत रुपमा भन्नु पर्दा फ्लाइटेकमै सिक्न आउनुपर्ने प्रमुख कारणहरु धेरै छन् । पहिलो कारण त फ्लाइटेक वल्र्ड स्टान्डर्डाइजेसन सर्टिफिकेसन लण्डनद्वारा सम्बन्धन प्राप्त नेपालको पहिलो र एकमात्र एयर होस्टेस प्रशिक्षण दिने संस्था हो । यसका साथै आईएसओ र गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने पहिलो एयर होस्टेस प्रशिक्षण दिने संस्था पनि यही हो । फ्लाइटेक वल्र्ड बुक अफ रेकर्ड्सद्वारा सम्मानित नेपालको पहिलो र एकमात्र संस्था पनि हो । यसपले लण्डन तथा फ्रान्समा आयोजित वल्र्ड क्वालिटी कमिट्मेन्ट अवार्ड, नेपाल हस्पिटालिटी अवार्डका साथै अन्य धेरै वटा पुरस्कारहरु समेत जितिसकेको छ । प्रयोगात्मक प्रशिक्षणका लागि २६-२६ सिट क्षमताका दुई-दुई वटा जेट एयरक्राफ्ट मक-अप निर्माण गर्ने पहिलो र एकमात्र संस्था पनि हाम्रै हो ।

नेपालमा एयर होस्टेजस करियरको भविष्य कस्तो देख्नु भएको छ ?

नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलले निकट भविष्यमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको चाप बढ्ने निश्चित छ । अन्तर्राष्ट्रिय स्तरमा एयरलाइन्सको बढ्दो बजारका कारण पनि संसारभरी नै एयर होस्टेसको माग बढिरहेको छ । छिमेकी देशहरु भारत र चीन पनि आफूलाई एभियसनको केन्द्रको रुपमा स्थापित गराउने होडमा छन् । त्यसको प्रत्यक्ष अथवा अप्रत्यक्ष फाइदा नेपाललाई पनि अवश्य हुनेछ । तसर्थ आउने समयमा नेपालमा एयर होस्टेज करियरको भविष्य निकै राम्रो हुने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment