+
+

आठ पटक लोकसेवा पास गर्नेले पनि खाएनन् जागीर !

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ पुष ३ गते १७:१५

३ पुस, काठमाडौं । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुको प्रमुख उद्देश्य नै जागिर गर्नु हो । यसका लागि परीक्षार्थीहरु वर्षौं वर्ष कडा मिहिनेत गरेर सार्वजनिक सेवामा प्रवेश गर्न चाहन्छन् ।

तर आयोगको परीक्षा उत्तीर्ण गरेर जागिर नै नगरेको ‘केस’ पनि फेला परेको छ । त्यो पनि एक पटक होइन, दुई पटक होइन आठ–आठ पटक ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आठ पटकसम्म एकै व्यक्तिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको तर नियुक्ति नलिएको पाइएको जानकारी दिए ।

धादिङको जिल्ला प्रशासन कार्यालयमा नासुमा नाम निकालेका एक व्यक्तिले नियुक्ति नलिएर खरिदार पदमा बसेको, फेरि–फेरि गर्दै आठ पटकसम्म लोकसेवाको परीक्षा दिएको र सधैं पास भएको तर, कहिल्यै नियुक्ति नलिएको उनले जानकारी दिए । तर उनले ती व्यक्तिको नाम खुलाउन भने मानेनन् ।

सचिव गुरागाईं भन्छन्, ‘नियुक्ति नलिएको कारण खोज्दै जाँदा मोटो रकम लिएर जागिर वैकल्पिकलाई छोडिदिएको थाहा भयो ।’

तर, कानुन अभावमा कारवाही गर्न नसकेको पनि उनले जानकारी दिए । वैकल्पिकले पैसा दिएको नभन्ने र पैसा लेनदेनको कुनै प्रमाण पनि नहुने भएका कारण पुष्टि गर्न नसक्ने भएका कारण लोकसेवाको पेशेवर परीक्षा दिने प्रवृत्ति मौलाउँदै गएको गुरागाईं बताउँछन् ।

‘पेशेवर जाँच दिने, सधैं पास हुने र कहिल्यै पनि नियुक्ति नलिएर वैकल्पिकलाई बेच्ने यो एकदमै ठूलो क्राइम भयो’ सचिव गुरागाईंले बिहीबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा भने, ‘वैकल्पिकमा एक नम्बरमा नाम हुनेलाई पास हुनेले बार्गेनिङ गरेर हैरान बनाएको सूचना प्राप्त गरे पनि प्रमाण नहुँदा कारबाही गर्न सक्ने अवस्था रहेन ।’

आयोगका अध्यक्ष उमेश मैनाली पनि परीक्षा दिने, उत्तीर्ण भएपछि वैकल्पिक उम्मेदवारसँग ‘बार्गेनिङ’ गरेर पैसा लिएर नियुक्ति नलिई छोडिदिने तर, आफु भने पुनः परीक्षा दिइरहने र यसलाई कतिपयले पेशा नै बनाएको बताउँछन् ।

नियुक्ति नलिनेलाई दुई बर्ष परीक्षामा रोक्ने प्रस्ताव

यस्तो प्रवृत्तिलाई निरुत्साहन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परीक्षा पास भएर नियुक्तिका लागि सिफारिस भएपछि नियुक्ति नलिनेलाई दुई बर्ष लोकसेवाले लिने कुनै पनि परीक्षामा सहभागी नगराउने प्रस्ताव गरेको छ ।

कार्यालयले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकण गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागेको हो । तर, सांसदहरुले एकाध घटनालाई लिएर निर्दोष व्यक्ति पर्न सक्ने र कहाँ जागीर खाने भन्ने व्यक्तिको वैयक्तिक स्वतन्त्रतासमेत भएकाले त्यसलाई ख्याल गरी प्रधानमन्त्री कार्यालयको प्रस्तावमा संशोधनको माग गरेका छन् ।

लोकसेवा आयोग र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरुले भने निर्दोष व्यक्ति नपर्ने गरी प्रस्तावित व्यवस्था परिमार्जन गर्न तयार रहेको बताएका छन् ।

‘विधेयकको मस्यौदा हुँदा तीन बर्ष रोक्ने भन्ने थियो, अहिले दुई बर्ष रोक्ने प्रस्ताव गरेका छौं’ सचिव गुरागाईं भन्छन्, ‘यो प्रवृत्ति जसरी पनि रोक्नुपर्छ, बरु विशेष परिस्थितिमा नियुक्ति लिने म्याद थपको माग गर्न सक्ने कानूनी व्यवस्था गर्न सकिन्छ ।’

हाल नियुक्ति सिफारिस भएको ३५ दिनभित्र नियुक्ति लिनुपर्ने ब्यवस्था छ । निर्धारित समयमा नियुक्ति नलिए स्वतः वैकल्पिकले त्यो अवसर पाउँछ ।

सांसद महेश्वरजंग गहतराजले भने, सरकारी प्रस्ताव जस्ताको तस्तै पास हुनुपर्ने बताए । ‘सांसद निर्वाचित भएर आएपछि सपथ खान्न भन्न पाइन्छ ? त्यसकारण नियुक्ति लिन जाने बेला नजानेलाई सजाय हुनुपर्छ’ उनले भने ।

सांसदहरुले लोकसेवाको परीक्षा पास गरेर दुई पटकसम्म पनि नियुक्ति नलिए अर्को परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गर्न सकिने बताएका छन् । काबुबाहिरको परिस्थिति भए त्यसलाई सम्बोधन गर्नुपर्ने र दुई वटा परीक्षा संगै दिँदा एउटा छोड्नुपर्ने अवस्थालाई समेत ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।

‘कुनै व्यक्तिलाई ४५ दिन कसैले अपहरण गर्यो भने के गर्ने ?’ नेकपाका सांसद नवराज सिलवालले भने, ‘यसलाई सम्बोधन गर्नुपर्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?