Comments Add Comment

पोर्चुगलमा नेपाली खाना र नेपाल चिनाउँदै   

Photo Credit : RSS

१० पुस, लिस्बन । दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्चुगलमा संघर्ष गर्दै छन् । उनको यो संघर्ष १० वर्षदेखि जारी छ । संघर्षमा उनलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्चुगलमा कामदारका रुपमा छिरेका थिए । तेत्तीस महिनाको नोकरीपछि उनीमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने । साझेदारीमा चलायएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याए ।

शेर्पाले ‘माउन्ट एभरेष्ट’का नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको सुरुवात गरे, जुन अहिलेसम्म पनि सञ्चालनमै छ । कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने भएका छन् । उनी आफूलाई मालिक भन्न भने रुचाउँदैनन् । “कामदारको रुपमा पोर्चुगल छिरें, परिश्रम गरें, रेष्टुरेन्ट खोल्न सक्ने भएँ”, शेर्पाले भने, ‘गर्न नसक्ने भन्ने केही छैन । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’

छैन पछुतो    

कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्चुगललाई दिन्छन् । “मलाई पोर्चुगल आएकोमा कुनै पछुतो छैन”, शेर्पाले भने, “मलाई सिप र क्षमता विकासमा पोर्चुगलले सिकाएको छ ।” कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बनेका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्तुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिन्छन् । “लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्चुगलबाट मालामाल बन्न समय लाग्दैन”, उनले भने, “काम गर्नुस्, भविष्य आफैंँ बन्छ ।”

सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । “नेपाल, भारत, चीन, बङ्गलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्चुगल बनेको छ”, शेर्पाले भने, “विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।” उनका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ । नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्चुगल आएका नेपालीसँगै भारत, बङ्गलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ ।

व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । व्यवसायसँगै सामाजिक कर्ममा रुची राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन् । “समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु ”, उनले भने, “परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।” नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment