Comments Add Comment

शहीद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल, मछिन्द्र र हिमालयन शेर्पा भिड्ने

३ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सातौं चरणको खेल आजबाट हुँदैछन् ।

शुक्रबार हुने एकमात्र खेलमा मछिन्द्र र हिमालयन शेर्पा भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दशरथ रंगशालमा खेल हुने भनिए पनि वर्षाका कारण खेलस्थल सारिएको एन्फाले जनाएको छ ।

छैटौँ चरण पछि पहिलो पटक शीर्ष स्थानमा उक्लेको मछिन्द्रलाई अंक दूरी बढाउने मौका छ । ६ खेलबाट मछिन्द्रसँगै त्रिभुवन आर्मीको पनि समान १३ अंक छ । तर, गोलअन्तरमा मछिन्द्र अगाडि छ । त्यसैले शेर्पालाई हराउन सके मछिन्द्रले ३ अंकको अग्रता बनाउनेछ ।

यस सिजनमा अपराजित दुईमध्ये एक मछिन्द्रले ४ खेलमा जित र २ खेल बराबरी गरेको थियो । उता यस लिगमा सबैभन्दा धेरै ४ बराबरी खेलेको शेर्पाको जम्मा ४ अंक मात्र छ भने अझै जितविहीन छ । ६ मध्ये ४ खेल बराबरी गर्दा शेर्पाले २ खेल हारेको थियो ।

शेर्पा पहिलो जितको खोजीमा छ । अघिल्लो चरणमा शेर्पाले साविक विजेता मनाङ मर्स्याङ्दीलाई गोलरहित बराबरीमा रोकेको थियो । मछिन्द्रले भने विशाल राईको गोलमा जावलाखेललाई हराएको थियो ।

मनाङसँगको खेलपछि झगडाका कारण मछिन्द्रका ३ खेलाडी निलम्बनमा छन् । जसले मछिन्द्रको बेन्च कमजोर बनाएको छ । डिफेण्डर देवेन्द्र तामाङसँगै विजय धिमाल र दीपक राई दुई खेलको निलम्बनमा रहेकाले शेर्पाविरुद्ध खेल्न पाउने छैनन् । त्यसको फाइदा हिमालयन शेर्पालाई पक्कै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment