Comments Add Comment

गिट्टी बालुवा उत्खनन् गर्न नदिइएपछि नगरपालिकामा तालाबन्दी

२३ माघ, जनकपुरधाम । खोलाबाट गिट्टी बालुवा उत्खनन् गर्न नदिइएको भन्दै धनुषाको एक स्थानीय तहमा तालाबन्दी गरिएको छ ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा ठेकेदारले बिहीबार ताला लगाएका हुन् । नगरपालिकाले कमला नदीबाट गिट्टी बालुवा उठाउन ठेक्का दिए पनि प्रहरीले अवरोध गरेको विरोधमा उनीहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका हुन् ।

नगरपालिकाबाट ठेक्का पाएका अजय कुमार यादवको नेतृत्वमा गएको टोलीले नगरपालिका कार्यालयमा ताला लगाए । यादवले कमला नदीबाट बालुवा, गिट्टी झिक्न नगरपालिकाले रु ६० लाख रुपैयाँमा ठेक्का दिएपनि झिक्न नदिएको बताए ।

यादवका अनुसार माघ १५ गते ठेक्का स्वीकृत भएपछि १९ गते झिक्न जाँदा प्रहरीले टिपर, डोजर समातेको बताए ।

प्रहरीले भने रातिको समयमा खोलामा गिट्टी बालुवा झिक्न गएको भन्दै चार टिपर र एउटा डोजर नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले बा.२ क २९८७ नम्बरको डोजर, ना.२क २८४, ना.२क २७८, भे.१ख २९३९ र बा.३ख ७६०० नम्बरको टिपरसहित चार जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको थियो ।

यद्यपि जिल्ला समन्वय समितिमा बुझाइए लगत्तै खोलाको उत्खनन् नगरेको भन्दै चारै जनालाई छाडिएको थियो ।

बा.२ क २९८७ नम्बरको डोजरका चालक सिराहाको कर्जन्हा नगरपालिका २ बस्ने ३८ वर्षीय राजकुमार राउत, ना.२क २८४ नम्बको टिपरका चालक धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २४ वर्षीय पुण्यप्रसाद यादव, ना.२क २७८ नम्बरका टिपर चालक धनुषाकै मिथिला नगरपालिका २ बस्ने ३० वर्षीय गोपाल महतो, भे.१ख २९३९ नम्बरको टिपर चालक महोत्तरीको वर्दिवास नगरपालिका १ बस्ने ३३ वर्षीय रामु महतोलाई छाडिएको थियो ।

व्यक्तिलाई छाडिएपनि उपकरणहरु जिल्ला समन्वय समितिमै राखिएको छ ।

ठेकदार यादवले टिपर र डोजरलाई छाड्दै ठेक्का वापत आफूले तिरेको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । नियन्त्रणमा लिइएका उपकरण र रकम फिर्ता नगरे पूर्व–पश्चिम राजमार्ग अवरुद्व गर्ने चेतावनी उनले दिएका छन् ।

गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले नदी उत्खननको ठेक्का लगाएपछि विवाद उत्पन्न भएको देखिन्छ ।

प्रशासनले नदी उत्खनन बन्द गराएको अवस्थामा नगर प्रमुख रामबाबु यादवले ठेक्का लगाएपछि विवाद उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment