
२४ माघ, काठमाडौं । चीनमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दै शुक्रबार गृहमन्त्रालय पुगेका अभिभावक निराश भएर फर्किएका छन् ।
चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्रासमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दा गृहमन्त्री रामबहादुर थापाको जवाफले उनीहरुलाई निरास बनाएका हुन् ।
शुक्रबार भएको भेटका क्रममा गृहमन्त्री थापाले एक हप्ताभित्र फर्काउने तयारी गरेको तर कहिले फर्काउने भन्ने थाहा नभएको जवाफ दिएको अभिभावकले बताएका छन् । गृहमन्त्रीलाई भेटेर फर्किएका उनीहरुले भने, ‘एक हप्ताभित्रमा ल्याउँछौं, चिन्ता नगर्नुस् भन्नु भएको छ । कहिले ल्याउने थाहा छैन ।’
तर एक हप्ता भन्न थालेकै धेरै भइसकेको भन्दै उनीहरुले आफ्नो आग्रहलाई सरकारले बेवास्था गरेको गुनासो गरे । गृहमन्त्रीलाई भेट्दा पनि आस्वस्थ नभएपछि अभिभावकहरुले प्रधानमन्त्री कार्यालय जाने तयारी गरेको बताएका छन् ।
शुक्रबार नै १५ जना विद्यार्थीका अभिभावकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि भेटेर फर्किएका छन् । यसअघि बिहीबार उनीहरुले स्वास्थ्य मन्त्रालयमा पुगेर छोराछोरीको चीनबाट उद्धार गरिदिन माग गरेका थिए ।
वुहानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेकोले अभिभावक र त्यहाँ रहेका विद्यार्थी अात्तिएका छन् । तर सरकारले नेपाल फर्काउने तयारी पूरा गरेको छैन् ।
प्रतिक्रिया 4