Comments Add Comment

विपिन भन्नसाथ दर्शकले ‘पशुपति प्रसाद’ र ‘जात्रा’ जस्तै फिल्म खोज्ने रहेछन्  : विशाल सापकोटा

विशाल सापकोटाको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘सेल्फी किङ्ग’ अपेक्षाकृत सफल भएन । समीक्षात्मक तथा व्यावसायिक हिसाबले उक्त चलचित्र कमसल ठहरियो । विपिन कार्की जस्ता भर्सटाइल कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गर्दा पनि चलचित्र कमजोर बन्यो ।

सार्वजनिक हुनु अगाडि चलचित्रको प्रचार–प्रसारमा निर्माण पक्षले कुनै कसुर बाँकी राखेको थिएन । धेरैले चलचित्रलाई प्रतिक्षित ठानेका थिए । ‘प्रसाद’ चलचित्रको टिम यसमा संलग्न भएकाले यस चलचित्रप्रति धेरैले अपेक्षा गरेका थिए । तर, चलचित्रले दर्शकलाई निराश बनाएको छ ।

‘सेल्फी किङ्ग’ निर्देशक सापकोटा उनै हुन्, जो अमेरिकामा चलचित्रसम्बन्धि अध्ययन गरेर फर्किएका छन् । उनको परिवार नै चलचित्र क्षेत्रसँग सम्बन्धित छन् । सानो उमेर देखि नै उनले चलचित्र क्षेत्रलाई नजिकबाट नियाल्ने मौका पाएका छन् ।

‘सेल्फी किङ्ग’ रिलिज नहुदैँ सापकोटाले ब्ल्कबस्टर दक्षिण भारतिय चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक बनाउने समचार बाहिरियो । अब सापकोटा अर्जुन रेड्डीको रिमेकलाई समय दिनेछन् ।

डेब्यु चलचित्रलाई सापकोटाले कसरी मुल्याङ्कन गरे त ?, अर्जुन रेड्डीको छनोट र चुनौतीको विषयमा अनलाइनखबरकालागि दिप्सन लुइटेलले केही प्रश्न गरेका छन् :

सेल्फी किङ्ग’ले जुन हाइप बनाएको थियो त्यो अनुसार चलचित्र सफल भयो कि भएन ?

हाइप कस्तो थियो मैले भन्ने कुरा होइन । मेरो त फेसबुक भरी नै सेल्फी किङ्ग थियो । बाहिर पनि एक हिसाबले दर्शकले सेल्फी किङ्ग भनिरहेका थिए । यति हो कि, दर्शकलाई सेल्फी किङ्ग चलचित्र बनेको छ भन्ने बारे जानकार हुनुहुन्थ्यो ।

जुन किसिमको चर्चा थियो, त्यो हिसाबमा चाहीँ सफल भएन ।

किन भएन होला ?

विपिन कार्की भन्ने बित्तिकै पशुपति प्रसाद, जात्रा जस्तै कमेडी चलचित्र भनेर दर्शक आउनु भयो । तर, त्यो नपाएपछि वर्ड अफ माउथ बिग्रिएको जस्तो मलाई लागेको छ । अर्को कुरा हाम्रो चलचित्र मास चलचित्रभन्दा आर्टि्स्टिक लाइनमा जान्छ । त्यो भएर पनि सबैलाई स्वीकार्य भएन होला । तर, यस कुरालाई हामीले पहिल्यै सोचेका थियौँ । रिक्स नै लिएका हौँ ।

अन्य रिलिज भएका चलचित्रहरु पनि चलिरहेका छैनन् । त्यो हुदाँ हामी नराम्रो भएर नचलेको जस्तो मलाई लाग्दैन । यो समय नै त्यस्तै हो कि कुन्नी !

आफ्नो गल्तीकमजोरी केके देख्नुभयो ?

म आफूलाई पूर्ण हुँ भनेर त भन्दिन । कोही पनि सबै कुराले पूर्ण हुन्छ भन्ने हुदैँन । मेरो पनि केही कमजोरी भएका छन् । मैले मेरो नै मुल्याङ्कन गर्न त सक्दिन । मलाई लागेको एउटा कुरा के हो भने, मैले अलि हत्तार गरेर दर्शकको रुचि नबुझी आफ्नो इच्छाको चलचित्र बनाए कि जस्तो चाहीँ लाग्छ ।

अर्को कुरा, केही स्क्रिप्टमा मेहनत गर्न सक्थे कि भन्ने लागिरहेको छ । तर, गल्ती नै गरेको जस्तो मलाई लाग्दैन । मलाई कुनै पछुतो छैन् ।

मैले कमर्सियल्ली सोच्न परेको भए सायद त्योन गर्थे पनि होला । तर, मेरो प्रोड्युसरहरु मलाई फरक अभ्यासको लागि साथ नै दिनुभएको छ । त्यसैले खुसी नै छु ।

सेल्फी किङ्गको सवल पक्ष के थिए, जुन कुरा तपाईले दर्शकलाई देखाउन चाहनु भएको थियो ?

आफ्नो चलचित्रको सवल पक्ष के थियो भनेर त मैले नै कसरी भनु र ! एउटा इमोशन दर्शकले घरमा लग्नुहोस् भन्ने थियो । चलित्रमा हामीले मेटाफोरको प्रयोग गरेर परिवार प्रतिको जिम्मेवारी र परिवारको महत्वलाई प्रस्तुत गर्न खोजेका थियौँ । त्यो कुरालाई दर्शकले रुचाउनु हुन्छ कि हुन्न भन्ने थियो । आखिर उहाँहरुले रुचाउनु भयो । त्यसले खुसी दिएको छ ।

चलचित्रमा हामीले पात्रलाई हास्यकलाकार बनाएका छौँ । तर, यो चलचित्र हास्यकलाकारको मात्र होइन । यो आममानिसको कथा हो । बुबा–छोराको कथा हो ।

वास्तविक कथा हो ?

पूर्ण रुपमा वास्तविक कथा भने होइन । तर, बुबा-छोराको कथा भने मैले मेरो काका (विष्णु सापकोटा – हर्के हल्दार) बाट लिएको हुँ । मेरो हजुरबुबा बित्ने बेला काका स्टेज चड्नै लाग्नु भएको थियो रे । उहाँले त्यहाँ गएर राम्रोसँग प्रस्तुती पनि दिन सक्नु भएको थिएन रे । हात-खुट्टा कमाउदै उभिदाँ पनि दर्शकले ताली बजाइरेहका थिए रे । त्यो सुन्दा निकै कारुणिक लागेको थियो । अनि यसै विषयलाई चलचित्रमा देखाउने सोचेँ र केही कुराहरु थप्दै गएर चलचित्रको स्कृप्ट तयार पारेको थिए ।

अमेरिकामा चलचित्र सम्बन्धी विषय पढेर आउनु भएको पढेको कुरालाई निर्देशनमा प्रयोग गर्न सक्नुभयो कि भएन ?

पढेर के सिक्ने भन्ने हुन्छ के पहिला त । पढेर मैले अरुको भन्दा १० वटा चलचित्र बढि हेरेको हुन्छु होला । अरु त त्यस्तो केही हुन्न । जब काम गर्न सुरु गर्छौँ नि त्यहाँबाट पढाई सुरु हुने हो ।

मैले कतै पनि च्याप्टर ३ मा पढेको कुरा यस्तो छ भनेर काम गरिन । हरेक स्कृप्टको आफ्नै डिमान्ड हुन्छ । त्यसमा गर्नुपर्ने ट्रिटहरु मात्र केही फरक हुन सक्छ । केही टेक्निकल कुराहरु मात्र हो पढाई काम लाग्ने ।

कस्तो चलचित्र चल्छ, कस्तो चल्दैन भन्ने केही हदसम्म बुझिसक्नु भयो होला है ?

छैन, छैन । त्यस्तो कुरा बुझ्ने कोही मान्छे छ जस्तो मलाई लाग्दैन । अर्को मैले बनाएको चलचित्र अब हिट पनि हुन सक्छ । सुपर फ्लप पनि हुन सक्छ । त्यो कसैलाई पत्तो नै हुन्न ।

अर्जुन रेड्डीको नेपाली रिमेक निर्देशक गर्दै हुनुहुन्छ किन उक्त चलचित्रको रिमेक बनाउन आवास्यक ठान्नुभयो ?

आफ्नो आफ्नो रोजाई हो । अर्जुन रेड्डी मलाई एकदमै मन परेको चलचित्र हो । रिलिज हुनै बित्तिकै मैले हलमा नै पुगेर हेरेको थिएँ । त्यो बेला देखि नै मलाई चलचित्रले छोएको थियो । त्यही समय यसको रिमेक बनाउँछु भन्ने सोचिसकेको थिएँ । चलचित्रले छोएर नै यसमा काम गर्न लागेको हो ।

अरु कथा पाउनु भएन र पहिल्यै हिट चलचित्रलाई रिमेक गर्न लाग्नुभयो ?

त्यस्तो होइन, मसँग धेरै कथा छन् । निर्माता र टिमले साथ दियो भने पक्कै त्यसमा पनि काम गर्नेछु । तर, मलाई अर्जुन रेड्डी मन परेकाले त्यो चलचित्र बनाउन लागेको हो । रिमेक चलचित्रहरुले ओस्कार जितेको रेकर्डहरु पनि छन् । यसको मतलब के हो भने, तपाई यस्तो चलचित्र बनाउनुस् जुन आफूलाई बनाउन मन लागेको होस । त्यहीँ नै हो ।

नेपाली दर्शकले अर्जुन रेड्डी कविर सिंह हेरिसके अब नेपाली रिमेक हेर्लान ?

त्यो प्रश्न हामीसँग पनि छ । यस कुराले निर्माता र मलाई पनि झस्काइरहेको छ । तर, हामीलाई अहिले यत्ति थाहा छ कि,  हामी आफूलाई बनाउन मन लागेको चलचित्र बनाउँदै छौँ । यसलाई दर्शकले रुचाउन पनि सक्छन्, नरुचाउन पनि सक्छन् । तर, अर्जुन रेड्डीको लेभलमा चलचित्र तयार गर्न हामीले गर्नु पर्ने मेहनत हामी गर्नेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment