Comments Add Comment

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सांसदहरुको माग

८ फागुन, काठमाडौं । सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद प्रक्रियामा भ्रष्टाचारको संकेत पाएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । यसबारे सञ्चार मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधिहरुले दिएको जवाफमा समेत चित्त नबुझाएका सांसदहरुले गलत जवाफ दिएको भए कारबाहीको भागिदार बन्नुपर्ने चेतावनीसमेत दिए ।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सेक्युरिटी प्रेसबारे छलफल भएको थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बोलाइएको थियो ।

उनीहरुलाई सुरुमा लेखा समितिका सभापति भरत शाहले सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदका निर्णयमा थुप्रै अस्पष्टता रहेको भन्दै प्रश्नहरु राखेका थिए । तर, सुवेदी र पौडेलले दिएको जवाफमा सांसदहरुले चित्त बुझाएनन् ।

‘दण्ड सजायँमा पर्नुहोला, होस पुर्‍याउनुस्’

बैठकमा कांग्रेस नेता एवं पूर्वसञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले चेतावनीको शैलीमा भने, ‘यहाँ राखिएका कुरा गलत ठहरिएमा तपाईंहरु दण्ड सजायँमा पर्नुहोला, होस पुर्‍याएर बोल्नु होला, संसदलाई गुमराहमा नराख्नुहोला ।’ सेक्युरिटी प्रेसका लागि प्रस्ताव पेश गरेका पाँच कम्पनीहरुमध्ये जर्मनी, फ्रान्स र स्वीजरल्याण्डको भ्रमणमा गएको, तर जापान र पोल्याण्ड किन नगएको भनेर रिजालले प्रश्न गरेका थिए ।

यसअघि पौडेलले जर्मनी, फ्रान्स र स्वीजरल्याण्डका कम्पनीहरुमा उच्चस्तरीय भ्रमण गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए । कसको खर्चमा भ्रमणमा गएको भन्ने सांसदहरुको प्रश्नमा पौडेलले पौडेलले जर्मनीको भ्रमण खर्च नेपाल सरकारले नै व्यहोरेको र फ्रान्स भ्रमणका लागि आफ्नो टिकट खर्च फ्रान्स सरकारले नै व्यहोरेको जानकारी दिएका थिए ।

त्यसपछि सांसदहरुले सरकारको प्रतिनिधि बनेर एक जना कर्मचारी विदेशी कम्पनीको खर्चमा भ्रमण गर्न जानु कत्तिको राम्रो हो भनेर नैतिक प्रश्न उठाएका थिए ।

कांग्रेस सांसद राजन केसीले भने, ‘कर्मचारी विदेशी कम्पनीको खर्चमा बिदेश जानु राम्रो होइन, उनीहरुको पासपोर्ट हेर्नुपर्छ र कति पटक, कहाँ, के प्रयोजनका लागि गएको हो भनेर छानबिन गर्नुपर्छ ।’

‘बमले हान्दा पनि नफुट्ने भवन हो ?’

समाजवादी पार्टीका सांसद मोहम्मद इस्तियाक राईले सेक्युरिटी प्रेसको भवन निर्माणको लागत अस्वाभाविक रुपमा बढी राखिएको भन्दै प्रश्न गरेका थिए ।

पूर्वशहरी विकास मन्त्रीसमेत रहेका उनले लागत अनुमान वस्तुगत नभएको बताउँदै भने, ‘भवन निर्माणका लागि प्रतिवर्गमिटर ६ हजार खर्च आउँछ, तर ३४ हजार लागत राखिएको छ, किन ? कि बमले हान्दा पनि नफुट्ने भवन हो ?

नेकपाका सांसद अमनलाल मोदीले ढाँटेको कुरा काटे नि मिल्दैन भन्दै सेक्युरिटी प्रेस स्थापनाको काम तत्काल रोक्न माग गरे ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि ४९.२ मिलियन डलर भ्रष्टाचार हुन लागिएको भन्दै रोक्न माग गरे । उनले सेक्युरिटी प्रेस खरिद सार्वजनिक खरिद ऐनअनुसार पनि नभएको दाबी गरे ।

नेकपाका सांसद सूर्य पाठकले लेखा समितिका सदस्यहरुले समेत कमिसन खाएर सेक्युरिटी प्रेस खरिद गर्न लागिएको भनेर एक व्यक्तिले आफूहरुको चरित्र हत्या गरेको भन्दै आपत्ती जनाए । उनले समिति सभापति शाहको ध्यानाकर्षण गराउँदै सम्बन्धित व्यक्तिलाई समितिमा बोलाएर प्रष्टिकरण सोध्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment