Comments Add Comment

सुखानी शहीद दिवसकै दिन प्रधानमन्त्रीको शल्यक्रिया, झापा जाने जिम्मा प्रचण्डलाई

१९ फागुन, झापा । सुखानीको जंगलमा २०२९ सालमा मारिएका झापा आन्दोलनका योद्धाहरुको सम्झनामा आयोजित कार्यक्रमलाई नेकपा अध्यक्षद्वयले सम्वोधन गर्ने कार्यक्रम थियो । तर, शहीद स्मृति दिवसकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण हुने भएकाले झापा जाने जिम्मा प्रचण्डको भागमा परेको छ ।

सुखानी शहीद स्मृति दिवसका अवसरमा बुधबार सहादतस्थल सुखानीमा आयोजना हुने कार्यक्रमलाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा झापा अध्यक्ष चिन्तन पाठकले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

अध्यक्ष पाठकका अनुसार फागुन २१ गते सुखानीमै स्मृति सभा तथा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्दैछन् ।

यस अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सुखानी सहिद स्मृति सभालाई सम्बोधन गर्न झापा आउने कार्यक्रम तय भएको थियो । मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुपर्ने भएकाले प्रधानमन्त्री झापा आउने कार्यक्रम हेरफेर भएको नेकपा प्रचार विभाग झापाका उपप्रमुख सन्तोष आचार्यले बताए ।

झापामा प्रदेशका नेताको जमघट

शहीद दिवसको पूर्वसन्ध्यामा झापाको पार्टी कार्यालयमा नेकपा प्रदेश कमिटी बैठक चलिरहेको सोमबार बसेको छ । बैठकले संशोधित विधानले गरेको व्यवस्था अनुरुप १० प्रतिशत सदस्यहरु थप गर्नेबारे छलफल गरिरहेको नेताहरुले जानकारी दिएका छन् ।

प्रदेश कमिटीको बैठकपछि मंगलबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी भइरहेको नेकपाका प्रदेश कमिटी सदस्य तथा झापा सचिव मणिकुमार साम्पाङले जानकारी दिए ।

बिर्तामोडस्थित सीटी सेन्टर पार्टी प्यालेसमा मंगलबार हुने प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरु झापा आउने निश्चित भएको साम्पाङले जानकारी दिए ।

बिहान ११ बजेदेखि सुरु हुने प्रशिक्षणमा प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरु रहेकाहरु सहभागी हुने साम्पाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment