ब्राजिलका भेट्रान फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका छन् । पाराग्वेको गृहमन्त्रालयका अनुसार, भाइ रोबर्टोसहित उनलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ ।
रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु बसेको होटलमा बुधबार राति छापा मारी प्रहरीले पक्राउ गरेको हो । रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । उनी त्यहाँ विभिन्न भेटघाटमा सहभागी हुने कार्यक्रम थियो ।
रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो ।संरक्षित क्षेत्रमा फिसिङ ट्र्याप बनाएको विषयमा मुद्दा परेपछि अदालतले उनी र उनका भाइलाई दण्डित गरेको हो । सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उनीहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो ।
रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी थिए । उनले व्यवसायिक फुटबल बार्सिलोनाबाट खेलेका थिए । पछिल्लो समयमा उनी आर्थिक संकटमा फसेका छन् ।
प्रतिक्रिया 4